खुट्टाले लेखेरै कक्षामा प्रथम

खुट्टाले लेखेरै कक्षामा प्रथम

 शृंगा (गुल्मी) : छत्रकोट गाउँपालिका-४ शृंगा रुपसे गुल्मीका ऋषिराम कँडेलका दुवै हातखुट्टा चल्दैनन् । उनी न हिँड्न सक्छन्, न त राम्रोसँग लेख्न नै । घरका एक्ला छोरा उनी जन्मजातै पूर्ण अपांग भए । १३ वर्षीय कँडेलले चार कक्षासम्म गाउँकै शारदा विद्या मन्दिर प्राथमिक विद्यालय रुपसेमा अध्ययन गरे । विद्यार्थी थोरै भएपछि उक्त विद्यालयमा पाँच कक्षासम्मको पढाइ संचालन हुन सकेन । त्यसपछि उनी शृंगा जनता माध्यमिक विद्यालयमा दिगाममा कक्षा पाँचमा भर्ना भए ।

कँडेलको अन्य शारीरीक अवस्था राम्रै भए पनि हातखुट्टा नचल्ने भएपछि जीवनयापनमा समस्या परेको छ । विद्यालयमा शिक्षकले दिएको गृहकार्य उनले खुट्टाले लेखरै पूरा गर्छन् । कक्षाका २७ जना विद्यार्थीमध्ये उनी पढ्न उत्कृष्ट छन् । कक्षा १ र २ मा कक्षा द्धितीय आएका कँडेल ३ र ४ कक्षामा प्रथम भए । ‘पाँच कक्षामा पुग्दा विद्यालय परिवर्तन गर्नुपर्‍यो’, उनले भने, ‘यहाँ पनि कक्षा प्रथम हुने लक्ष्य छ ।’ कक्षाकोठामा साथीले आफूलाई धेरै माया गर्ने गरेको उनले सुनाए ।

सामान्य परिवारमा जन्मेका उनी अपांगता भए पनि राम्रो र धेरै पढेर नाम कमाउने चाहन्छन् । ‘बुबाआमा खेती किसानी गर्नुहुन्छ’, उनले भने, ‘म घरको एक्लो छोरा हुँ । अपांग भएर जन्मिए पनि राम्रोसँग पढेर देखाउने मन छ ।’ बुबा लक्ष्मण कँडेलले उनलाई मोटरसाइकलमा राखेर विद्यालय पुर्‍याउने र ल्याउने गर्छन् । मोटरसाइकलमा बस्न नमिल्ने भएपछि उनलाई साथीले बीचमा राखेर समात्ने गर्छन् । ‘ऋषिराम पढ्न आएको दुई साता पनि भएको छैन’, शिक्षक मित्रप्रसाद कँडेलले भने, ‘उनको पढाइ राम्रो छ । पढाएको छिटो बुझ्छन् ।’

                 ऋषिराले कापीमा लेखेका अक्षर । गंगा खड्का

खुट्टाले लेखेर कक्षामा उनले सबैभन्दा राम्रा अक्षर लेख्ने गरेका छन् । चित्रसमेत उनले मन छुने खालका बनाउँछन् । ‘हातखुट्टा नचले पनि ऋषिराम पढाइमा धेरै प्रगति गर्नसक्ने विद्यार्थी हुन्’, शिक्षक कँडेलले भने । विद्यालयले अन्य अभिभावकबाट भर्नाका बेला सहयोग लिए पनि उनलाई छुट दिएको प्रधानाध्यापक विकासचन्द्र खरेलले जानकारी गराए । ‘गाउँको विद्यालयमा पढाइ नभएपछि यत्तिकै घरमा बसेका रहेछन्’, उनले भने, ‘उनको अध्ययनलाई निरन्तरता दिन विद्यालयबाट सहयोग गरेका छौं ।’ १२ कक्षासम्म उनलाई राम्रोसँग पढ्ने खालको वातावरण विद्यालय प्रशासनले मिलाउने उनले आश्वासन दिए ।

कम्युटर कक्षासमेत उनले खुट्टाले लिने गरेका छन् । कम्प्युटरका किबोर्डमा खुट्टा राखेर टाइप गर्ने र माउस चलाउने गर्छन् । उनको विलक्षण क्षमता देखेर कक्षाका अन्य साथी दंग पर्छन् । कँडेलले कापीका पानासमेत खुट्टाले नै पल्टाउने गर्छन् । सबैले साथ र सक्दो सहयोग गर्छन् । साथी अमित कँडेल (बी) र अमित गाहाले उनलाई नास्ता खुवाउने, कम्युटर कक्षामा बोकेर लैजाने गरेका छन् । उनलाई कक्षाका खाटमा कार्पेट बिछ्याएर पढ्ने लेख्ने व्यवस्था मिलाइएको प्रअले जानकारी गराए ।

पूर्ण अपांगताबापत उनले मासिक दुई हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । भत्ताबापत पाउने रकमबाट उनलाई कापीकलम किन्न सजिलो भएको उनका बुबा लक्ष्मणले बताए । मोटरसाइकलमा दैनिक १५ मिनेटको दूरीमा उनी दैनिक विद्यालय आउने÷जाने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.