महिलाकै योजनामा बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार
सिन्धुलीः सुस्त मनस्थितिकी एक बालिकालाई बन्धक बनाई सामुहिक बलत्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिऔन नगरपालिका–१० नयाँरोडस्थित शिद्धबाबा होटलका सञ्चालक नारायणराज उप्रेती रहेको प्रहरीले जनाएको छ ।
उनलाई विशेष सुरक्षा टोलीले होटलबाटै आइतबार नियन्त्रणमा लिएको सिन्धुलीका निमित्त प्रहरी प्रमुख विनोद शर्माले बताए ।
‘उप्रेती लगायतले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–८ जमुने क्यानेश्वरकी १६ वर्षीया बालिकामाथि हरिऔन नगरपालिका–१० नयाँरोडस्थित शिद्धबाबा होटलमा बन्धक बनाई सामुहिक बलत्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको हो,’ उनले भने ।
घटनामा संलग्न हरिऔन नगरपालिका–१० धरहरा घरभई सिन्धुली क्यानेश्वरको जमुने माइती बस्दै आएकी माया लोप्चन, उनका पति कुमार मोक्तान र त्यही ठाउँका ५० वर्षीय ज्ञानबहादुर थिङको खोजी जारी राखिएको शर्माको भनाई छ ।
उनीहरुलाई पक्रन प्रहरी नजिकै पुगिसकेको र छिट्टै नियन्त्रणमा लिएर कारबाही अघि बढाइने पनि शर्माले बताए ।
हरिऔन नगरपालिका–१० धरहरा घर भई सिन्धुलीको क्यानेश्वरको जमुने माइतीघर बस्दै आएकी मायाले ती बालिकालाई भारतमा लगी राम्रो जागीर दिने भन्दै वैशाख १७ गते सर्लाही पुर्याएपछि बालिकालाई ८ दिनसम्म होटलमा बन्धक बनाई सामुहिक बलत्कार गरेको पीडित बालिकाका बुबाले बताए ।
बालिकाले आफूलाई होटलमा बन्धक बनाई सामुहिक बलत्कार गरेको जनाएपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा शनिवार नै जाहेरी दर्ता गराएका थिए । उनीहरुको जाहेरी अनुसार पीडितको स्वास्थ्य परीक्षण गराई सेफ हाउसमा राखिएको छ । घटनामा संलग्नको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुमाथि शरिर बन्धक र बलात्कारसम्बन्धी अपराध अनुसार कारबाही गरिने शर्माको भनाई छ । ‘यो ठुलो अपराधिक घटना हो । अपराधीहरुलाई तत्काल नियन्त्रणमा लिई कारबाही गरिने छ । आजैबाट घटनाबारे अनुसन्धान थालेका छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !