विद्यालयमा प्रहरी चौकी : विद्यार्थी प्रभावित

विद्यालयमा प्रहरी चौकी : विद्यार्थी प्रभावित

जनकपुरधाम : बालबालिकालाई डर देखाउनुप¥यो भने ‘पुलिस बोलाइदिऊँ’ भन्ने गरिन्छ । तर, धनुषाको एक विद्यालय परिसरमै प्रहरी चौकी सञ्चालित भएपछि बालबालिकालाई प्रहरी हेर्दै पढ्नुपर्ने बाध्यता छ ।

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–१ स्थित राष्ट्रिय प्रावि परिसरमा प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय सञ्चालनमा छन् । विपन्न परिवारका ३ सय बालबालिका पढ्ने यो विद्यालयमा प्रहरी चौकी र वडा कार्यालय सञ्चालन हुँदा पठनपाठन प्रभावित हुँदै आएको प्रधानाध्यापक सुरेन्द्र पाण्डे बताउँछन् । प्रहरी चौकीमा झैंझगडादेखि आपराधिक प्रकृतिका घटना लिएर पीडित र पीडक प्रायः दिन नै आउने गर्छन् । बालबालिका प्रहरी चौकीको होहल्लाले पढ्न छाडी रमिता हेर्न लाग्ने गरेको प्रअ पाण्डेको भनाइ छ । झगडियाहरूको विवाद उग्र हुँदा बालबालिकालाई जोखिम हुने गरेको उनी सुनाउँछन् ।

शान्तिपूर्वक पढ्ने र पढाउने वातावरण नै नरहेको शिक्षक राजेन्द्र ठाकुर बताउँछन् । भन्छन्, ‘१० वर्षदेखि यो विद्यालयका बालबालिकाले प्रहरी चौकीको समस्या खेप्दै आए पनि यसलाई अन्यत्र सार्न कसैबाट पहल भएको छैन ।’

प्रहरीका अगाडि बालबालिकालाई पढ्न बाध्य बनाइएको बाल विकासकी शिक्षिका अनिता यादव बताउँछिन् । प्रहरी चौकी हटाउन शिक्षकले नेताहरूसमक्ष आग्रह गरे पनि कतैबाट पहल नभएको जनाइएको छ ।

मुखियापट्टीमा २०४६ सालमा खुलेको प्रहरी चौकीको भवन सशस्त्र द्वन्द्वकालमा भत्काइएपछि प्रहरी जनशक्ति तत्कालीन गाविस कार्यालय सञ्चालन हुने मुसहरनियाको यो भवनमा बसाइएका थिए । पहिला गाविस कार्यालय सञ्चालन हुँदै आएको तीनकोठे भवनमा हाल दुई कोठामा प्रहरी चौकी र एउटामा वडा कार्यालय सञ्चालन हुँदै आएको वडासचिव सत्यनारायण साह बताउँछन् । भवन अभावका कारण विद्यालय प्रांगणमा रहेको भवनमा जेनतेन वडा कार्यालय सञ्चालन गर्नुपरिरहेको सचिव साहको भनाइ छ । ‘जनप्रतिनिधिसँग सम्बन्धित कार्यहरू र वडा कार्यालयबाट सेवासुविधा लिन आउनेका कारण पनि बालबालिकाको पढाइ स्वतन्त्रतापूर्वक हुन अप्ठेरो हुन्छ’, उनी भन्छन्, ‘तर, भवन अभावमा हामी यसरी नै काम चलाउन विवश छौं ।’

साबिकमा मुखियापट्टीमा सञ्चालित प्रहरी चौकीको नाममा अहिले पनि २ कट्ठा जग्गा गाउँमा कायम रहेको चौकी इन्चार्ज असइ मनीष पाण्डे बताउँछन् । ‘भवन अभावमा हामी पनि बाध्य भई यहाँ बस्नुपरेको छ । चौकीमा १३ जना प्रहरीको दरबन्दी भए पनि हाल सात जना मात्र उपस्थित हुँदा कार्यसम्पादनमा समस्या भएको छ’, उनी भन्छन्, ‘विद्यालयका बालबालिकालाई पठनपाठनमा समस्या नहोस् भनेर हामी सक्दो मित्रवत् व्यवहार गर्छौं । तर, कहिलेकाहीं गम्भीर प्रकृतिका मुद्दा चौकीमा आउँदा पढाइ प्रभावित हुने गर्दछ ।’

विद्यालयलाई शान्ति क्षेत्र भनिए पनि विद्यालय परिसरमै प्रहरी चौकी सञ्चालन भइरहनु विडम्बना रहेको शिक्षक ठाकुर बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.