६ वर्षमा पुलको जग मात्रै

६ वर्षमा पुलको जग मात्रै

 ओखलढुंगा : ओखलढुंगा र रामेछाप जोड्ने लिखु नदीमा पक्की पुल निर्माण थालिएको ६ वर्षमा जग मात्र खनिएको छ । २०७० सालमै निर्माण सकिनुपर्नेमा ठेकेदारको लापरवाहीका कारण ६ वर्ष अवधिमा पुलको जग मात्रै हालिएको हो ।

यो पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०६८ सालमा कन्काई ओमबुद्ध जेभीले ठेक्का सम्झौता गरेको थियो । ६० मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेकेदारले ५ करोड ८६ लाख रुपैयाँमा ठेक्का लिएको थियो । कमिसनको चलखेलमा सम्झौताको म्याद थपेको आरोप स्थानीयले लगाए पनि निर्माण सामग्री अभावमा ढिलाइ भएको ठेकेदार कम्पनीको दाबी छ ।

पुल अधुरै रहेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ । ‘यही चालले पुल बन्न १० वर्ष बित्ने भयो’, स्थानीय यादव पौडेलले भने ।

लिखु नदी हुँदै हिउँदमा बस ओखलढुंगाको गाम्नाङटारसम्म पुग्छ । वर्षायाममा भने सवारी साधन रामेछापको साँघुटारसम्म मात्र पुग्छ । पुल नहुँदा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता छ । वर्षायाममा नदीमा पानीको सतह बढ्ने भएकाले खाद्यान्न र निर्माण सामग्री ढुवानी ठप्प हुने गरेको छ ।

जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लिखु र मोलुङ करिडोरका मोटरेबल पक्की पुल वर्षौंदेखि अलपत्र छन् । मध्यपहाडी लोकमार्गसँग जोड्ने मोलुङ एकवार सडकको मध्यभागमा पर्ने मान्द्रे दोभानको पक्की पुल पाँच वर्षदेखि अलपत्र छ । पुलको पिलर राख्न जग मात्रै खनिएको छ । २०७० असार ३० गते सम्झौता भएको पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने भनिएको थियो । थप म्याद पनि २०७४ असारमै सकिएको थियो ।

शिरीषे-टारकेराबारी जोड्ने पक्की पुल ०६८ मै ठेक्का लागेको थियो । यसमा पनि दुईवटा पिलर मात्रै ठडिएका छन् । दुई वर्षभित्र पुल निर्माण सक्नुपर्ने सम्झौता भएको थियो । ठेकेदारको लापरवाही र सकारी निकायको सुस्त चालले गर्दा ओखलढुंगालाई अन्य जिल्ला र मध्यपहाडी लोकमार्गसँग जोड्ने मोटरेबल पुल अलपत्र भएका हुन् । लिखु तथा मोलुङ करिडोरमा सडक ट्र्याक खुलिसके पनि पुल नबन्दा सवारी आवागमनमा बाधा परेको उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए ।

सुनकोसी गाउँपालिका जोड्ने मोलुङ खोलाको पक्की पुल ठेक्का लागेको पाँच वर्ष बित्यो तर निर्माण सकिएको छैन । यो पुल सम्झौता भएको चार वर्षपछि ०७४ असारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले शिलान्यास गरेका थिए ।

ठेकेदार कम्पनी राजेन्द्र लोकप्रिय जेभीका सब-कन्ट्र्याक्टर रवीन्द्र लामाले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए तर पूरा भएन । अहिले सब-कन्ट्र्याक्टर लामा भागेका छन् । काम अलपत्र पारेको ठेकेदार कम्पनीका प्रमुख भीमबहादुर साउदले स्वीकार गरे ।

‘काम गर्न स्काभेटर नै पनि उपलब्ध गराएँ तर उसले काम गरेन’, उनले भने, ‘अब मेरो कम्पनीको नामको ठेक्का भएकाले आफैं आएर काम गर्छु ।’ २०७० असार ३० गते दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौतामा ‘पाइल फाउन्डेसन’ प्रविधिबाट निर्माण गरिने भनिएको थियो । पुल निर्माणको पहिलो चरणमै चट्टान भेटिएपछि डिजाइन परिवर्तन गर्न १८ महिना लागेको थियो । भूतप्रेत लागेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले ०७४ असारमा पूजासमेत गरेका थिए ।

जिल्ला प्राविधिक प्रमुख विजयमुनी वज्राचार्यले ठेकेदारले करिब ५० लाखबराबरको मात्र काम गरेको बताए । भने, ‘अब काम नगरे कालोसूचीमा निकालेर कारबाही गर्छौं ।’ ३ करोड ३२ लाख ५५ हजार लागतमा सम्झौता भएको पुलको रकम पछिल्लो डिजाइनपश्चात ४ करोड ९ लाख २५ हजार पुर्‍याइएको छ । ठेकेदारले काम गर्न नसकेपछि सरोकारवालाको दबाबमा पेश्कीबापत दिइएको ३३ लाख २५ हजार रकम जिविसले फिर्ता लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.