तमोरमा पुल बनाउने होड : प्रत्येक किलोमिटरमा चार पुल

तमोरमा पुल बनाउने होड : प्रत्येक किलोमिटरमा चार पुल

फुङलिङ : ताप्लेजुङका निर्वाचन क्षेत्र नम्बर १ र २ छुट्याउने तमोर नदीमाथि झोलुंगे पुलसम्म नहुँदा फड्केबाट जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो । बिस्तारै झोलुंगे पुल बनेपछि सदरमुकाम फुङलिङ-गाउँ यात्रा सहज बन्दै गयो । अहिले भने तमोरमा मोटरेबल पुल बनाउने होड चलेको छ । दोभानबाट एक घण्टाको पैदल दूरीमा रहेको खोक्लिङसम्म चारवटा मोटरेबल पुल बन्ने भएका छन् ।

यहाँ प्रत्येक एक किलोमिटर दूरीमा करोडौं लागतमा पुल निर्माण प्रक्रिया अघि बढेको छ । सरकारको लगानीमा तीन र एउटा सानिमा हाइड्रोपावर कम्पनीमार्फत पुल बन्ने भएका छन् । नौ वर्षअघि निर्माण सुरु भएको फुङलिङ नगरपालिका र मेरिङ्देन गाउँपालिका जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको छ । यसको ट्रस्ट जोड्ने काम भइसकेको छ । पुलमा रङ लगाउन र ढलान गर्न मात्र बाँकी रहेको पुल हेर्ने निकाय उत्तर-दक्षिण लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले बताए ।

यो पुल असारदेखि सञ्चालनमा आउने जनाइएको छ । यो जिल्ला सदरमुकामसँग मेची र कोसी राजमार्ग जोड्ने पुलसमेत हो । भारत र तिब्बत जोड्ने तमोर करिडोरले पनि यही पुललाई प्रयोग गर्ने नेपालीको भनाइ छ ।

बाँकी तीनवटा भने फुङलिङ नगरपालिका र साबिकको खोक्लिङ गाविस जोड्ने पुल हुन् । यीमध्ये हान्द्रुङ र दगुर्नेमा सरकार र थुम्बामा सानिमा हाइड्रोपावरले पुल बनाउन लागेका हुन् । यी तीनै पुल वारिपारि नै एउटै सडकमा जोडिन्छन् ।

आफूले अनावश्यक भनेर विभागमा जानकारी गराए पनि जिल्लाबाटै आवश्यक भनेपछि निर्माण चरणमा रहेको हान्द्रुङको पुल हेर्ने पुल विभागका इन्जिनियर अर्जुन अर्यालले बताए । ‘मैले रातो किताबमा कार्यक्रम देखेपछि अनावश्यक भनेर जानकारी गराएको हुँ’, उनले भने, ‘ताप्लेजुङ जिल्ला समन्वय समितिमा जानकारी लिँदा दुवै आवश्यक हो भनेपछि निर्माण सुरु भएको छ ।’ यो बुझ्न दुई महिनासम्म होल्ड गरिएको उनको भनाइ छ ।

भ्याटबाहेक १० करोड लागतमा बन्न लागेको हान्द्रुङ पुलको जिम्मा शर्मा कन्स्ट्रक्सनले पाएको छ । स्थानीय निर्वाचनताका शिलान्यास तयारी भए पनि आचारसंहिताका कारण रोकिएको पुल निर्माण अहिले सुरु भइसकेको छ ।

दगुर्नेको पुलको काम पनि धमाधम भइरहेको छ । यसको पूर्वतर्फको पिलर निर्माण सुरु भएको छ भने पश्चिमतर्फको जग खन्ने काम भइरहेको छ । फुङलिङ नगरपालिका हाङदेवा र खोक्लिङको थुम्बाबेंसी जोड्ने पुल पनि केही महिनामै निर्माण सुरु हुने सानिमा हाइड्रोपावरले जनाएको छ।

एकै ठाउँमा धेरै पुल बन्न थालेपछि अनावश्यक भनेर यसको आलोचनासमेत भइरहेको छ । ‘पुल आवश्यक पर्ने ठाउँ धेरै छन्’, स्थानीय नवीन गुरागाईंले भने, ‘यहाँ खर्च गर्ने बजेट त्यस्ता ठाउँमा लगे राम्रो हुन्थ्यो ।’ हान्द्रुङ र दगुर्नेमध्ये कुनै एक ठाउँमा बन्ने पुल फक्ताङलुङ गाउँपालिकाको सिंवा र खेजेनिम वडा जोड्ने गरी बनाए उपयोगी हुने गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताए । ‘त्यहाँ अत्यावश्यक भएकाले राज्यले यसमा ध्यान दिनुपर्छ’, उनले भने । उक्त स्थानमा पुल निर्माणका लागि जिविसले दुई वर्षअघि चिनियाँ दूतावासलाई आग्रहसमेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.