धरासायी बन्दै गुठी

धरासायी बन्दै गुठी

काठमाडौं ः मठमन्दिर, संस्कृतिलगायतको संरक्षण गर्न दाताले राखिदिएका असंख्य गुठीका अर्बौं रकमबराबर सम्पत्ति अतिक्रमणमा परेका छन् । गुठीका जग्गा जमिन जोत्ने किसान, रेखदेख गर्ने गुठीयार, महन्त÷पुजारी, कामदार/कर्मचारी र जनसमुदायले गुठीको सम्पत्ति अतिक्रमण गरी निजी बनाइरहेका छन् । गुठीको जग्गा जमिन व्यक्तिले मात्र नभएर सरकारले समेत अतिक्रमण गरेको फेला परेको छ ।

देवस्थल, मठ मन्दिरका नामका रहेका अर्बौंका जग्गा जमिन आफ्नो नाममा नामसारी गर्ने क्रम बढ्दै गएको छ । गुठीको काठमाडौंदेखि तराईमा समेत सयौं रोपनी, बिघा जग्गा हराइसकेका छन् । पर्सा, रौतहट, महोत्तरी, धुनषादेखि दाङ, डोटीसम्म गुठीको जग्गा अतिक्रमण गरी अवैध कब्जा गरिएको छ । धनुषाको जनकपुरमा गुठीको जग्गामा एउटा नगर ‘वैकुण्ठनगर’ नै बसाइएको छ । माओवादी द्वन्द्वकालमा गुठीको सबैभन्दा धेरै जग्गा कब्जा भएको गुठी संस्थानका कर्मचारीहरू बताउँछन् ।

गुठीको लगतअनुसार देशभर ६८ जिल्लामा पहाड र हिमाली क्षेत्रमा गरी गुठीको ५ लाख ६१ हजार ९ सय ९० रोपनी र तराईमा ६६ हजार ३ सय ३० बिघा जग्गा छ । अतिक्रमणका कारण अब आफूसँग आफ्नो लगतअनुसारको जग्गा कहीं पनि नरहेको गुठी संस्थान बताउँछ ।

गुठी संस्थानका कार्यकारी प्रमुख नारायण चौधरीले अर्बौंको सम्पत्ति अतिक्रमण भएको बताए । ‘यकिन तथ्यांक नभए पनि अर्बौंको सम्पत्ति अतिक्रमण भएको छ । व्यक्तिले मात्र नभएर सरकारले पनि अतिक्रमण गरेको छ’, उनले भने ।

उनका अनुसार बालाजुमा ३ रोपनी, चुच्चेपाटीमा ५ रोपनी, मनमैजुमा ६ रोपनी, त्रिपुरेश्वरमा साढे २ रोपनी, बालकुमारीमा २ रोपनी जग्गा अतिक्रमण भएको छ । जनकपुरमा ३५ रोपनी जग्गा अतिक्रमण गरेर ‘वैकुण्ठनगर’ बस्ती नै बसाइएको छ । बाराको सिम्रौनगढमा पनि करिब ३५ रोपनी जग्गा अतिक्रमित छ । दाङको लमहीमा ५ रोपनी जग्गा कब्जा गरिएको छ । दाङको घोराही, तुलसीपुरमा पनि जग्गा अतिक्रमित भएको छ । डोटीको शैलेश्वरी र काठमाडौंको महांकाल मन्दिरको जग्गा लामो समयदेखि कब्जा गरिएको छ । ‘अतिक्रमणको हिसाब नै छैन, देशभर नै गुठीको जग्गा अतिक्रमणमा परेको छ’, उनी भन्छन् ।

  • –जनकपुरमा गुठीको जग्गामा बस्ती, नाम वैकुण्ठनगर
  • –गुठीको लगतअनुसार देशभर पहाड र हिमाली ६८ जिल्लामा ५ लाख ६१ हजार ९ सय ९० रोपनी र तराईमा ६६ हजार ३ सय ३० बिघा जग्गा
  • –अतिक्रमणले लगतअनुसारको जग्गा कहीं पनि नरहेको गुठी संस्थानको भनाइ
  • –राजनीतिक संरक्षणमा अतिक्रमण, स्थानीय तहको बेवास्ता

कार्यकारी प्रमुख चौधरीले बिनाक्षतिपूति, बिनामुआब्जा अर्बौंको सम्पत्ति सरकारले समेत उपभोग गरिरहेको बताए । उनले ३० अर्बभन्दा बढी मूल्यको गुठी सम्पत्ति सरकारले उपभोग गरिरहेको दाबी गरे । ‘न क्षतिपूर्ति दिएको छ, न बहाल नै तिर्छ’, उनले भने, ‘सरकार ३०÷३५ अर्ब जतिको हाम्रो सम्पत्ति उपभोग गर्छ तर अहिले ५ पैसा पनि दिएको छैन ।’ सरकारी कार्यालयले मुआब्जा, बहाल केही पनि नदिई देशभर गुठीको १ सय ५० बिघाभन्दा धेरै जग्गा उपभोग गरिरहेका छन् ।

कार्यकारी अधिकृत चौधरी नक्कली प्रमाणका आधारमा मुद्दा हालेर गुठीलाई उसको जग्गा उपभोग गर्न नदिने र दुःख दिने गरेको बताउँछन् । ‘धेरै ठाउँमा मुद्दा हालेर जग्गा उपयोग गर्न अवरोध गरिएको छ, मुद्दा हालेपछि फैसला नभएसम्म केही गर्न पाइँदैन’, उनले भने । संस्थानको प्रशासकसमेत रहेका उनले अर्बौंको जग्गा अतिक्रमण हुँदा संस्थानलाई समस्या भएको बताए । उनले मठमन्दिर बनाउन, पूजाआजा गर्न, जात्रा र पर्व सञ्चालन गर्न नै कठिन भएको जानकारी दिए ।

स्थानीय तहले गुठीको जग्गा अतिक्रमण हुँदा कुनै ध्यान दिँदैन । अन्य जग्गामा घर बनाउन गाउँपालिका, नगरपालिकाबाट नक्सा पास गर्नु पर्छ तर गुठीको जग्गामा घर बनाउँदा स्थानीय तहले कुनै कारवाही गर्दैन । स्थानीय तहमा गुठीको जग्गामा नक्सा पास नगरी घर निर्माण गरिएका छन् । स्थानीय तहले यस्ता मुद्दामा गुठीको साटो अतिक्रमणकारीलाई सहयोग गरिरहेका छन् । ‘हामीले थाहै नपाइ घर बनिसकेका हुन्छन्, स्थानीय तहले ध्यान दिए अतिक्रमण घट्थ्यो कि’, उनी भन्छन् ।

गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर अतिक्रमण हटाउने प्रयास थालिएको बताए । उनले चरणबद्ध रूपमा अतिक्रमण हटाउँदै जाने बताए । ‘एकैचोटी सबै अतिक्रमण हटाउन सम्भव छैन, क्रमिक रूपमा हटाउँछौ’, उनले भने । उनले गुठीको जग्गा अतिक्रमण पिलोजस्तै भएको बताए । ‘लामो समयदेखि अतिक्रमण गरिएको छ, राजनीतिक हस्तक्षेप छ, त्यो पिलोजस्तै बनेर बसेको छ’, उनी भन्छन् । उनका अनुसार अतिक्रमणकारीले राजनीतिक संरक्षण पाएकाले अतिक्रमण हटाउन गुठीलाई समस्या भइरहेको छ । उनले गुठीको प्रमुख चुनौती नै जग्गा जमिन अतिक्रमण रहेको बताए । अध्यक्ष चौधरीले काठमाडौं, जनकपुर, वीरगन्ज र नवलपरासीमा गुठीका जग्गाबाट अतिक्रमण हटाउन अभियान थाल्ने तयारी भइरहेको जानकारी दिए । उनले अभिलेखीकरण गरेर काम थाल्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.