कपडासहितको भ्यान नियन्त्रणमा, चालक पक्राउ
विराटनगर : तस्करीको कपडा लोड गरिएको मारुती भ्यानलाई प्रहरीले मोरङको उर्लाबारीबाट मंगलबार दिउँसो नियन्त्रणमा लिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मदन केसीका अनुसार भारतबाट तस्करी गरेर नेपाल भित्राइएको अवैध कपडा लोड गरिएको भ्यानलाई नियन्त्रणमा लिएर भ्यानका चालकलाई पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोलीले उर्लाबारी नगरपालिका–७ पशुपति मार्ग जाने भित्री बाटोबाट भन्सार छलीका कपडासहितको भ्यानलाई मंगलबार दिउँसो ३:३० बजेतिर नियन्त्रणमा लिएको हो।
बरामद गरिएको कपडा, नियन्त्रणमा लिइएको भ्यान र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी केसीले दिए। प्रहरीले कपडाबाहेक भ्यानको मात्रै ८ लाख बराबरको मूल्यांकन गरेको छ। भारतबाट तस्करी गरेर ल्याइएको कपडा र भ्यानसहित १३ लाख ५० हजार बराबरको मूल्यांकन गरेर भन्सार बुझाउने तयारी गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !