स्थानीयको अवरोधले चीन-भारत जोड्ने लोकमार्ग निर्माण ठप्प
![स्थानीयको अवरोधले चीन-भारत जोड्ने लोकमार्ग निर्माण ठप्प](https://annapurnapost.prixacdn.net/media/albums/olanchungla-china-nepal-india-road_20180520082559_Jt57g9smJg.jpg)
ताप्लेजुङ: स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ ।
फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो ।
यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ ।
यसअघि बस्तीबाट बाटो घुमाउँदा उठिबास हुने भन्दै उनीहरुले नै विवाद निकालेपछि गाउँपालिकाले छलफल गरेर अहिले निर्माण भइरहेकै ठाउँ (बस्तीको दायाँ भाग) बाट अघि बढाउने गरी सहमति गराएको थियो ।
आयोजनाअन्तर्गत ट्र्याक खोल्न बाँकी तापेथोकदेखि ओलाङचुङगोलासम्मको खण्डमा केही महिनाअघि देखि निर्माण कार्य भइरहेको छ ।
तीव्र गतिमा निर्माण भइरहेको सडक बस्तीको माथिल्लो भाग गुम्बाडाँडामा पुगेपछि स्थानीयवासीले अवरोध पुर्याएको र उनीहरुसँग समन्वयको प्रयास भइरहेको लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजना भएकाले र यसअघि पनि सहमति जनाइसकेकाले अब सानातिना विवादले काम नरोकिने उनको भनाइ थियो ।
यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले बस्तीबाट बाटो लाने वा नलाने बारे स्थानीयवासी नै विभाजित भएको भन्दै सहमति गराउनेतर्फ प्रयास भइरहेको बताए ।
३६ करोड रुपैयाँको लागतमा निर्माणको जिम्मा पाएको एलाइट कम्पनीले निर्धारित समयमा नै काम सक्ने गरी तीनवटा डुलोजर लगाएर काम अघि बढाइरहेको छ । ओलाङचुङगोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)