पोल गाडेको २२ वर्षमा पनि बलेन बिजुली

पोल गाडेको २२ वर्षमा पनि बलेन बिजुली

नरैनापुर (बाँके) : नरैनापुर-१ सुइयाँमा होटल गरेर बसेकी जाजरकोटकी सुनिता शाहीलाई मुस्किलले सय मिटरको दूरीमा रहेको भारतीय सीमावर्ती गाउँ बघौडामा झिलिमिली बत्ती बलेको देख्दा डाहा हुन्छ। उनको पसलछेउमा विद्युत्को पोल गाडेको वर्षौं, भयो तर दुर्गम गाउँमा झैं उनी सोलारबाट बत्ती बालेर चित्त बुझाइरहेकी छन्। उनले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘के गर्नु त्यहाँको उज्यालो बाल्न सकिँदैन। रोएर कराएर पनि त भएन ? ’

गाउँमा पोल गाडेको लामो समय भइसक्दा पनि बत्ती नपुगेको पीडा राप्ती सोनारी गाउँपालिकाका फत्तेपुरका स्थानीयलाई पनि छ। एउटै गाउँका केही घरमा बिजुली बल्छ भने धेरैजसो घर अँध्यारै छन्। छिमेकी डुडुवा गाउँपालिकाको कम्दीलगायत गाउँ पनि धपक्कै बलेको देख्दा स्थानीय चुनावमा भोट माग्न आउने नेतालाई गाली गरेर चित्त बुझाउँछन्।

राप्ती सोनारी-७ फत्तेपुरका दुर्गा पाण्डेलाई आफ्नो जीवनकालमा बत्ती आउला भन्ने आस नै मरिसकेको छ। भन्छन्, ‘पोल हेर्दा हेर्दै हामी मरिजान्छौं, बत्ती आउला जस्तै लाग्दैन।’

‘बाँकेको कर्णाली’ उपनाम पाएको बघौडा क्षेत्रमा २२ वर्षअघि अर्थात् ०५३÷५४ सालतिर तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रेमबहादुर भण्डारीले पोल गाड्न लगाएका थिए। वर्षायाममा राप्ती नदीमा आउने बाढीका कारण सदरमुकाम नेपालगन्जसँग सम्पर्कविच्छेद हुने यो क्षेत्रका तत्कालीन नौ गाविस (हाल राप्ती सोनारी र नरैनापुर गाउँपालिका) का बासिन्दाले बिजुलीको आसमा भण्डारीलाई संसदीय निर्वाचनमा जिताए। पोल मक्किँदै गए तर बत्ती पुगेन। कांग्रेसका ज्ञानु केसीले पनि बत्तीलाई चुनावी मुद्दा बनाए। त्यसपछिका चुनावमा एमाले र माओवादीका नेताले पनि विद्युत् सेवा पुर्‍याउने आश्वासन दिन छाडेनन्।

एमाले नेता दिनेश यादव त यही क्षेत्रबाट मन्त्रीसम्म बने। यादवले भनेका थिए, ‘मैले जिते बत्ती ल्याइदिन्छु।’ तर दुई दशकसम्म कसैले यस क्षेत्रमा बत्ती बाल्न सकेनन्। विद्युत्का पोलहरू नेताका लागि चुनावी नारा मात्रै बने। ‘सबैले चुनावमा भाषण मात्र गरे, बाचा कसैले पूरा गरेनन्’, नरैनापुर-६ दोन्द्राका नन्कु गाडिया (६५) ले गुनासो गरे, ‘नेताले स्विजरल्यान्ड बनाइदिन्छु पनि भने। हामीलाई बाटो, बत्ती र डुबान नियन्त्रण चाहिएको थियो।’ बत्ती बाल्ने आश्वासन संसदीय, संविधानसभादेखि स्थानीय तहका निर्वाचनका उम्मेदवारबाट जनताले पाए। तर, बाचा पूरा गर्न सबै चुके।

गाडियाले यसो भनिरहँदा २३ वैशाखमा नरैनापुर गाउँपालिका छेवैमा रहेको आँप बगैंचामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको स्वागत गरिँदै थियो। प्रदेशसभा सदस्य महेश्वर गहतराज ‘अथक’ र प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ ले फेरि पनि विद्युत् ल्याई छाड्ने बाचा गर्दै थिए। ०५४ सालमा कांग्रेसबाट तत्कालीन नरैनापुर गाविस उपाध्यक्ष बनेका मुनवर अलि मुकेरीले टिप्पणी गरे, ‘ग्रामीण विद्युतीकरण परियोजनाअन्तर्गत स्थानीयसँग २० प्रतिशत पैसा संकलन गरेर काम गर्न थालेकै आठ वर्ष बढी भयो। अझै बत्ती बलेको छैन।’

नेपाल विद्युत् प्राधिकरणले बघौडा क्षेत्रमा बत्ती पुर्‍याउन कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको काम अघि बढाएको छ। जसका लागि ग्रामीण विद्युतीकरणलगायत तीन परियोजनामा काम भइरहेका छन्। बैजापुर र धामपुरमा सब-स्टेसन बनाउने काम पनि भइरहेको छ। प्रसारण लाइन विस्तार गर्न केही ठाउँमा सामुदायिक वनको क्षेत्र परेकाले सो क्षेत्रका रूख कटानका विषयमा सहमति जुटाउन नसक्दा पनि ढिलाइ भएको प्राधिकरणको दाबी छ। प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्ज प्रमुख मनोज सिंह रूख कटानबारे ३५ दिने सूचना प्रकाशित भएको दुई साता बितेकाले अब विद्युत् विस्तारको कामले गति लिएको दाबी गर्छन्। उनले भने, ‘काम जारी छ। यसले गति पनि लिएको छ।’

यस क्षेत्रको विद्युत् विस्तारमा प्रदेश सरकारले पनि चासो दिएको छ। प्र्रदेश ५ को दुर्गम क्षेत्र भनेर अवलोकन गर्न बघौडा पुगेका मुख्यमन्त्री शंकर पोखरेलले त आगामी मंसिरसम्म जनताले विद्युत् बाल्न पाउने आश्वासन दिन भ्याए। उनको भनाइबाट निकै आश्वस्त हुँदै सम्मान कार्यक्रममा गडगडाहट ताली पनि बजेको थियो। स्थलगत अवलोकनकै क्रममा मुख्यमन्त्री पोखरेलले विद्युत् सेवाका लागि विद्युत् प्राधिकरणका उच्च नेतृत्वलाई पनि फोन गरेर दवाब दिएको स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.