समर्थन फिर्ता लिने तयारीमा नेकपा

समर्थन फिर्ता लिने तयारीमा नेकपा

जनकपुरधाम ः नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको हो। तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दै सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल सुरु भएको बताए।

प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात समर्थन फिर्ता लिने ध्याउन्नमा लागेको हो। संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो। दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षको माग गर्दै दुईपटक संसद् बैठक अवरुद्ध गरेको थियो।

सभामुख यादवले जेठ ३ गते प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिँदा आफूहरूको अपमान भएको नेता मण्डलले बताए। ‘हामीले प्रतिष्ठा र सम्मान दियौं तर हामीलाई अपमान गरियो’, उनले भने। विपक्षी दलको मान्यता दिने सवालमा सभामुखले अलोकतान्त्रिक प्रक्रिया अपनाएको आरोप लगाउँदै उनले अपमान सहेर सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहने बताए। उनका अनुसार पार्टीमा यसबारे छलफल भइरहेको र जेठ १३ गते बस्ने बर्खे अधिवेशनका क्रममा समर्थन फिर्ताको विषय उठाइनेछ।

‘हाम्रो पार्टीले रचनात्मक सहयोगका लागि सरकारलाई समर्थन दिए पनि प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सवालमा सभामुख र प्रदेशसभाका उपसचिव रञ्जित झाले मिलेमतो गरेका हुन्’, उनले भने, ‘यस विषयमा निर्णय गर्नुपूर्व हाम्रो विचारसमेत लिइएन।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षको आश्वासन दिएर विश्वासघात गरेको आरोपसमेत उनले लगाए। सरकारबाट समर्थन फिर्ता लिने योजना भए पनि सरकार ढाल्ने मनसाय नरहेको उनले स्पष्ट पारे। भने, ‘यो सरकार जुन गठबन्धनबाट बनेको छ त्यसकै कारणले ढल्नेछ।’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षलाई बेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारणले प्रदेशको नाम बदनाम भइरहेको आरोपसमेत लगाइएको छ।

प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल बनेको नेकपाको प्रदेशसभामा ३२ सिट छ। फोरमका २९ र राजपाका २५ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९ सदस्यसहित १ सय ७ सदस्यीय प्रदेशसभा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.