राजनीतिक दलनिकट ट्रेड युनियन खारेज हुँदै

राजनीतिक दलनिकट ट्रेड युनियन खारेज हुँदै

काठमाडौं ः सरकारले निजामती क्षेत्रमा एउटा आधिकारिकबाहेक बाँकी सबै ट्रेड युनियन खारेज गर्ने भएको छ । अधिकांश राजनीतिक दलका बेग्लाबेग्लै निजामती युनियन छन् । दलआबद्ध युनियनहरू आर्थिक अनियमितताको दलदलमा फसेका, कर्मचारी सरुवा बढुवामा चलखेलका साथै कार्यालयको कामकाजमा हस्तक्षेप गरेको र उनीहरूका क्रियाकलापले सरकारी निकायका सेवा खस्केको आरोप लागिरहेका बेला सरकारले कानुनी रूपमा नै त्यस्ता सबै युनियन खारेज गर्ने गृहकार्य अघि बढाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटा मात्र आधिकारिक ट्रेड युनियन रहने र मान्यताप्राप्त बाँकी सबै ट्रेड युनियन खारेज गर्ने व्यवस्थासहित संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि आधिकारिकबाहेक बाँकी सबै ट्रेड युनियन खारेज हुने निश्चित भएको हो । । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले विभिन्न व्यवस्थासहितको मस्यौदा कानुन मन्त्रालयमा परामर्श र स्वीकृतिका लागि पठाइएको जानकारी दिए । मस्यौदामा एउटा मात्र आधिकारिक ट्रेड युनियनको अवधारणा अघि सारिएको उनले बताए । सामान्यले कानुनबाट स्वीकृत भएर आएलगत्तै मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गराइ संसद्मा पठाउने तयारी गरिएको जानकारी दिएको छ ।

अहिले निजामती क्षेत्रमा कर्मचारीका विभिन्न ६ वटा ट्रेड युनियन छन् । यीमध्ये तत्कालीन एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, तत्कालीन माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) र मधेसी दलनिकट मधेसी निजामती कर्मचारी मञ्चका नाममा करोडौं मूल्यका भवनसहितका जग्गा र सम्पत्ति छ । कतिपय कर्मचारी संगठनले त आफ्ना भवन भाडामा समेत लगाएका छन् । निजामती सेवा ऐन, नियमावली र ट्रेड युनियनसम्बन्धी निर्देशिकामा पनि ट्रेड युनियन खारेज भए उनीहरूको सबै सम्पत्ति स्वतः सरकारलाई हस्तान्तरण हुने व्यवस्था छ ।

दलनिकट ४ वटा संगठनका भवन साढे २ तलादेखि साढे ५ तलासम्मका छन् । तत्कालीन एमालेनिकट कर्मचारी संगठनको सिंहदरबार दक्षिणगेटनजिक १ रोपनी जग्गामा फैलिएको झण्डै साढे ४ करोडको ४ तले भवन छ । तत्कालीन माओवादी केन्द्रनिकट कर्मचारी संगठनको बबरमहल क्षेत्रमा नै झण्डै १ रोपनी जग्गामा १ करोड जति पर्ने ३ तले भवन छ । कांग्रेसनिकट कर्मचारी युनियनको बबरमहलस्थित वन कार्यालय परिसरमा झण्डै १ करोड बराबरको २ तले भवन छ । त्यहीं नै मधेसी दलनिकट कर्मचारी मञ्चको करोडौं मूल्यको साढे ५ तले भवन छ । मञ्चले आफ्नो भवन नियमविपरीत भाडामा लगाएको छ ।

हालको ऐनले कर्मचारीलाई पेसागत हकहितका लागि राष्ट्रिय स्तरका जतिसुकै ट्रेड युनियन खोल्न पाउनेसहित असीमित अधिकार दिएको छ । मस्यौदामा अब गठन हुने आधिकारिक ट्रेड युनियन पनि गैरराजनीतिक प्रकृतिको हुनु पर्ने प्रावधान छ । मस्यौदामा युनियनको भूमिका र जिम्मेवारी प्रस्ट व्यवस्था गरिएको छ । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले ट्रेड युनियन खारेजी प्रक्रिया रोकेर सरकारले बुद्धिमत्ता प्रदर्शन गर्नुपर्ने बताए ।

‘खारेज गरे प्रतिरोध गर्छौं’

विभिन्न ट्रेड युनियनका नेताहरूले भने सरकारले निरंकुश शैलीमा युनियन खारेज गरे मान्य नहुने र त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । तत्कालीन एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले युनियन खारेज गरे सरकारले कडा मूल्य चुकाउनु पर्ने र त्यसविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

कांग्रेसनिकट युनियनका अध्यक्ष गोपाल पोख्रेलले युनियन खारेज गरे प्रतिरोधमा सबै कर्मचारी उतारिने चेतावनी दिए । तत्कालीन माओवादी केन्द्रनिकट युनियनका अध्यक्ष हरि रावलले वामपन्थी सरकारले युनियन खारेज गर्नु लज्जास्पद हुने र कर्मचारीका लागि असह्य हुने चेतावनी दिए । युनियन आन्दोलनका अगुवाहरू भोलाकुमार पोख्रेल, मोहनकुमार घिमिरे, शरद अधिकारी, जीतबहादुर मडैलगायतले पनि खारेजी निरंकुश कदम हुने र त्यसविरुद्ध सबै कर्मचारीलाई देशव्यापी आन्दोलनमा उतारिने चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.