इतिहासको साक्षी ढुंगेधारा
म्हेपी बस्ने म्याग्दीकी ६८ वर्षीया सुमती भाइजा मगर्नीले १५ वर्ष भयो रानीबारी पुरानो ढुंगे धाराको पानी पिएको। उनलाई अरू स्रोतको पानी पिउँदा धीत नै मर्दैन। छोरा–बुहारी बिहानको खाना खाएर काममा हिँड्छन्। उनी भने पानीको पालो कुर्न ढुंगेधारा जान्छिन्। सामान्यतः तीनदेखि पाँच घन्टा कुरेपछि पानी भर्ने पालो आउँछ।
सुकुम्वासी टोल रानीबारी बस्ने धादिङकी ७० वर्षीया मनकुमारी गुरुङ छोराछोरीसँगै पानी बोक्न आउँछिन्। भन्छिन्, ‘घरमा बसेर के गर्नु ? पँधेरामा आए आफूजस्तै उमेरका पधेर्नीहरू भेट हुन्छ। गफ हुन्छ। यो पानी फिल्टर गर्नुपर्दैन, उमाल्नुपर्दैन, पानीकै कारणले लाग्ने अनेक प्रकारका रोग लाग्दैन। आफ्नै स्वास्थ्य र स्वादका लागि बोक्छु पानी। ६ वर्ष भयो यहाँ आएको वल्लोपल्लो कोठामा बस्नेहरूले भनेर यो पानी पिउन थालेको। अब त बानी पर्यो, अरू पानीले धीत मर्दैन।’
मनकुमारीकी ३० वर्षीया छोरी शान्ति भन्छिन्, ‘बालाजु, ह्मेपी, पुरानो बसपार्क, गोगंबु, सामाखुसी र यस भेकका प्रायले यहींको पानी पिउने गर्छन्। छोराछोरीलाई स्कुल पुर्याएपछि पानीको जोहो गर्न आउने गृहिणी र बूढाबूढीको दैनिकी नै भएको छ पँधेरामा दिनभरि पालो कुरेर पानी भर्नु।
यसरीपालि कुरेर पानी भर्न थालेको भने राजधानी छिरेपछि नै हो। ‘यहाँ पनि पानी नै नभएर त होइन, यो पानी पिउने बानी परेर हामी पानी बोक्छौं। ऊ त्यहीं त हो नि धारा। त्यहाँ गएर हेर्नुस् त’ हातले इशारा गर्दै ढुंगेधारामा जान सुझाएकी थिइन् शान्तिले। सलको पासोजस्तो सानो धारा चुहिरहेथ्यो ढुंगेधाराबाट।
रानीबारीकै वासिन्दा हिरा श्रेष्ठ वर्षमा दुईतीन महिना सुक्खा मौसममा पिउने पानी लिन आउँछिन्। अरू बेलामा घरकै धारामा पानी आउँछ। आफ्नै टोलको सार्वजनिक ढुंगेधारामा पानी थाप्न पनि घन्टौं लाइन बस्नुपर्ने र पानी भर्न पैसा तिर्नुपर्ने। त्यति मात्र नभएर पालोमा भनसुन हुने परिपाटी देखेर दिक्क मान्दै भन्छिन्, ‘होइन, यो देशमा सरकार नै छैन झैं भएको छ अहिले।’ उनको सरल जिज्ञासा छ, ‘सार्वजनिक धारा, पाटीपौवाको संरक्षण, सञ्चालन र व्यवस्थापन सरकारले गर्नुपर्ने होइन ? ’
उपत्यकाका सयौं ढुंगेधारा पानी सुकेर इतिहास बनेका छन्। तर रानीबारीको पुरानो ढुंगेधारा भन इतिहासको साक्षी बनेर बहिरहेछ।
रानीबारी ढुंगेधारा छेवैमा बिरु धोबीको घर छ। अहिले बिरुको सिंगो परिवार पानी भर्न र पैसा लिनमा व्यस्त हुन्छन्। उनीहरूलाई खाना खाने पनि फुर्सद हुँदैन। उनीहरू पानीको पालो मिलाएर पैसा लिन्छन्, दस लिटरको दस रुपैयाँको दरले। दस लिटरभन्दा कम भर्न भने पैसा तिर्नुपर्दैन। एकजनाले रसिद काटेर पैसा उठाउँछन् र खाली भाँडालाई पालोमा लगाइदिन्छन्। अर्कोले पानी भर्दा खेर नजाओस् भनेर सोलीबाट पानी भरिदिन्छन्। अर्कोले भरिएका पानीका भाडा पालोबाट बाहिर निकालिदिन्छन्।
बिरुले विनालगानी पानी व्यापार राम्रोसँग फस्टाएको छ। कतिपय घरमा अर्डरअनुसार साइकलमा अटाएजति पानीको जार बोकेर बिरु आफैं पुर्याउन जान्छन्। घरमा पुर्याएको एकजार पानीको भने पचास रुर्पयाँ लिन्छन्। धेरैले अहिले ढुंगेधारामा लाइन बसेर दस रुपैयाँमा किनेको पानी पचास रुपैयाँमा बिक्री गर्ने व्यापार पनि सुरु गरेका छन्।
पानी थाप्नेको भीड र पालोको निहुँमा हुने झगडालाई मत्थर पार्न रानीबारी युवा क्लबले स्वेच्छिक सेवा दिइराखेको क्लबका अध्यक्ष रक्की रजकले जानकारी दिए। रानीबारी उपभोक्ता समितिले धारा प्रवेशद्वारमै सूचना पाटी झुन्ड्याएर पानी किन्न आउने ग्राहकलाई आफूले तिरेको रकमको रसिद लिन र सुरक्षित तरिकाले राख्न सुझाएको छ।
उपत्यकाका सयौं ढुंगेधारा पानी सुकेर इतिहास बनेका छन्। तर रानीबारीको ६ आना क्षेत्रफल जग्गा ओगटेर बसेको पुरानो ढुंगेधारा भने इतिहासको साक्षी बनेर बहिरहेछ। १९९० सालको महाभूकम्पले क्षति पुर्याएपछि १९९२ सालमा बिरुकै पुर्खा धोबीहरूले जीर्णोद्वार गरेको ढुंगेधाराको शिलालेखमा अंकित छ। २०७२ सालको विनाशकारी भूकम्पले उपत्यका र आसपासका बस्तीमा खानेपानीको मुहानै सुकाएर हाहाकार मच्चाए पनि उक्त पुरानो ढुंगेधारालाई भने कुनै क्षति पुर्याएन।
रानीबारी उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण भुर्तेल उक्त ढुंगेधारामा कहिल्यै पनि पानी नसुकेको दाबी गर्छन्। उनका अनुसार यो धाराबाट दैनिक हजारदेखि पन्ध्र सय जतिले पानी थापेर लैजान्छन्।
पानी थाप्ने मानिसको चापसँगै धारा अव्यवस्थित रूपले फोहोरमैला हुन थालेकाले तीन वर्षदेखि समितिकै निगरानीमा रसिद काटेर पानी बिक्री गर्न थालिएको हो। त्यसबाट आएको रकम धाराकै सफाइमा खर्च गरिन्छ। पानी भर्न आउने गृहिणीहरूको सुविधालाई ध्यानमा राखी अहिले सार्वजनिक शौचालय बनाउने तयारी भइरहेको भुर्तेलले बताए। उपत्यकामा मेलम्चीको पानी ल्याउन पाइप बिछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ। तर पुरानो ढुंगेधाराको पानी पिउने बानी परेकाहरू यो पानीको स्वाद र गुणको तुलना अरू कुनै मुहानको पानीसँग गर्नै नसकिने बताउँछन्।