संरक्षणपछि मनमोहक देखियो अशोक स्तम्भ

संरक्षणपछि मनमोहक देखियो अशोक स्तम्भ

तौलिहवा ः कनकमुनि बुद्धको जन्मथलोका रूपमा मानिएको अशोक स्तम्भ संरक्षण गरिएको छ। कपिलवस्तु नगरपालिका–९ स्थित अशोक स्तम्भको लुम्बिनी विकास कोषले संरक्षण गरेको हो। कोषले ३० लाखभन्दा बढी बजेट खर्च गरेर स्तम्भको संरक्षणसहित सुन्दरीकरण गरेको छ। यो स्तम्भ तीन दशकदेखि जीर्णजस्तै थियो। अहिले स्तम्भ हेर्दा मनमोहक देखिन्छ। गौतम बुद्धभन्दा अघिका कनकमुनि बुद्धको जन्मथलोको प्रमाणस्वरूप सम्राट् अशोकले त्यहाँ स्तम्भ गाडेका थिए। ६ मिटर लामो, ४ मिटर चौडा र ८ मिटर उचो सेड बनाई लडेर र भुइँमा गडेर रहेको अशोक स्तम्भ सुरक्षित गरिएको लुम्बिनी विकास कोषका पुरातŒव अधिकृत हिमाल उप्रेतीले बताए। ‘हामीले अशोक स्तम्भलाई सुरक्षित राख्न संरक्षण र सुन्दरीकरण गरेका छाैं’, उनले भने।

सेड (छाप्रो) को माथि भिरालो परम्परागत शैलीमा माटोको टायलको छाना राखिएको छ। भारतको राजस्थानबाट ल्याइएको चिल्लो टायलले प्राचीन अवस्थाकै संरचनाको झल्को दिएको छ। सेडलाई तीनतिरबाट चाइनिज इँटाको आधा पर्खाल र आधा ग्रिल लगाएर सुरक्षित पारिएको छ। पश्चिमतिरको प्रवेशद्वार, २ वटा झ्यालबाहेक ठाउँमा पूरै पर्खाल लगाइएको छ। काठको प्रवेशद्वार र झ्यालमा बौद्ध साहित्य र परम्पराको महŒव उजागर गरिएको छ। प्रवेशद्वारको दुवै ढोकामा बडो कलात्मक ढंगले भगवान् गौतम बुद्धको खुट्टादेखि टाउकोसम्म कुदिएको छ। ढोकाको फ्रेम र झ्यालमा पनि उस्तै कलात्मक सिर्जना देखाइएको छ।

अशोक स्तम्भ दर्शन गर्न जानेलार्ई सुरुमा भगवान् गौतम बुद्धले वरद आसनमा सबैलाई आशीर्वाद दिएको तस्बिर ढोकामा राखिएपछि निकै आकर्षक देखिएको छ। ढोकामा भगवान् गौतम बुद्ध उभिएर एउटा हातमा भिक्षा पात्र र अर्कोले आशीर्वाद दिएको अवस्था काठको कलामा राम्ररी देखाइएको छ। अशोक स्तम्भसँगै रहेको पक्की सेडसहितको कनकमुनि बुद्धको मूर्तिलाई घेरेर चारैतिरबाट पर्खाल पनि लगाइएको छ। सेडभित्र र बाहिर भुइँमा टेराकोटा टायल लगाइएको छ। ‘पुरातात्विक मूल्य–मान्यतालाई पूरै ध्यान राखेका छौं’, लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले भने, ‘पछि अध्ययन र अन्वेषण आवश्यक भयो भने क्षति नपु¥याई पार्टपार्ट निकाल्न मिल्छ।’

नवनिर्मित सेड र कनकमुनि बुद्धको मूर्ति राखिएको सेडलाई समेत गेरु रंगले रंग्याइएको छ। तौलिहवा–जितपुर सडकखण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रंग लगाएपछि सबैको ध्यान तान्न थालेको छ। सदरमुकाम तौलिहवादेखि ७ किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित छ। लामो खण्ड जमिनमा पसारिएको छ भने सानो खण्ड तेर्सो परेर जमिनमा गडेको छ। लामो टुक्रा १५ फिट लामो र त्यसको परिधि बढीमा ७ फिट ५ इन्च छ। यस खण्डको शिखरपट्टि दुई वटा मुजुरका डिजाइन र देवनागरी लिपिमा ‘ॐ मणि पद्मे हुं रिपू मल्लस्य चीर जयतु १२३४’ वाक्य कुँदिएको छ। त्यसैले पनि यहाँ कर्णाली प्रदेशका राजा रिपुमल्ल आएका थिए भन्ने किंवदन्ती छ।

त्यसैगरी, लम्बाइ ५ फिट र परिधि ७ फिट ५ इन्च भएको जमिनमा गडेर रहेको सानो खण्डमा ब्राह्मी लिपिमा कुँदिएको चार पंक्तिको अशोक अभिलेख छ। उक्त अभिलेखले सम्राट् अशोक राजा भएको २०औं वर्षपछि यहाँ कनकमुनि बुद्धको जन्मस्थल आई पूजाआजा गरी यो स्तम्भ स्थापित गरेका थिए भन्ने बताउँछ। सन् १९८९ मा पहिलो पटक कोषका पुरातत्वविद् वसन्त बिडारीले निग्लिहवाको अशोक स्तम्भको संरक्षण गरेका थिए। त्यसपछिबाट अहिले संरक्षण गरिएको हो। निगालीसागर पोखरीमा लडेर अलपत्र परेको अशोक स्तम्भलाई क्रेनले उठाएर ल्याई हाल रहेको ठाउँमा संरक्षण दिइएको हो। कनकमुनि बुद्ध भगवान् गौतम बुद्धभन्दा पहिलेका आदि बुद्ध मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.