मासिँदै स्थानीय माछा

मासिँदै स्थानीय माछा

फुङलिङ : एक दशकअघि ताप्लेजुङको दोभान र काबेलीमा माछा खानेको भीड लाग्थ्यो। छुट्टीका दिन त होटलवालालाई पकाएर दिन भ्याइनभ्याइ हुन्थ्यो। रातभरि जाल थाप्ने जालहारी बिहान कम्तीमा पाँच किलो माछा लिएरै फर्किन्थे। तर, पछिल्ला वर्ष न ती बजारमा माछा खानेको भीड लाग्छ न त जालहारीका जालमा माछा नै पर्छन्।

मैवा खोलामा २० वर्षदेखि माछा मार्दै आएका दोर्जे शेर्पा अहिले कमै मात्र पाइने बताउँछन्। ‘कुनै समय एकपटकमा २० किलोसम्म माछा जालमा पथ्र्यो’, उनी भन्छन्, ‘अहिले एक–दुई किलो पार्न पनि गाह्रो छ।’

नदीमा खुलेआम करेन्ट प्रवाह गरेर माछा मार्ने क्रम बढेकाले माछा मासिँदै गएको फुङलिङका वीरबहादुर लिम्बू बताउँछन्। स्थानीय जातको तीते माछा भने लोप हुने अवस्थामै पुगेको उनको भनाइ छ। ‘खोलामा अहिले कत्ले, असलाजस्ता माछा पनि कम पाइन्छ’, उनी भन्छन्, ‘तीते माछा जालमा पर्न छाडेको त पाँच–सात वर्ष भयो।’ उनका अनुसार तमोर, मेवा, मैवा, सोभुवा, फावा, काबेलीलगायत नदीमा जेनेरेटर, ब्याट्रीजस्ता विद्युतीय साधन प्रयोग गरी माछा मार्नेहरू प्रशस्त भेटिन्छन्।

‘पहिले महाजाल, थकौली, झट्केजस्ता पासो प्रयोग गरेर माछा मारिन्थ्यो’, थेचम्बुका हस्त लिम्बू भन्छन्, ‘अहिले करेन्ट प्रवाह गर्नेहरू बढेपछि हामीजस्ता सोझालाई समस्या भएको छ।’

माछा मारेर बेचेरै परिवार धान्दै आएका उनी वैकल्पिक पेसा खोज्न थालेको सुनाउँछन्। खोलामा करेन्ट लगाउँदा माछासँगै माछाका भुरा, आहारा तथा अन्य जलचरमा असर पुग्ने जिल्ला वन कार्यालयका फरेस्टर माधव गुरागाईंको भनाइ छ।

जिल्लाका थेचम्बु, दोभान, हान्द्रुङ, खोक्लिङ, काबेली, चाँगे, खाम्लुङलगायत गाउँका खोलाछेउ घर भएका धेरैको आम्दानीको स्रोत माछा थियो। फाट्टफुट्ट पाइने माछा किन्नेको हारालुछ हुने गरेको दोभान बजारका च्याङ्बवा तामाङ बताउँछन्। दोभानमा आलो माछा ६ सय र सुकुटी ४ हजार ५ सय रुपैयाँ पर्छ। पुराना ग्राहकले दिनहुँजसो माछा राखिदिन फोन गर्ने गरेको उनी सुनाउँछन्। ‘सदरमुकाम फुङलिङलगायत अन्य स्थानदेखि दिनहुँ माछा छ कि छैन भनेर फोन आउँछ’, उनी भन्छन्, ‘माछा नै पर्दैन कसरी दिनु ? ’ सातामा दुईपटक माछा खान दोभान र काबेली पुग्ने फुङलिङ बजारका सजल पौडेल माछा पाउन छाडे पनि खोलामा पौडी खेलेर फर्कने गरेको बताउँछन्।

पासो, जाल, बल्छीको प्रयोग गर्दा धेरै समयमा पनि थोरै मात्र माछा पर्छ। सेल ब्याट्री र जेनेरेटरको पावरलाई तारमा जोडेर रड, झम्पलको माध्यमबाट खोलामा विद्युत् प्रवाह गरिन्छ। करेन्टले मरेर बगेका माछा जालीले तानेर निकालिन्छ। विद्युत् प्रवाह भएपछि १० मिटरसम्मका जलचर मर्ने हुँदा जैविक विविधता र पारिस्थितिक पद्धतिमा पनि असर पुग्ने फरेस्टर गुरागाईंको भनाइ छ। नियमविपरीत करेन्ट लगाएर माछा मारे सार्वजनिक अपराध ऐन तथा वातावरण ऐनअन्तर्गत कारबाही हुने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.