जनकपुर–भिठ्ठामोड सडक निर्माण सुस्त
जनकपुरधाम : बजेट अभावका कारण जनकपुर–भिठ्ठामोड सडक निर्माण प्रभावित भएको छ। यो सडकखण्डमा हिलो र धूलोको सास्तीविरुद्ध पटक–पटक आन्दोलन हुने र वर्षायाममा यातायात नै ठप्प गर्नुपर्ने बाध्यता रहेको अवस्थामा निर्माण कार्य बजेट अभावले सुस्त भएको जनाइएको छ।
पछिल्लो ६ महिनादेखि सडक निर्माणको गति सुस्त रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जानकारी दिएको छ। धनुषा र महोत्तरी मात्र नभई प्रदेश २ कै लागि महत्वपूर्ण व्यापारिक सडकका रूपमा रहेको जनकपुर–भिठ्ठामोड १८ किलोमिटर सडक निर्माणको ठेक्का दुई निर्माण कम्पनीलाई दिइएको छ। चार लेन सडक निर्माणका लागि जनकपुरबाट महोत्तरीको पर्सासम्म प्रतिभा वाई जेभीले ४३ करोड ५६ लाखमा ठेक्का लिएको छ। पर्साबाट भिठ्ठामोडसम्म आतिश पप्पु रोशन जेभी कन्स्ट्रक्सनले ४९ करोड ८९ लाखको ठेक्का पाएको छ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष ६ करोडसहित हालसम्म १३ करोड रकम निकासा गरेको जनाइएको छ। पछिल्लो तीन महिनादेखि बजेट अभाव भएपछि काम प्रभावित हुने अवस्थामा रहेको कार्यालय प्रमुख सन्तोष कर्णले जानकारी दिए। ‘बजेट अभावका कारण निर्माण कम्पनीलाई भुक्तानी दिन समस्या भइरहेको छ’, उनले भने।
बजेट निकासाका लागि मन्त्रालयलाई ताकेता गर्दै आए पनि सुनुवाइ नभएको उनले बताए। ‘बजेट हुँदा निर्माण कम्पनीहरूलाई भुक्तानी दिन गाह्रो भएको छ’, उनले भने, ‘सोही कारण सडक निर्माण सुस्त भएको हो।’
२०७३ साल भदौ २५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडकको शिलान्यास गरेका थिए। निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार काम सम्पन्न गर्न एक वर्ष बाँकी रहँदा पनि ३५ प्रतिशत काम मात्र पूरा भएको छ। बजेट अभाव र मौसम प्रतिकूलताका कारण निर्धारित कार्यसूचीभन्दा ३–४ महिना ढिलाइ भएको कार्यालयले जनाएको छ।