‘बालकृष्ण ढुंगेलको मुद्दा राजनीतिक, माफी नियमित प्रक्रिया’
भरतपुरः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र युद्धका समयमा भएको हत्याको घटनामा अदालतबाट दोषी ठहर बालकृष्ण ढुङ्गेललाई नियमित प्रक्रियाबाट रिहा गरिएको बताएका छन् ।
ढुङ्गेलमाथि हत्याको मुद्दा लगाउने निर्णय गलत भएको बताउँदै उनले कानुनी प्रक्रिया पुरा नहुँदा जेल गएकाले गणतन्त्र दिवसको अवसरमा अरुलाई जस्तै ढुङ्गेललाई पनि रिहा गरेको स्पष्ट पारेका हुन् ।
बुधवार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले बालकृष्णले पनि अन्य कैदीले जस्तै ४० प्रतिशत सजाय भुक्तानी गरेको तथा कारागारमा असल चालचलन देखाएकाले गणतन्त्र दिवसको अवसरमा रिहा गरेको बताए ।
‘ढुंगेलविरुद्धको मुद्दा राजानैतिक रहेको निचोड सबै दलले निकालेका हुन्, तर सर्वोच्चबाट सजाय भइसकेकाले कानुनी प्रकृया पुरा गर्न समस्या भएको थियो’, उनले भने, ‘सर्वाच्चको आदेशपछि र त्यसअगाडि ४० प्रतिशत सजाय काटिसकेकाले माफी दिइएको हो ।’
मन्त्री थापाले फरक प्रसंगमा पूर्वाधार निमार्णबाट मात्रै देशको समृद्धि सम्भव रहेको भन्दै बजेटले त्यसलाई सम्बोधन गरेको बताए । मन्त्री थापाले सरकारले ल्याएको बजेट विकास, समृद्धि र सु–शासनप्रति लक्षित रहेको दावी गरेका छन् ।
पाँच वर्ष भित्र देशमा ठोस पूर्वाधार तयार गर्ने सरकारको योजनामा बजेट केन्द्रित रहेको उनले बताए । ‘विकास, समृद्धि र सुशासनका लागि बजेट केन्द्रित छ’, थापाले भने, ‘पाँच वर्षमा विकासको ठोस पूर्वाधार तयार गर्ने गरी बजेट आएको छ ।’
उनले देशमा विखण्डनकारी गतिविधिमा सक्रिय भएकालाई मूल प्रवाहमा ल्याउने सरकारको नीति रहेको बताउँदै त्यसलाई अटेर गरे निस्तेज पार्ने समेत बताए ।