पाँच वर्षदेखि बजेटमा मात्र सुरुङमार्ग

पाँच वर्षदेखि बजेटमा मात्र सुरुङमार्ग

बुटवल : सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा एक युवाको पहिरोमा परी मृत्यु भयो । पछिल्लो चार वर्षयता मृत्यु भएको व्यक्तिमध्ये उनी ३१ औं हुन् । शुक्रबार पहिरो छिचोल्दै बुटवल आउँदै गरेका मस्यामका मोहन रेग्मीको ढुंगाले थिचेर मृत्यु भयो ।

यो सडकमा सुरुङमार्ग बनाउने चर्चा भएको दशक भयो । बजेट भाषणमै लेखेर आएको पनि पाँच वर्ष भयो तर अहिलेसम्म काम भएको छैन । दुर्घटनाग्रस्त सडक निर्माणमा चासो नदिँदा बर्सेनि यात्रुको ज्यान जाने गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष ०७५÷७६ को बजेटमा पनि बुटवल पाल्पा सडकको सिद्धबाबा खण्डमा सर्वेक्षण गरी सुरुङमार्ग निर्माण थाल्ने उल्लेख छ ।

सुरुङमार्गको विषय ०७०÷७१ को बजेट वक्तव्यमा पहिलो पटक समावेश गरिएको थियो । खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा तत्कालीन अर्थमन्त्री शंकर कोइरालाले प्रस्तुत गरेको बजेटमा सुरुङमार्ग निर्माणको सम्भाव्य अध्ययन गर्ने उल्लेख छ ।

भौतिक पूर्वाधार मन्त्रालयले सम्भाव्यता अध्ययन त ग¥यो तर डीपीआरको काम अघि बढ्न सकेको छैन । बजेटमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग उल्लेख भएको ५ वर्ष भइसक्दा पनि यसको अहिलेसम्म डीपीआर बनेको छैन । यसअघि अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा ०७३÷७४ को बजेटमार्फत विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बजेट छुट्याइएको थियो । ‘डीपीआर तयार हुनासाथ निर्मार्ण प्रारम्भ हुनेछ’ भनेर बजेटमा लेखिएको छ । तर, यात्रु अझै सिद्धबाबा पहिरोको स्थायी समाधान हुन्छ भनेर ढुक्क हुन सकेका छैनन् ।

पाल्पा तिनाउ गाउँपालिका दोभानका दलबहादुर गुरुङ भन्छन्, ‘सुरुङमार्ग, सेमिटनेल भन्ने नारा धेरै सुनिए केही काम भएको देखिएको छैन । मानसिक त्रासले सिद्धबाबा क्षेत्र ओहोर दोहोर गर्नुपरेको छ ।’ २ वर्षअघिकै बजेटमा डीपीआरका लागि बजेट छुट्ट्याइए पनि सुरुङमार्गसम्बन्धी कुनै बजेट आफ्नो डिभिजनमा नआएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

‘अध्ययन केन्द्रबाटै भयो होला तर सुरुङमार्ग निर्माणका लागि भनेर हाम्रोमा बजेट आएको छैन’ डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्यले भने ।

मन्त्रालय तथा सडक विभागका अधिकारी सुरुङमार्ग कठिन योजना ठान्छन् । ‘सडकका लागि नेपालमा कहीँ अभ्यास भएको छैन । समस्या त्यहीँबाट सुरु हुन्छ,’ सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने, ‘अह्राउने र भन्नेलाई त सजिलै हुन्छ । गर्नेलाई थाहा हुन्छ कत्तिको गाह्रो छ भन्ने ।’ सुरुङमार्ग बनाउँदा त्यससँगै वैकल्पिक मार्ग पनि हुनुपर्ने बताउँछन् । ‘सुरुङमार्गभित्र दुर्घटना भयो भने उद्धार गर्न अर्को वैकल्पिक मार्ग पनि चाहिन्छ,’ गौतमले भने ।

सडक विभागले अहिले सिद्धबाबा क्षेत्रमा तिनाउपारिबाट सडक लैजानेबारे पनि अध्ययन गर्ने भएको छ । ‘सुरुङमार्ग बन्यो भने पनि एउटा वैकल्पिक मार्ग चाहिन्छ त्यसैले १० किलोमिटरजति सडक तिनाउपारिबाट बन्न सक्छ कि भन्नेबारे अध्ययन गर्छौं,’ उनले भने ।

सुरुङमार्ग बन्ने भयो भने पनि ३–४ वर्ष लाग्ने विभागको भनाइ छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको पहिरो यातायात क्षेत्रको टाउको दुखाइको विषय बनेको छ । बुटवलबाट पश्चिमाञ्चलका पहाडी जिल्लामा जाने र आउने हजारौं यात्रुलाई सिद्धबाबाकै पहिरोले झस्काउने गर्छ । ०७४ साउनयता मात्र सिद्धबाबा क्षेत्रमा पहिरोमा परेर ४ जनाले ज्यान गुमाइसकेका छन् । ७ जना घाइते भएका छन् । ६ वटा सवारीसाधनमा क्षति पुगेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ४ वर्षयता तल्लो सिद्धबाबाबाट झुम्सासम्मको क्षेत्रमा दुर्घटनामा परी ३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसमध्ये धेरैको ढुंगा खसेर र पहिरोमा परी ज्यान जाने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.