घर ‘कुल देवता’लाई छोडेर पूरै गाउँ यार्सा यात्रामा..

घर ‘कुल देवता’लाई छोडेर पूरै गाउँ यार्सा यात्रामा..

टेकबहादुर शाही

डोल्पा : घरको मूल ढोकामा ठूला ताला लागइएका छन्। अनि कुल देवताका ध्वजा त्यसै तालामा बाँधिएका छन्। अधिकांश गाउँमा साना बालबालिका, वृद्धवृद्धा र कुकुर बाहेक घरमा कोही छैनन्। बालबालिका र वृद्ध नहुनेका घरमा भने तालासँगै कुल देवताका ध्वजामात्र झुन्डिएका छन्।

पुस्तौदेखिको सम्पति र जीनभर बास बस्ने घर कुल देवताको ध्वजाको भरमा छोडिएको छ। जस्को घरमा जतिनै सम्पत्ति भए पनि देवताले सुरक्षा गर्छन् भन्ने विश्वास छ। यही विश्वासमा महिनौसम्म घर छोडेर सबै परिवार यार्सा टिप्न पाटन पुगेका छन्।

रुकुमको कुमपुथा उत्तरगंगा गाउँपालिकाकी यार्चा संकलक माया पुन मगरले दुःख सुनाइन्। ‘आम्दानीको स्रोत भने पनि जागिर भने पनि यार्सागुम्बा हो’, पुनले भनिन्, ‘रुकुमबाट हप्तादिन हिँडेर डोल्पाको चिनाराङसीको पाटनमा आइपुगेकी छु।’ 

यार्चागुम्बा संकलनका लागि भनेर सानासाना बालिका समेत विद्यालय छोड्ेर डोल्पाका हिमाली पाटनमा पुगेका छन्। वृद्धदेखि साना बालबालिका र बच्चाका आमा समेत जाने भएकाले एकै पटक सबैका लागि वन खुल्ला गर्ने प्रचलन रहेको सामुदायिक वनका अध्यक्ष सुर्वण बुढाले जानकारी दिए।

६० प्रतिशत घरमा ताला

डोल्पाका करिब ६० प्रतिशत घरका ढोकामा ताला झुन्डिएका छन्। घरमा ताला लगाएर हिमाली पाटनमा यति बेला स्थानीय यार्सागुम्बा संकलनमा छन्। जिल्लाका दर्जनौ यार्सा पाटनमा खान पनि बिर्सिएर यार्सा टिप्नेहरुको घुँइचो नै छ। 

जिल्लाका जगदुल्ला गाउँपालिका, काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका, छार्काताङसोङ गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, त्रिपूरा सुन्दरीका केही बस्ती, ठूलीभेरी नगापालिका र मुड्केचुला गाउँपालिकाका स्थानीय घरमा ताला झुन्ड्याएर पाटनमा यार्सा टिप्न सक्रिय छन्।

सामान्य पालमा महिनौ बसेर लाखाँै कमाई गरी बर्ष दिनको खर्च चलाउनुपर्ने भएकाले सबैथोक छोडेर पाटन पुगेको जगलदुल्ला गाउँपालिकाकी रामकर्णि लामाले बताइन्। ‘चारजनाको परिवार छ बर्ष भरिको नुन तेलसँगै उपभोग्य वस्तु किन्ने खर्च यार्साबाटै कमाउँछौँ’, यार्सा टिप्न पाटनमा पुगेकी जगलदुल्ला गाउँपालिकाकी लामाले भनिन्, ‘वर्षभरी खाएर छोराछोरी पनि पढाउन सजिलै भाको छ, छोराछोरी पढाउन पाउँदा यार्सा  खोज्दाका सबै दुःख बिर्सन्छौँ।’ 

डोल्पाका मात्रै होइन छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्लालगायतका अन्य जिल्लाबाट पनि घरमा ताला लगाएर डोल्पाका पाटनमा यार्सागुम्बा संकलन गर्न आउँछन्। शे–फोक्सुण्डो गाउँपालिकाका निमा गुरुङ भने  यार्साले मात्र सबैको दैनिकी नचलेको सुनाउँछन्। ‘सबै यार्सामा निर्भर हुँदा उनीहरुको दैनिकी एकनास चलेको छैन’, गुरुङले भने, ‘कतिपय ऋणमा परेका छन्।’ 

चार हजार मिटरमाथि  पालकै भरमा रात कट्छ 

धेरै गाउँले घरबाट महिना दिनलाई रासन बोकेर यार्सा  टिप्न पाटन पुगेका छन्। चार हजार मिटर भन्दा माथिको उचाईमा त्रिपालको भरमा चिसो खेप्दै उनीहरु यार्सा टिप्न तल्लिन छन्।  मसिना काठले घुमाएर बानाएको पालको खोरमा सामान्य खाना खाएर यार्चागुम्बा टिप्ने गरेको जाजरकोटका यज्ञबहादुर जैसीले सुनाए। उनले भने, ‘हप्ता दिनमा पाटन पुगिन्छ। चिसोमा निकै कठिन छ। तर, हाम्रो बाध्यता हो। चिसो थेग्ने बानी नै परिसक्यो।’ 

डोल्पाका स्थानीयका लागि यार्सागुम्बा प्रमुख आम्दानीको स्रोत हो। यार्सा संकलन स्थलमा चोरीका घटना पनि बढ्दै गएका छन्। जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकाय भन्छन्, ‘यार्सा संकलकलाई सुरक्षा दिन गाह्रो छ।  चोरीका घटनाको अन्त्य गर्ने उपाय खोजिरहेका छौँ। तर, विकट क्षेत्र भएकाले त्यो असम्भव जस्तै छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.