भारत लैजाँदै गरेको एक सय २२ क्वीन्टल मरिच बरामद
![भारत लैजाँदै गरेको एक सय २२ क्वीन्टल मरिच बरामद](https://annapurnapost.prixacdn.net/media/albums/maricha-baramad_20180605080208_U6l491nixA.jpg)
वीरगन्ज : तेश्रो मुलुकबाट आयात गरिएको मरिच, वीरगन्ज भन्सारको मुल नाकाबाटै भारत तस्करी हुँदै आएको खुलासा भएको छ।सोमबार बेलुकी वीरगन्जबाट भन्सार कार्यालय अगाडिकै सडकबाट तस्करी गरेर भारतीय सीमा क्षेत्रमा पुर्याइएको एक ट्रक मरिच प्रहरीले बरामद गरेपछि यो रहस्य खुलेको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज भन्सार नाकाबाटै तस्करी गरेर भारत छिर्न लागेको एक ट्रक मरिच नेपाल भारत सीमाको दशगजा क्षेत्रबाट बरामद गरेको हो।
प्रहरीले नियन्त्रणमा लिएको युपि ७८ बी बिटी ३८०४ नम्बरको ट्रकबाट एक सय २२ क्वीन्टल मरिच बरामद भएको हो। सोमबार बेलुकी वीरगन्जको बाइपास सडकबाट नगवा, इनर्वा , रजत जयन्ति चोक, वीरगन्ज भन्सार ,शंकरचार्य प्रवेशद्वार हुदै भारत छिरेको मरिच सहितको ट्रक प्रहरीले नेपाल भारत सीमाको दशगजा क्षेत्रबाट बरामद गरेको हो।
वीरगन्जको बाइपासको नगवा , इनर्वा र रजत जयन्ति चोकमा नेपाल प्रहरी , वीरगन्ज भन्सार नाकामा सशस्त्र प्रहरी तथा शंकराचार्य प्रवेशद्वारमा नेपाल प्रहरी २४ सै घण्टा तैनाथ रहदै आएको भएपनि मरिच सहितको ट्रक सुरक्षाकर्मीलाइ छल्दै भारतीय दशगजा क्षेत्रमा पुग्नुले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रति आशंका उत्पन्न भएको छ।
बाइपास सडकको नगवा चोक देखि शंकराचार्य प्रवेशद्वार सम्मको पाच ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४ सै घण्टा चेकजाँच हुदै आएको अवस्थामा भारतीय सीमा सम्म मरिच सहितको ट्रक सहज रुपमा पुग्नुले सुरक्षाकर्मीको गतिविधी प्रति प्रश्न उठेको हो।
भारतीय सहर रक्सौलबाट दैनिक उपभोग्यका लागि दुई चार किलो घरायसी सामान ल्याउँदा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच पाँच ठाँउमा चेकजाँच गर्छ।त्यहि बाटो भएर एक ट्रक मरिच नै बिना कुनै अवरोध नेपालबाट भारत पुग्नुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतो रहेको आशंका उब्जिएको छ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले पनि ठाँउठाँउमा नेपाल प्रहरी , सशस्त्र प्रहरी र वीरगन्जको इनर्वा नाकामा भन्सार कार्यालयका कर्मचारीको तैनाथी रहेको अवस्थामा त्यहि बाटो भएर सहज रुपमा तस्करीको मरिचसहितको ट्रक भारतीय सीमासम्म पुग्नुले आफू पनि आश्चर्य भएको बताए।
ठाँउठाँउमा प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीको चेकजाच गरिन्छ, उनले भने, 'तर तस्करीको मरिचसहितको ट्रक नै विना अवरोध नेपाली सीमाबाट भारतीय सीमासम्म पुग्नुले केही प्रश्न खडा भएको छ, प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।
तर नेपाल प्रहरीले नै उक्त मरिचसहितको ट्रक पक्राउ गरेकाले नेपाल प्रहरीको नियतमाथि शंका गर्ने ठाँउ नरहेको उनले बताए। प्रहरीले सोमबार बेलुकी नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको ट्रकबाट बोरामा प्याक गरिएको अन्दाजी ६१ लाख रुपैया मुल्य बराबरको एक सय २२ क्वीन्टल मरिच बरामद भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।
प्रहरीले ट्रकका चालक भारतको उत्तरप्रदेश प्रान्तको कानपुर जिल्ला थाना सचेण्डी भौती गाउँ निवासी ३२ वर्षीय धर्मेन्द्र कुमारलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका ट्रकका चालक धर्मेन्द्र कुमारका अनुसार, भारतबाट आलु लिएर वीरगन्ज आएको उक्त ट्रकले आलु खन्याएर बाइपास सडकमा पुगी अर्को ट्रकमा लोड रहेको कन्टेनरबाट मरिच लोड गरेपछि ट्रक साहुले रक्सौल पुरयाउन निर्देशन दिएपछि रक्सौल जाँदै गर्दा प्रहरीले बरामद गरेको हो।
बरामद भएको मरिच कस्को हो भन्ने विषयमा आफूलाई जानकारी नभएको ट्रक चालकले बयान दिएको भन्दै प्रहरी उपरीक्षक ढकालले भने,' यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
बरामद मरिच , ट्रक र चालकलाइ आवश्यक कारबाहीका लागि मङगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक ढकालले बताए। यसअघि गत आइतबार पनि प्रहरीले पर्साको अमरपट्टीबाट एक टयाक्टर मरिच बरामद गरेको थियो।
भारत सरकारले किसानलाई प्रोत्साहित गर्न तेश्रो मुलुकबाट मरिचको आयातमा कडाइ गरेपछि नेपालबाट मरिचको व्यापक तस्करी भइरहेको छ। यसका साथै भारतमा नेपालको भन्दा मूल्य बढी भएका कारण पनि मरिच नेपालबाट भारततर्फ तस्करी भइरहेको हो।
वीरगन्जको बजारमा मरिचको मुल्य प्रति केजी पाँच सय रुपैया छ। तर सीमावर्ती भारतीय बजारमा मरिचको मुल्य प्रति केजीको आठ सय भारु (एक हजार दुई सय ८० नेरु ) रहेको छ। नेपालमा ब्राजिल र भियतनामबाट मरिच आयाता हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)