प्रहरीकै सुराकी लुटपाटका नाइके, दुई दिनको रेकीपछि गोलीकाण्ड

प्रहरीकै सुराकी लुटपाटका नाइके, दुई दिनको रेकीपछि गोलीकाण्ड

धनगढीः जेठ १३ गते धनगढीको मुख्य बजारमै भएको गोलीकाण्डका अभियुक्तहरुले दुई दिनको रेकीपछि मात्रै लुटपाट गरेको बयान दिएका छन । 

मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा गोली हान्ने उग्रसेन राना, उनैले चलाएको मोटरसाइकलको पछाडि बसे रकमको झोला खोस्ने कल्लु भनिने कालु राना, लुटपाटका मुख्य योजनाकार राजकुमार चौधरी, सहयोगीहरु रामप्रवेश राना र वीरु चौधरीसहित पाँचजनालाई सार्वजनिक गरेपछि यस्तो तथ्य आएको हो । 

जेठ १३ गते विहान साढे ९ बजे धनगढीको ट्राफिक चोक नजिकैको केन्ट ट्रेडर्स एण्ड सप्लायर्स (आईएमई) का कर्मचारी निर्मल कार्कीलाई मुख्य बजारस्थित सेन्चुरी  बैंक नजिकै गोली हानेर साढे नौ लाख लुटपाट गरिएको थियो । 

पक्राउ परेकाको बयानका आधारमा धनगढी उपमहानगरपालिका–६ का ३१ वर्षका राजकुमार चौधरी घटनाको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । उनले आईएमईमा जेठ ११ र १२ गते रेकी गरी लुटपाटको योजना बनाएका थिए । 

‘राजकुमारले दुई दिनसम्म रेकी गरेर आईएमईको मान्छे बैंक कति बेला जान्छ ? के मा जान्छ ? कति जति रकम ल्याउँछ ? भनेर सबै योजना बनाएको बयानमा खुलेको छ’ गोलीकाण्डको अनुसन्धान टोलीका प्रमुख तथा कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने ।

पक्राउ परेकाको बयानका आधारमा राजकुमारले उग्रसेनलाई धनगढी बजार देखि ५÷६ किलोमिटर टाढा रहेको कञ्चनपुरको लालझाडी जंगलमा घटना भएकै दिनको विहान पेस्तोल चलाउन सिकाएका थिए । 

‘लालझाडीको जंगलमा दुई राउण्ड फायर गरेर उग्रसेनलाई पेस्तोल चलाउन सिकाइएको बयान राजकुमारले दिएको छ’, प्रहरी उपरीक्षक घिमिरेले भने, ‘त्यसपछि मात्रै आईएमईका कर्मचारीमाथि गोली प्रहार भएको छ ।’ 

प्रहरीकै सुराकी नाइके 

राजकुमार चौधरी सीमा आसपासको क्षेत्रमा चोरीका गाडी वारपार गर्ने गर्थे । उनी हतियारको कारोबार गर्ने संगठीत आपराधिक कृयाकलाप गर्ने गिरोहको नाइके भएको प्रहरीले दाबी गरेको छ । यसअघि उनले प्रहरीकै लागि सुराकीको काम गरेका थिए । 

टीकापुर घटनामा हराएको प्रहरीको ‘ग्यास गन’ (अश्रुगयास हान्ने बन्दुक)को सुराक पनि राजकुमारले दिएका थिए । प्रहरीले झण्डै १० महिनाअघि प्रहरीको ग्यास गनसहित एकजनालाई पक्राउ गरेको थियो । राजकुमार हातहतियार खरखजाना मद्दामा ७५ दिन जेल सजाय भुक्तान गरिसकेका ब्यक्ति हुन ।

प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिचाहका ३० वर्षका उग्रसेन रानाको घरबाट गोली हान्न प्रयोग गरिएको पेस्तोल र त्यसको ६ राउण्ड गोली पनि सोमबार राती नै बरामद गरेर मंगलबार सार्वजनिक गरेको छ । 

उनको घरबाट प्रहरीले लुटपाट गरिएको एक लाख ७० हजार रकम पनि बरामद गरेको छ । उग्रसेन रानाले गोली हान्ने बेला राजकुमार चौधरीले नै उपलब्ध गराएको चोरीको अपाची मोटरसाइकल आफैँले चलाएका थिए ।

‘मोटरसाइकल रोकेर कार्कीलाई गोली हानेको उग्रसेनले बयानमा स्वीकार गरेको छ, सोमबारसम्म कल्लु रानाले गोली हानेको बताएपनि दुवै जनालाई सँगै राखेर बयान गर्दा उग्रसेनले गोली हानेको र कल्लुले रकम राखेको झोला खोसेको बयान दिएका छन’ प्रहरी उपरीक्षक घिमिरेले भने । 

लुटिएको रकम बरामद

प्रहरीले राजकुमारले राख्न दिएको ठाउँबाट लुटपाट गरिएको तीन लाख ४३ हजार रकम, उग्रसेनको घरबाट एक लाख ९० हजार र कल्लु रानाको साथबाट १५ हजार ६ सय गरी पाँचलाख ४८ हजार ६ सय रकम पनि बरामद गरिसकेको छ । 

‘बाँकी रकम पनि राख्न दिएको मान्छे नभेटिएकाले बरामद भएको छैन, छिट्टै त्यो पनि बरामद हुन्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने । प्रहरीले राजकुमारले दिएको रकम राख्ने धनगढी उपमहानगरपालिका १८ का बिरु चौधरीलाई पनि सोमबार राति पक्राउ गरेको छ ।

कल्लु राना र उनका सहयोगी रामप्रवेश रानालाई सोमबार कैलालीबाट प्रहरी निरीक्षक भरत गिरी र प्रहरी सहायक निरीक्षक केशव जोशीको टोलीले अपराध अनुसन्धान विभागको प्रहरीको सहयोगमा काठमाडौंको गोंगबु बसपार्कबाट पक्राउ गरेको थियो । 

प्रहरीले उनीहरुमाथि हातहतियार खरखजाना ऐन २०१९ को २(ग) र दफा २० (२) बमोजिम ६ महिनादेखि १ वर्ष कैद सजाय र जरिवाना, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी गरी तीन वटा मुद्धा दर्ताको तयारी गरेको छ । तीनै मुद्दा प्रमाणित भएमा कम्तीमा पनि ६ वर्षको जेल सजाय हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.