खाली कक्षाकोठामा भरिभराउ शिक्षक

खाली कक्षाकोठामा भरिभराउ शिक्षक

 छत्रकोट (गुल्मी) : विद्यालयको पक्की भवन । फराकिला कक्षाकोठा । दरबन्दीअनुसार पूरै शिक्षक । पाँच मिनेटको दूरीमा अर्को विद्यालय । भौतिक संरचना र शिक्षक दरबन्दीले भरिपूर्ण छत्रकोट गाउँपालिका–५ अज्र्याङवास गुल्मीको सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थी संख्या भने निकै कम छ । कक्षा ५ सम्म जम्मा ४७ जना विद्यार्थी छन् ।

शिक्षक दरबन्दीको अनुपातअनुसार कम्तीमा दुई सय विद्यार्थी हुनुपर्ने शिक्षा नियमावलीमै उल्लेख छ । तर, यस विद्यालयमा चालु शैक्षिक सत्रमा ४७ जना विद्यार्थी मात्र भर्ना भएका छन् । विद्यार्थी संख्या यस वर्ष मात्र कमी भएको भने होइन, सुरुदेखि यस्तै समस्या विद्यालयले भोग्दै आएको हो । कक्षा १ मा १८ जना, दुईमा १०, तीनमा आठ, चारमा ६ र पाँच कक्षामा पाँच जना विद्यार्थी अध्ययनरत छन् । यसमध्ये सबै विद्यार्थी विद्यालय आउँदैनन् । दुई÷तीन जना विद्यार्थीलाई समेत पढाउनुपर्ने बाध्यता रहेको शिक्षक बताउँछन् ।

विद्यार्थी संख्या कम भए पनि विद्यालय एकीकरण (मर्ज) गर्ने छलफल पनि चलेको थियो । पाँच मिनेट दूरीमा पर्ने वडा नम्बर ३ स्थित हर्दिनेटाको देवीस्थान प्राविसँग गाभ्ने जिल्ला शिक्षा कार्यालयको प्रयास असफल भएको छ ।

समुदायले साथ नदिएकै कारण मर्जरको प्रयास असफल भएको छत्रकोट गाउँपालिकाका विद्यालय निरीक्षक विष्णु ज्ञवालीले बताए । ‘धेरै पटक विद्यालय मर्जर गर्ने विषयमा जोड ग¥यौँ’, उनले भने, ‘समुदायले नमान्दा मर्जर हुन सकेन ।’ दुवै विद्यालय फरक–फरक वडामा सञ्चालन भएकाले समुदाय मञ्जुर नभएको पाइएको उनको भनाइ छ ।

‘आफ्नो विद्यालय छाडेर अर्कोमा जान कोही मञ्जुर भएनन्’, ज्ञवाली भन्छन्, ‘शिक्षा कार्यालयबाट धेरै प्रयास गरियो । अब स्थानीय तहले नयाँ ऐन, नियमावली बनाएर कडाइसाथ लागू गरे मात्र सम्भव हुने देखिन्छ ।’ जिल्लाका धेरै प्राथमिक तहका विद्यालय विद्यार्थी नहुँदा सञ्चालनमा सकस पर्दै गएको उनको भनाइ छ ।

जिल्लाकै कतिपय विद्यालयमा शिक्षक नभएर हैरानी छ । तर, यो विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षक धेरै छन् । कार्यरत सबै शिक्षक स्थानीय हुन् । गाउँमा बढ्दो बसाइसराइ र निजी विद्यालयप्रतिको आकर्षणले गर्दा विद्यार्थी संख्या बर्सेनि कमजोर बन्दै गएको प्रधानाध्यापक राजेन्द्र ज्ञवालीले बताए । ‘०४७ सालदेखि नै यसैगरी चलेको छ’, उनले भने, ‘बर्सेनि विद्यार्थी भर्नादर घट्दो छ ।’

प्रधानाध्यापक ज्ञवालीसहित शिक्षक थम्मन घिमिरे र टेकराज बञ्जाडे स्थायी दरबन्दीका हुन् । ताराबहादुर खत्री र कमला केसी अस्थायी दरबन्दीमा कार्यरत छन् । सबै जना शिक्षक सुरुदेखि नै यसै विद्यालयमा कार्यरत रहेको विद्यालयले जनाएको छ । ‘पञ्चायतका बेला प्रत्येक वडामा विद्यालय सञ्चालन हुने गर्थे’, ज्ञवालीले भने, ‘नजिक भएर पनि दुई विद्यालय फरक–फरक वडामा हुँदा मर्जरमा समस्या देखियो ।’ स्थानीयको आवश्यकता र चाहनाअनुसार आफूहरू चल्ने उनले सुनाए ।

चार कक्षासम्म सञ्चालन भएको देवीस्थान प्राविमा छात्रा २२ र छात्र १९ गरी ४१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पार्वता सुनारले बताइन् । दुई जना स्थायी दरबन्दी, एक जना अस्थायी र दुई जना निजी स्रोतमा शिक्षक कार्यरत छन् ।

‘कक्षा तीनसम्म स्वीकृत छ’, उनले भनिन्, ‘जसोतसो अनुमति लिएर चारसम्म चलाएका छौँ ।’ गाउँमा बच्चा नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भइरहेको उनको अनुभव छ । सो विद्यालका शिक्षक पनि सबै स्थानीय हुन् ।

शिक्षा ऐन, नियमावली बनाएर विद्यार्थी संख्या कमजोर भएका विद्यालय एक आपसमा गाभ्ने तयारी रहेको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले बताए । ‘शिक्षा ऐन बनाउने तयारीमा छौँ’, उनले भने, ‘अबको गाउँसभाले पारित गर्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.