भीरपाखालाई प्लटिङ भन्दै बैंकमा ठगी : ६ अभियुक्त पक्राउ

भीरपाखालाई प्लटिङ भन्दै बैंकमा ठगी :  ६ अभियुक्त पक्राउ

फुङलिङ :  ताप्लेजुङमा भीरपाखालाई प्लटिङ जग्गा भन्दै बैंक ठगीमा संलग्न ६ जना अभियुक्त पक्राउ परेका छन् । कागजात किर्ते गरी ऋण लिने गिरोहमा सक्रिय २० मध्ये बाँकी फरार रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

कृषि विकास बैंक ताप्लेजुङ शाखाबाट ऋण लिनेले किस्ता नतिरी जग्गा लिलाम गर्नुपर्ने अवस्था भएपछि यस्तो तथ्य बाहिर आएको हो । अभियुक्तहरूले डेढ करोड ऋण लगेकामा १ करोड ४२ लाख असुल हुन बाँकी रहेको बैंकका शाखा प्रबन्धक यामबहादुर श्रेष्ठले बताए । उनीहरूले फुङलिङ नगरपालिका–७ र ८ नम्बर वडाको जग्गा देखाएर ऋण लिएका थिए ।

भीरपाखालाई प्लटिङ देखाइएकाले यो जग्गाले धितो असुल हुन नसक्ने प्रबन्धक श्रेष्ठको भनाइ छ । ‘उनीहरूले प्रत्येक घडेरीबाट ३ देखि १० लाखसम्म ऋण लिएका छन्’, उनले भने, ‘पहिरोसहितको पाखो जमिनले असुल गर्न सक्दैन ।’

मालपोत कार्यालयबाट रजिस्टे«सन पासपछि जग्गा किर्ते गरेको खुलेको छ । मालपोतमा २५ हजार रुपैयाँमा रजिस्टे«सन गरेको जग्गा बैंकमा बुझाएको लिखत धनीपुर्जामा भने ५ लाख २५ हजारका छन् । बैंकमा बुझाइएको लिखतमा अगाडि र बीचमा अंक थपेर किर्ते गरेको पाइएको डीएसपी बस्नेतले बताए । ‘मालपोतमा २५ हजारमा रजिस्ट्रेसन गरेको ६ वटा जग्गामा अगाडि अंक थपेर बैंकमा बुझाइएको रहेछ’, उनले भने, ‘२५ हजारको जग्गालाई ५ लाख २५ हजार बनाइएको छ ।’

२० हजारमा लिखत पास गरेको जग्गामा अगाडि अंक थपेर १० लाख २० हजार बनाइएको छ । मालपोतमा रहेको लिखतमा भने किर्ते नगरिएको जनाइएको छ । यस्तो किर्ते र बैंकिङ कसुर गर्नेमा १७ महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त महिला पनि पक्राउ परेकी छन् । तर, उनले बैंकबाट आफ्नो नाममा ऋण लिएकी छैनन्, पतिका नाममा लिएको जनाइएको छ ।

यी सबै कारोबार तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद खतिवडाले गरेको बैंकले जनाएको छ । शाखा प्रबन्धकलाई १० लाखसम्मको ऋण स्वीकृत गर्ने अधिकार हुन्छ । खतिवडालाई गत माघदेखि नै निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रीय कार्यालयका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । पौडेलका अनुसार २०७२ असार २७ देखि २०७३ साल कात्तिक ३० गतेसम्म यसरी कारोबार भएको हो । खतिवडा त्यही समय ताप्लेजुङ शाखाका प्रबन्धक थिए । उनले लगानीका लागि स्वीकार गर्न नसकिने अवस्थाको धितो लिएर ऋण लगानी गरेको पाइएको पौडेलको भनाइ छ । उनका अनुसार अन्य केही कर्मचारी पनि अनुसन्धानको दायरामा छन् । यो मुद्दा केन्द्रले नै हेरिरहेको बैंक शाखाले जनाएको छ । बैंकका कर्मचारी र कसुरको आरोप लागेकाहरूको मिलेमतोमा किर्ते भएको हुन सक्ने प्रहरी अनुमान छ ।

अभियुक्तमध्ये केहीले बैंकको ऋण खाने प्रयोजनका लागि वन र भीरपाखा भएको जग्गा खरिद गरेर प्लटिङ गरी अरूलाई बिक्री गरेको र प्लटिङको जग्गा खरिद गर्नेलाई जग्गा बिक्रेताकै सहयोगमा बैंकबाट ऋण दिलाएर बैंकिङ कसुर गरेको दाबी प्रवक्ता पौडेलले गरे । ऋण खाएर नतिर्ने समूहमा २९ जना रहेको जनाइएको छ । नौ जनाले किर्ते नगरेकाले ऋण तिरे उन्मुक्ति पाउनेछन् । तर, केही तिरिसकेका पनि किर्ते मुद्दामा तानिएका छन् । बैंकिङ कसुर सजाय ऐन २०६४ अनुसार बैंकलाई झुक्याएर कुनै कारोबार गर्नु हु“दैन, गरेका खण्डमा कैद र बिगो भराई असुल गरिन्छ । १० लाख सम्मलाई एक वर्षसम्म कैद र बिगो भराउने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.