लगानी बोर्ड र पुर्ननिर्माण प्राधिकरण खारेज गर्न प्रस्ताव
काठमाडौं : सांसद प्रेम सुवालले लगानी बोर्ड र राष्ट्रिय योजना आयोगको औचित्य नभएको भन्दै खारेजीको प्रस्ताव गरेका छन्। प्रतिनिधिसभा बैठकमा बजेट खर्च कटौतीबारे प्रस्ताव राख्दै सुवालले लगानी बोर्र्डले नेपालको हितभन्दा पनि विदेशको हितमा काम गर्दै आएको बताए । ‘लगानी बोर्ड अहिलेलाई उपयुक्त छैन’ उनले भने।
त्यस्तै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले अपेक्षित काम गर्न नसकेको भन्दै खारेजीको प्रस्ताव गरिएको छ । अहिलेसम्म १० प्रतिशतले मात्र घर बनाएको भन्दै अझै आठ लाख भूकम्प पीडितहरुको कहिले घर बन्ने भन्नेबारे अन्योल रहेको भन्दै उक्त प्रधिकारण खारेज गर्नु उपयुक्त देखिएको उनले बताए।
राष्ट्रिय योजना आयोगको पनि कुनै औचित्य नभएको सांसद सुवालले बताए । मन्त्रीको खल्तीबाट योजना आउने गरेको र आयोगले कुनै नयाँ योजना ल्याउन नसकेको चर्चा गर्दै सुवालले आयोग नै खारेज गर्नुपर्ने बताए ।
राष्ट्रपति र उपराष्ट्रपति श्रीपेचबिनाको राजा जस्तो भएको सुवालको प्रतिक्रिया थियो । सवारीका क्रममा लाखौं मान्छेलाई अलपत्र पार्ने काम उचित नभएको भन्दै यसतर्फ राष्ट्रपति र उपराष्ट्रपति कार्यालयले गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको भनाई थियो । ‘यी कार्यालयले उल्लेखनीय काम गरेका मान्छेलाई भन्दा आफ्ना परिवारका मान्छेलाई सम्मान दिएर बदनामी भएका छन्’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !