बाबुछोरा १५ दिनदेखि बेपत्ता
धादिङ : उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका- ३ (साविकको सेर्तुङ गाविस वडा नं ६) बर्खाप टोलका बाबुछोरा १५ दिन अघिदेखि बेपत्ता भएपछि परिवारमा चिन्ता छाएको छ। गाउँभन्दा ६ घण्टा माथिको घोच्ची लेकमा रहेको गोठमा गाईवस्तु स्याहार सुसार गर्नका लागि गएका थार लामा तामाङ र उनका ९ वर्षीय छोरा आकाश तामाङ १५ दिनअघिदेखि परिवारको सम्पर्कमा आएका छैनन्।
श्रीमान र छोरा बेपत्ता भएपछि श्रीमती तर्चिमाया तामाङ विक्षिप्त बनेकी छिन्। उनीहरुको खोजीको लागि सेर्तुङस्थित प्रहरी चौकीमा र वडा कार्यालयमा खबर गरिएको तर्चिमायालाई उदृत गर्दै बेपत्ता भएका तामाङका आफन्त एवं गाउँपालिका कर्मचारी डेभिड घलेले जानकारी दिए। घरको मुली नै हराएपछि तामाङ परिवारमा समस्यामा परेको छ।
४/५ दिनसम्म घर नफर्किएपछि उनको खोजिका लागि गाउँले गाईगोठसम्म पुगेर फर्किए पनि फेला नपरेको घलेले बताए। टेलिफोनमा कुराकानी गर्दे घलेले भने, 'बेपत्ता भएको १५ दिन भइसक्दा समेत घर नफर्किएपछि गाउँले २० जनाको टोली तामाङ बाबुछोराको खोजिका लागि गएका छन्।'
रुवीभ्याली गाउँपालिकामा पर्ने साविकको सेर्तुङ गाउँ विकास समितिमा अहिलेसम्म मोटरबाटो पुगेको छैन। बर्खामासमा बाटो बनेको ठाउँसम्म पनि गाडी बन्द हुँदा सेर्तुङ पुग्नका लागि सदरमुकाम धादिङवेशीबाट ३ दिन पैदल यात्रा गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस !