सरकारमाथि सांसद शाहीको टिप्पणी- राष्ट्रहितमा मौन, प्रचारमा व्यस्त
काठमाडौं : नेकपा सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिबारे सरकारले संसद्मा स्पष्ट धारणा प्रस्तुत गर्नुपर्ने माग गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय भएकाले सरकारले यसबारे मौन बस्न नहुने बताए।
उनले सरकारको आधिकारिक धारणा संसद्मा प्रस्तुत नभएसम्म प्रतिपक्षको तर्फबाट विरोध जारी रहने चेतावनी समेत दिए। शाहीले राष्ट्रहित र सार्वभौमिकतामाथि असर पर्ने विषयमा सरकारले समयमै आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए। उनले भने,'राष्ट्रहित र सार्वभौमिकतामाथि जोडिएका विषयमा सरकार मौन बस्नु हुँदैन। यसका लागि सरकारले बेलैमा निर्णय लिनुपर्छ।'
उनले वर्तमान सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाउँदै यस्ता कार्यले देशको हित नगर्ने बताए। 'यस्ता गतिविधिले देश बन्दैन,बरु बर्बादीको दिशातर्फ लैजान्छ। त्यसैले बेलैमा सचेत हुन आवश्यक छ,'उनले भने।
सांसद शाहीले प्रतिपक्षले उठाएका विषयलाई सरकारद्वारा दुश्मनीका रूपमा लिने र आलोचना सहन नसक्ने प्रवृत्ति देखिएको टिप्पणी गरे। उनले सरकारको मुख्य जिम्मेवारी प्रतिपक्षसँग प्रतिरोध गर्नु नभई जनताका समस्याको समाधान गर्नु रहेको उल्लेख गर्दै कामबाटै जवाफ दिनुपर्ने बताए।
सरकारको कार्यशैली अपरिपक्व र काँचो रहेको आरोप लगाउँदै उनले यसले जनतामा आशा होइन,सरकारप्रति अविश्वास बढ्दै गएको दावी गरे।
प्रतिक्रिया दिनुहोस !