आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न,४ सय १५ जना दीक्षित
काठमाडौं : बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्ध प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। असार २६ गते आयोजित समारोहमा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अभिभावक तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो। काठमाडौंस्थित याक एन्ड यति होटलमा आयोजित समारोहमा व्यवसाय व्यवस्थापन स्नातक,होट व्यवस्थापन स्नातक,सूचना प्रविधि स्नातक र व्यवसाय प्रशासन स्नातकोत्तर उत्तीर्ण गरेका ४ सय १५ जना दीक्षित भएका छन्।
समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सन्डरल्याण्ड विश्वविद्यालयले विशेष सम्मान प्रदान गरेको थियो। उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरूलाई आई एसएमटी समूहअन्तर्गत सञ्चालित क्याम्पसहरूमा स्नातकोत्तर तह अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति समेत प्रदान गरिएको कलेजले जनाएको छ।
आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गर्दै व्यवसाय व्यवस्थापन स्नातक,होटल व्यवस्थापन स्नातक,सूचना प्रविधि स्नातक,साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक,व्यवसाय प्रशासन स्नातकोत्तर र कम्युटिङ स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !