पप्पुलाई ठेकदार सांसदको साथ
काठमाडौं : संसद्को विकास तथा प्रविधि समितिले नजिकिँदो चाडबाडका सन्दर्भमा यातायात व्यवस्थापन सम्बन्धमा भइरहेका कार्य र समस्याका विषयमा छलफल गर्न बुधबार बैठक गरेको थियो। बैठक सुरु हुनासाथ संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद रौनियार (पप्पु कन्स्ट्रक्सनका सञ्चालक) बैठकका एजेन्डाबाहिर गएर गर्जन थाले। उनको उद्देश्य थियो पप्पुलाई बचाउने।
विशेष समय लिएर बोल्दै उनले नामै लिएर केही सांसदले किटान गरेर आफू बिरुद्ध अभिव्यक्ति दिएको भन्दै आपित्त जनाए। उनले भने, ‘कुनै कम्पनी र त्यसले गरेका काम कारबाहीका सम्बन्धमा कुरा उठाउनु सामान्य हो। त्यसमा मेरो पनि आपत्ति हुन सक्दैन। तर कुनै एउटा खास पार्टीको माननीयले यो समितिमा हरिनारायण रौनियार सदस्य हुनु हुँदैन भन्नु अनुचित हो।’
विकास निर्माणमा भएका ढिलासुस्तीका सन्दर्भमा समितिका सदस्यको अभिव्यक्ति भने जायज भएको उनले बताए। ‘कानुनमा जे लेखिएको छ, त्यही अनुसार हुन्छ। कानुन हामीले नै बनाउने हो’, उनले भने, ‘अहिले मौजुदा कानुन छ, त्यसलाई नहेरी एक जना माननीयले कुरा उठाउँदैमा हुन्न। पहिले हामीले कानुन संशोधन गर्नुपर्छ। तब मात्रै कानुनअनुसार बोल्ने कुरा हुन्छ। तर विगत केही दिनदेखि संसद्देखि सडक र समितिसम्म निर्माण व्यवसायी मात्रै दोषी हुन भन्ने आरोप लागिरहेको छ।’
ढिलो काम हुनुमा विगतका सरकार र सांसद नै ९० प्रतिशत दोषी भएको उनको आरोप छ। उनले भने, ‘१० लाख रुपैयाँ बजेट राखेर ५० करोडको ठेक्का लगाउने कानुन बनाउने तिनै पुराना माननीय हुन्। अनि राज्यमाथि दायित्व बोकाउने विगतका सरकारलाई केही भन्नु नपर्ने ? ’विगतको सरकारले ठेक्का लगाएका १५ सय पुल निर्माणाधीन छन्। नौ सय पुल स्थानीय तहमा निर्माणाधीन छन् भने तीन सय राजमार्गमा र तीन सय राजमार्गमा निर्माणाधीन अवस्थामा छन्। अधिकांश पुल ठेकेदारका लापर्बाहीका कारण अलपत्र छन्। तर, रौनियार भने सरकारले बजेट नदिएकै कारण समयमा निर्माण सम्पन्न हुन नसकेको दाबी गर्छन्।
‘तर रातो किताबमा पुलका लागि तीन अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको पाइन्न’, उनी भन्छन्, ‘यसपालिमा पनि दुई अर्ब ८६ करोड मात्रै पुलका लागि विनियोजन गरिएको छ। अनि निर्माण व्यवसायीले काम गरेन भनेर गाली मात्रै गरेर हुन्न।’
उनलाई समितिका दुई जना सांसद बहादुरसिंह लामा र जिपछिरिङ लामाले पनि साथ दिएका थिए। उनीहरू पनि ठेकेदार सांसद नै हुन्। सांसद बहादुरसिंह लामाले रौनियारले पप्पु कन्स्ट्रक्सनको बचाउचमा अभिव्यक्ति दिन पाउनुपर्ने धारणा राखे। यस्तै अर्का सांसद जिपछिरिङ लामाले ठेकापट्टाको विषयमा बोल्न सभापतिसँग समय माग गरेका थिए। तर, त्यस विषयमा बोल्न उनलाई दिइएन।
बुधबारको समितिको बैंठकको एजेन्डा छुट्टै भएको भन्दै लामालाई समितिका सभापति कल्याणी खड्काले रोकेकी थिइन्। मंगलबारको बैठकमा पनि कतिपय सांसदहरूले पप्पु कन्स्ट्रक्सनलाई कारबाही गरिनुपर्नेमा राष्ट्र बैंकको भवन बनाउन जिम्मा दिएको भन्दै आपत्ती जनाएका थिए।
सांसद दुर्गा पौडेलले विकास निर्माणका काम रोक्ने ठेकेदार विकास समितिमा किन भन्ने प्रश्न समेत गरिन्। यस्तै टोपबहादुर रायमाझीले त्यस्ता कम्पनीलाई कालो सूचीमा राख्न माग गरेका थिए। समितिको बैठकमा अन्य सांसदले दसैंको अग्रिम टिकट, सडकको अवस्था, लामो दुरुमा दुई चालक, ट्राफिक लाइटलगायत विषय धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस !