‘पावर हब’ बन्दै गोरखाको धार्चे

एउटै पालिकामा ७८१ मेगावाटका १४ आयोजना

‘पावर हब’ बन्दै गोरखाको धार्चे
धार्चे–५ रेसेखोलामा निर्माणाधीन माछाखोला जलविद्युत् आयोजनास्थल । तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : गोरखाको एउटै गाउँपालिकामा ७ सय ८१ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छ। उत्तरी गोरखाको धार्चे गाउँपालिकाको विभिन्न १४ ठाउँमा झन्डै ८ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

अध्यक्ष गुरुङका अनुसार कतिपय आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने कतिपयको काम सुरु भएको छ। कतिपयको इआईए, पीपीएलगायतका तयारी पूरा भएका छन्।

सबैभन्दा ठूलो ३ सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको काम भइरहेको छ। टाइम इनर्जी हाइड्रोपावर कम्पनीले चुमनुब्री ३ को सल्लेरीबाट बाँध बाँधेर धार्चे ३ को तातोपानीमा पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गर्नेछ। आयोजनाको निर्माणस्थल सल्लेरीका बासिन्दाहरू मुआव्जा पाएर अहिले धमाधम स्थानान्तरण हुँदैछन्। आयोजनाको अन्य काम पनि भइरहेको छ।

त्यस्तै १०३.४ मेगावाट क्षमताको बुढीगण्डकी क जलविद्युत् आयोजनाको पनि काम सुरु भएको छ। नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रालिले बुढीगण्डकी ‘क’ आयोजनाको निर्माण आरम्भ गरेको हो। धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर लामो सुरुङबाट पानी ल्याइ माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ। सो आयोजनाबाट उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर लामो ट्रान्समिसन लाइन हुँदै बुढीगण्डकी ‘ख’ मा जोडिने इञ्जिनियर दुर्गेश मगरले बताए।

धार्चेमै अर्को २ सय २६ मेगावाट क्षमताको बुढीगण्डकी ‘ख’ पनि निर्माणको चरणमा छ। नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रालिले सञ्चालन गर्ने सो आयोजनाको बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ। त्यहाँबाट ९.५ किलोमिटर लामो सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ। रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए।

यारु हाइड्रो पावर प्रालिले ३०.५९ मेगावाटको यारु खोला आंशिक जलाशय जलविद्युत् आयोजनाको काम अघि बढाउनका लागि विद्युत् विकास विभागबाट अनुमति पाएको छ। २०८४ सालभित्र सम्पन्न हुनेगरी कम्पनीले धार्चे गाउँपालिका १ मा आयोजना सञ्चालन गर्न लागेको हो। सो आयोजनाका लागि अहिले कम्पनीले सडकबाट आयोजनास्थलसम्म पुग्न बुढीगण्डकीमाथि बेलिब्रिज बनाउने काम गरिरहेको छ।

२८.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजना निर्माणका लागि पनि तयारी भइरहेको छ। दोभानखोला हाइड्रोपावर प्रालिले ५ अर्ब रुपैयाँ लागतमा सो आयोजना बनाउन लागेको संस्थापक वीरबहादुर घलेले जानकारी दिए। सो आयोजनाका लागि पनि अहिले बुढीगण्डकीमाथि बेलिब्रिज निर्माण गरिरहेको छ।

त्यस्तै, १३ मेगावाट क्षमताको माथिल्लो यारुखोला जलविद्युत् आयोजनाका लागि लाइसेन्स प्राप्त भएको छ। सो आयोजना धार्चे १ मा सञ्चालनका लागि अनुमति लिएको हो।

७ मेगावाटको रुञ्चेतखोला जलविद्युत् आयोजनाका लागि पनि देवेश पावर प्रालिले अनुमति प्राप्त गरेको संस्थापक वीरबहादुर घलेले जानकारी दिए।

१० मेगावाट क्षमताको निम्रुङखोला जलविद्युत् आयोजनाको पनि धमाधम स्थलगत अध्ययन भइरहेको छ। सोही खोलामा ५ मेगावाट क्षमताको माथिल्लो निमु्रङखोला जलविद्युत् आयोजनाका लागि पनि काम सुरु भएको छ। धार्चे–५ रेसेखोलामा वाटर इनर्जी प्रालिले १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत आयोजनाको काम गरिरहेको छ। ३ अर्ब रुपैयाँ लागत लाग्ने सो आयोजनाको निर्माण कार्य सुरु भएको छ।

सो आयोजनाको अहिलेसम्म करिब ७० मिटर लामो सुरुङ खन्ने काम भइरहेको छ। अबको ३० महिनाभित्र आयोजना निर्माण सम्पन्न गरिसक्ने आयोजनाका संस्थापक पुष्पराज आचार्यले जानकारी दिए। सोही खोलामा विकास हाइड्रोले ४.५ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ। १ अर्ब ११ करोड रुपैयाँ लागतमा विगत दुईबर्षअघिदेखि उत्पादन सुरु गरेको हो।
त्यस्तै बुढीगण्डकी जलविद्युत् कम्पनीले धार्चे ५ माछाखोलामा ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत् आयोजना सञ्चालन गर्न लागेको छ। यसअघि ४.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिसकेका सो कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरे र नेपाल विद्युत् प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालय पीपीए भएको कम्पनीले जनाएको छ।

त्यस्तै माछाखोलामा नै ९ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजना र ४ मेगावाटको तल्लो माछाखोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति पाइसकेका गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

त्यस्तै धार्चे गाउँपालिका ६ काशिगाउँ र आरुघाट गाउँपालिका १ को सीमानामा दुईवटा रिचेत खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन्। ५ मेगावाट र २ मेगावाट क्षमताका दुई आयोजना हाल सञ्चालनमा छन्। रिचेतखोला जलविद्युत् कम्पनी प्रालिले बिगत ५ वर्षअघिदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.