डोल्पामा जिप दुर्घटना : मृतकका परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति !
दुनै,डोल्पा : हिमाली जिल्ला डोल्पामा सोमाबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले शव बुझ्ने भएका छन् । प्रमुख जिल्ला आधिकारीको कार्यकक्षमा मृतकका आफन्त, जिप मालिक र जिल्ला प्रशासनको त्रिपक्षीय बैठकले मृतकका आफन्तलाई प्रतिब्यक्ति ५ लाख क्षतिपूर्ति दिने सहमति जुटाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
चालकको लापरवाहीले जिप दुर्घटना भएकाले समिति गठन गरि तत्काल घटनाको छानबिन गरिनुपर्ने, रुडपर्मिट नभएकोले आजैबाट जिप सञ्चालन बन्द गरिनु पर्ने र मृतकका परिवारलाई उचित राहातको ब्यवस्था गरिनुपर्ने भन्दै मृतकका आफन्तले तीन बुँदे माग जिल्ला प्रशासनमा पेश गरेका थिए ।
त्यही अनुरुप मृतक ११ जनाका परिवारले लाख क्षतिपूर्ति पाउने भएका हुन् । साँझ ६ बजे मात्रै सहमति भएपछि बिहान पोष्टमार्टम गरेर आफन्तले शब बुझ्ने भएको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए । बेपत्ता एकजनाको खोजी जारी राखिने प्रतिवद्धता पनि प्रशासनले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार रातो नम्बर प्लेटका गाडिले रुडपर्मिट नलिइ रिजर्भमा चलाउन मिल्ने भएकाले डोल्पामा सञ्चालन भएको बताए । बुधबारै मृतकका आफन्तले शब बुझेपछि किरिया खर्च ५० हजार दिइने बताउँदै उनले बाँकी रकम एकमुष्ट जिप धनीले दिने सहमति भएको उल्लेख गरे ।
एकजनाको शव खोज्न गोताखोर
सोमाबार भएको जिप दुर्घटनापछि भेरीमा बेपत्ता त्रिपूरा सुन्दरी नगरपालिका–३ की अमिना बुढा मगरको खोजीका लागि गोताखोर ल्याइने भएको छ । आज बिहानैदेखि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी तीब्र पारे पनि उनको शब फेला नपरेको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए । डिएसपी बिष्टका अनुसार काठमाडौबाट गोताखोर ल्याएर खोजी गरिने छ ।
सोमबार भे १ ज १६११ नम्बरको जिप दुर्घटनामा एकै नगरपालिकाका १० जनाको ज्यान गएको छ । जसमा ७ जना पुरुष र ३ महिला छन् । एकजना महिला अमिना विष्ट अझै पनि बेपत्ता छिन् ।