छाउपडी पीडा

छाउपडी पीडा

महिलामा हुने मासिक श्राव सृष्टिको आधार हो । हरेक महिना महिलाको पाठेघरमा डिम्ब उत्पादन हुन्छ । यो नियमित जीववैज्ञानिक प्रक्रियाले सृष्टिको चक्र सञ्चालन गरिरहेको हुन्छ । रजस्वलाबिना सृष्टिको निरन्तरताको परिकल्पना पनि सम्भव हुँदैन । त्यसैले रजस्वला पूज्य हुनुपर्ने हो । जब पूज्य प्रक्रिया अवहेलित हुन्छ, तब मानवजातिलाई नै लज्जित पार्ने घटना हुन्छन् । छाउपडी प्रथा त्यस्तै लज्जाको कारक हो ।

 विडम्बना यो लज्जास्पद र अवैज्ञानिक पद्धतिलाई संस्कारका रूपमा कायम राखिरहँदा कैयौं महिला अनाहकमा जीवन गुमाउन बाध्य छन् । सोमबार राति बाजुराको बूढीनन्दा गाउँपालिका-९,भोगीचौरकी अम्बा बोहोरा र उनका दुई कलिला छोराको छाउघरमा मृत्यु भएको घटना त्यही अवैज्ञानिक कुसंस्कारको अर्को परिणाम हो । रजस्वला भएपछि छाउगोठमा बस्न बाध्य बोहोरासँग ओढ्न-ओछ्याउन पर्याप्त लुगाफाटो नभएकैले हुनुपर्छ, उनले सँगै सुत्दा न्यानो हुन्छ भनेर दुई छोरालाई सँगै लगिन् ।

 अत्यधिक चिसो भएपछि उनले आगो सल्काइन् । पर्याप्त मात्रामा हावा खेल्न नपाउने, देख्दै सुरुङ जस्तो लाग्ने झ्याल त के चर पनि नभएको छाउगोठमा आगोको धुवाँ विषाक्त हावा सावित भयो । त्यही धुवाँले निसास्सिएर उनी र उनका दुई छोराको निधन भयो । भन्नेले भन्लान्, आगोका कारण उनीहरूको ज्यान गयो । तर सपाट यथार्थ हो, छाउगोठजस्तो कुपरम्पराका कारण उनीहरूको निधन भएको हो । यसरी छाउगोठमै निधन हुने अम्बा बोहोरा पहिलो पात्र होइनन् । 

उनी त्यस्तो असामयिक मृत्युको लामो सूचीमा थपिएको एक नाम हुन् । यसभन्दा पहिला पनि छाउगोठमा बस्दा विभिन्न कारणले मृत्यु हुने किशोरी र महिलाको सूची लामो छ । छाउगोठ हाम्रो समाजको पछौटेपन र रूढीगत मानिसकताको प्रतीक हो । जबसम्म देशको कुनै पनि भूभागमा छाउगोठ रहन्छ, तबसम्म विकास र प्रगतिको प्रतिवेदन झुटको पुलिन्दा बन्नेछ । सृष्टिको प्राकृतिक चक्र सञ्चालन हुँदा मृत्युवरण गर्न पुगेका तमाम महिलाको आँसुले लतपत हाम्रा विकास प्रतिवेदन लज्जाका स्रोत बन्नेछन् ।

 विज्ञान र प्रविधिको एक्काइसौं शताब्दी मिथक बन्नेछ । मध्ययुगीन मान्यताको भारी बोकेको युगले कहिल्यै पनि विकासको बाटो समात्नेछैन । छाउपडीविरुद्ध न्यायालयदेखि सरकारसम्मले अनेकन निर्णय गरेका छन् । राज्यले यसलाई निषिद्ध बनाएको छ । तर पनि यो कुपरम्परा प्रचलनमा छ । यस्तो अवैज्ञानिक र घृणित प्रथा आखिर किन विद्यमान छ ? नियन्त्रण गर्न ढिला भइसकेको छ । 
कुनै पनि संस्कार र मान्यता एउटा घोषणा र केही कार्यक्रमको भरमा समाजबाट हट्दैनन् । त्यसका लागि सत्ता-शक्तिको प्रयोग र सामाजिक तदारुकता आवश्यक हुन्छ । यस्ता मान्यता समाजमा निश्चित शक्तिको आडमा स्थापित भएका हुन्छन् । समयसँगै ती प्रथाले जरो गाडेर बस्छन् । अन्धविश्वास र भय जोडेर ती परम्परा बलियो पारिएको हुन्छ । त्यसैले जबसम्म यस्ता कुरीतिका जगमा भएका मान्यतालाई वैज्ञानिक मान्यताले परास्त गरिँदैन, तबसम्म छाउपडी रहिरहन्छ - विभिन्न रूपमा ।

 सुदूरपश्चिमका ग्रामीण इलाकामा रहने छाउगोठ र काठमाडौं जस्ता ‘अत्याधुनिक’ सहरमा पनि अस्तित्वमा रहेको ‘नछुने’, ‘पर सर्ने’, ‘बार्ने’ प्रवृत्तिको आधार चिन्तन एउटै होइन र ? छाउगोठलाई जरैबाट उखेलेर फाल्न सरकारले सत्ता-शक्तिको प्रयोग गर्नुपर्छ । स्थानीय सरकारको अग्रसरतामा त्यस्ता छाउगोठ भत्काइनुपर्छ ।

 त्यस्तो अभ्यासलाई प्रतिबन्ध लगाइनुपर्छ । त्यसका लागि संघीय सरकारले अग्रसरता लिनुपर्छ । नबिर्सौं, कुनै बेला हाम्रो समाजमा सति जस्तो कुप्रथा पनि थियो । राज्यशक्तिको प्रयोग र सामाजिक जागरणका कारण त्यो प्रथा उन्मूलन भयो । देखिने छाउगोठ उन्मूलन गर्न राज्य नै लाग्नुपर्छ । तर मान्यताको तहमा रहेका छाउपडी प्रथा हटाउन रजस्वलासम्बन्धी धारणा हटाइनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.