छाउपडी पीडा
महिलामा हुने मासिक श्राव सृष्टिको आधार हो । हरेक महिना महिलाको पाठेघरमा डिम्ब उत्पादन हुन्छ । यो नियमित जीववैज्ञानिक प्रक्रियाले सृष्टिको चक्र सञ्चालन गरिरहेको हुन्छ । रजस्वलाबिना सृष्टिको निरन्तरताको परिकल्पना पनि सम्भव हुँदैन । त्यसैले रजस्वला पूज्य हुनुपर्ने हो । जब पूज्य प्रक्रिया अवहेलित हुन्छ, तब मानवजातिलाई नै लज्जित पार्ने घटना हुन्छन् । छाउपडी प्रथा त्यस्तै लज्जाको कारक हो ।
विडम्बना यो लज्जास्पद र अवैज्ञानिक पद्धतिलाई संस्कारका रूपमा कायम राखिरहँदा कैयौं महिला अनाहकमा जीवन गुमाउन बाध्य छन् । सोमबार राति बाजुराको बूढीनन्दा गाउँपालिका-९,भोगीचौरकी अम्बा बोहोरा र उनका दुई कलिला छोराको छाउघरमा मृत्यु भएको घटना त्यही अवैज्ञानिक कुसंस्कारको अर्को परिणाम हो । रजस्वला भएपछि छाउगोठमा बस्न बाध्य बोहोरासँग ओढ्न-ओछ्याउन पर्याप्त लुगाफाटो नभएकैले हुनुपर्छ, उनले सँगै सुत्दा न्यानो हुन्छ भनेर दुई छोरालाई सँगै लगिन् ।
अत्यधिक चिसो भएपछि उनले आगो सल्काइन् । पर्याप्त मात्रामा हावा खेल्न नपाउने, देख्दै सुरुङ जस्तो लाग्ने झ्याल त के चर पनि नभएको छाउगोठमा आगोको धुवाँ विषाक्त हावा सावित भयो । त्यही धुवाँले निसास्सिएर उनी र उनका दुई छोराको निधन भयो । भन्नेले भन्लान्, आगोका कारण उनीहरूको ज्यान गयो । तर सपाट यथार्थ हो, छाउगोठजस्तो कुपरम्पराका कारण उनीहरूको निधन भएको हो । यसरी छाउगोठमै निधन हुने अम्बा बोहोरा पहिलो पात्र होइनन् ।
उनी त्यस्तो असामयिक मृत्युको लामो सूचीमा थपिएको एक नाम हुन् । यसभन्दा पहिला पनि छाउगोठमा बस्दा विभिन्न कारणले मृत्यु हुने किशोरी र महिलाको सूची लामो छ । छाउगोठ हाम्रो समाजको पछौटेपन र रूढीगत मानिसकताको प्रतीक हो । जबसम्म देशको कुनै पनि भूभागमा छाउगोठ रहन्छ, तबसम्म विकास र प्रगतिको प्रतिवेदन झुटको पुलिन्दा बन्नेछ । सृष्टिको प्राकृतिक चक्र सञ्चालन हुँदा मृत्युवरण गर्न पुगेका तमाम महिलाको आँसुले लतपत हाम्रा विकास प्रतिवेदन लज्जाका स्रोत बन्नेछन् ।
विज्ञान र प्रविधिको एक्काइसौं शताब्दी मिथक बन्नेछ । मध्ययुगीन मान्यताको भारी बोकेको युगले कहिल्यै पनि विकासको बाटो समात्नेछैन । छाउपडीविरुद्ध न्यायालयदेखि सरकारसम्मले अनेकन निर्णय गरेका छन् । राज्यले यसलाई निषिद्ध बनाएको छ । तर पनि यो कुपरम्परा प्रचलनमा छ । यस्तो अवैज्ञानिक र घृणित प्रथा आखिर किन विद्यमान छ ? नियन्त्रण गर्न ढिला भइसकेको छ ।
कुनै पनि संस्कार र मान्यता एउटा घोषणा र केही कार्यक्रमको भरमा समाजबाट हट्दैनन् । त्यसका लागि सत्ता-शक्तिको प्रयोग र सामाजिक तदारुकता आवश्यक हुन्छ । यस्ता मान्यता समाजमा निश्चित शक्तिको आडमा स्थापित भएका हुन्छन् । समयसँगै ती प्रथाले जरो गाडेर बस्छन् । अन्धविश्वास र भय जोडेर ती परम्परा बलियो पारिएको हुन्छ । त्यसैले जबसम्म यस्ता कुरीतिका जगमा भएका मान्यतालाई वैज्ञानिक मान्यताले परास्त गरिँदैन, तबसम्म छाउपडी रहिरहन्छ - विभिन्न रूपमा ।
सुदूरपश्चिमका ग्रामीण इलाकामा रहने छाउगोठ र काठमाडौं जस्ता ‘अत्याधुनिक’ सहरमा पनि अस्तित्वमा रहेको ‘नछुने’, ‘पर सर्ने’, ‘बार्ने’ प्रवृत्तिको आधार चिन्तन एउटै होइन र ? छाउगोठलाई जरैबाट उखेलेर फाल्न सरकारले सत्ता-शक्तिको प्रयोग गर्नुपर्छ । स्थानीय सरकारको अग्रसरतामा त्यस्ता छाउगोठ भत्काइनुपर्छ ।
त्यस्तो अभ्यासलाई प्रतिबन्ध लगाइनुपर्छ । त्यसका लागि संघीय सरकारले अग्रसरता लिनुपर्छ । नबिर्सौं, कुनै बेला हाम्रो समाजमा सति जस्तो कुप्रथा पनि थियो । राज्यशक्तिको प्रयोग र सामाजिक जागरणका कारण त्यो प्रथा उन्मूलन भयो । देखिने छाउगोठ उन्मूलन गर्न राज्य नै लाग्नुपर्छ । तर मान्यताको तहमा रहेका छाउपडी प्रथा हटाउन रजस्वलासम्बन्धी धारणा हटाइनुपर्छ ।
प्रतिक्रिया दिनुहोस !