डा.केसीको अनसनमा सरकारले मजाक गर्यो : माथेमा
भद्रपुर : त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमाले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनलाई सरकारले मजाक बनाएको आरोप लगाएका छन्।
सरकारद्वारा गठित उच्च स्तरीय उक्त कार्यदलका संयोजक समेत रहेका माथेमाले अनशनरत डा. गोविन्द केसीलाई भेट्न इलाम जाने क्रममा झापाको भद्रपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको शैलीप्रति आक्रोश व्यक्त गरे।
उनले भने,‘एक पटक स्विकारिसकेको प्रतिवेदनलाई फेरी मजाक बनाइयो। क्वालिटिमा पनि यति धेरै चलखेल कसरी हुन सक्छ।’ माथेमाकै संयोजकत्वमा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न उच्चस्तरीय कार्यदल गठन गरिएको थियो। कार्यदलले २०७२ सालमा प्रतिवेदन समेत दिएको थियो।
डा. केसीसँग सर सल्लाह नै नगरी संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक पारित भएकोमा उनले आपत्ति जनाए। ‘के.सीसँग समेत सरसल्लाह नगरी चिकित्सा विधेयक यसै गरी पास हुन्छ भने यसले के कस्तो प्रतिक्रिया जन्माउँछ यो सरकारले जान्ने कुरा हो’, उनले भने।
नेपाल मेडिकल काउन्सिलबाट लिइने एमबीबीएस परीक्षामा ४५ देखि ५० प्रतिशत विद्यार्थी फेल हुने गरेको उनले बताए। सरकारप्रति आक्रोश व्यक्त गर्दै उनले प्रश्न गरे, ‘अझै यहि हविगत कायम गराउन दिने? प्रतिवेदन बनाउने मान्छे केवल केदार भक्त माथेमा हो? कस्तो समितिले बनाएको प्रतिवेदन हो त्यसलाई एक पटक फर्केर हेरे हुन्छ।’
प्रतिक्रिया दिनुहोस !