सुनसरी घटनाका विषयमा भ्रामक सूचनाबाट प्रभावित नहुन सरकारको अपील
काठमाडौं : सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका-२, कसनागाछीमा भएको घटनापछि सामाजिक सद्भाव र शान्ति कायम राख्न आग्रह गर्दै भ्रामक सूचना तथा उत्तेजनात्मक गतिविधिबाट प्रभावित नहुन अपील गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने तथा दोषीमाथि कडा कानुनी कारबाही गरिने सरकारको प्रतिबद्धता छ। सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजले लामो समयदेखि कायम राख्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई खलबल्याउने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।
वर्तमान परिस्थितिमा मुलुकभर शान्ति-सुव्यवस्था तथा सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ-संस्था, सञ्चारमाध्यम र आम नागरिकको सहयोग आवश्यक रहेको भन्दै सरकारले सबैसँग संयमता अपनाउन आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस !