सीके राउतको परिषद् बैठक: पार्टीको कार्यदिशाबारे छलफल हुँदै
सिरहा : आइतबारदेखि सिरहाको लहानमा जारी सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठकमा दोस्रोदिन आज (सोमबार) पार्टी बारे प्रस्तावमा छलफल हुँदैछ।
आइतबार बैठकमा सहभागी परिषद् सदस्यले राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिलाई सही र सकारात्मक भएको भन्दै स्वागत र समर्थन जनाएका छन्।आज पार्टीको प्रस्ताव हुँदैछ। पार्टीको रुपमा जाने विषय र आगामी कार्यदिशा के हुने भन्ने बारे छलफल हुने परिषद् सदस्य सुदिपराज कुशवाहाले जानकारी गराए।
'परिषद् बैठकमा पार्टी प्रस्ताव भएको विषयमा फेरि केन्द्रीय परिषदमा छलफल हुन्छ,' कुशवाहाले भने, 'केन्द्रीय परिषदबाट त्यो प्रस्ताव पारित भएपछि मात्रै लागु हुनेछ।'
दुईदिने बैठकमा जनमत संग्रहको विषयमा कुनै चर्चा नभएको उनले बताए। ११ बुँदे सहमतिमै छलफल भएको र जनमत संग्रहको बारेमा सहभागी सदस्यले आफ्नो धारणा राख्ने क्रममा कसैले प्रश्न नउठाएको उनको भनाई छ।
बैठकमा २२ जिल्लाका २ सय परिषद सदस्यहरु सहभागी छन्। सबैलाई नागरिकता लिएर आउन आग्रह गरेको थियो। बैठकमा प्रवेश गर्ने क्रममा नामावलीअनुसार नागरिकतामा नाम मिलाएर प्रवेश गराइएको थियो।
नामावलीमा नाम नहुने समर्थकलाई पनि प्रवेश गराइएको छैन्। सदस्य पहिचानका लागि नागरिकता अनिवार्य गरेको भनिएको छ तर, निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा सदस्यको नागरिकता नम्बर चाहिने भएकाले यस्तो गरेको हुनसक्ने बुझिएको छ।
बैठकमा प्रहरी र पत्रकारलाई प्रवेश निषेध गरिएको छ। सदस्यलाई मोबाइल पनि निषेध गरेको छ। बैठकमा आउने सदस्यलाई सीके राउतका कार्यकर्ताले चेकजाँच गरिरहेका छन्। सशस्त्र र नेपाल प्रहरीको टोली बाहिर सुरक्षा दिइरहेका छन्।
आज अबेर साँझ सम्म चल्ने बैठकमा सहभागीलाई हिजैदेखि बाहिर निस्किन दिएको छैन्। उनीहरुको लागि चिया, खाजा र खाना भित्रै व्यवस्था गरिएको छ। कार्यक्रमको सुरुवातमा मधेश गठबन्धनले आफैले तयार पारेको स्वागत गीत मैथिली भेषभुषामा सजिएका पञ्चकन्याले गाएका थिए।
गठनबन्धनका संयोजक राउतले राममनोहर यादवको तस्बिरमा अबिर र माल्यार्पण गरेका थिए। सरकारसँग सहमति हुनुभन्दा अघि गठबन्धनले प्रयोग गर्दै आइरहेको तुल, झण्डा र ब्यानर प्रयोग गरेका छैन्।
यस भन्दाअघि लहान आउँदा सीके राउतले मधेश आन्दोलनको क्रममा प्रथम सहिद भएका रमेश महतोको शालिकमा माल्यापर्ण गरेका थिए। तर, राउतको बैठकमा मधेश आन्दोलनका एउटा पनि सहिदको तस्बिर देखिएको छैन्।
प्रतिक्रिया दिनुहोस !