सात विवाद जसले सुष्मा स्वराजलाई चर्चामा ल्याइरह्‍यो

सात विवाद जसले सुष्मा स्वराजलाई चर्चामा ल्याइरह्‍यो

सलमान रावी-


सन् १९७७ मा २५ वर्षकै उमेरमा सुष्मा स्वराज हरियाणा सरकारमा मन्त्री भएकी थिइन्। सबैभन्दा सानो उमेरमा मन्त्री बन्नेदेखि लिएर भारतको विदेशमन्त्रीको जिम्मेवारीसम्म चार दशक लामो उनको राजनीतिक यात्रा विवादमुक्त भने थिएन।

संसदभित्र होओस् वा संसद बाहिर, उनका भाषणले मानिसहरूलाई आकर्षित गरिरहन्थ्यो। वक्तृत्वकला र हाजिरीजवाफमा पनि उनलाई उछिन्ने कोही थिएनन्।

कतिपय मानिस उनलाई अटल बिहारी बाजपेयीपछि भारतीय जनता पार्टी (भाजपा) भित्र सबैभन्दा उत्कृष्ट वक्ता ठान्दथे त कोही उनलाई इन्दिरा गान्धीपछि भारतकी सबैभन्दा सफल राजनेता मान्दथे।

तर यी सबै उपलब्धिहरूका बावजुद उनको राजनीतिक करिअर विवाद र भ्रष्टाचारका आरोपहरूबाट अछुतो भने थिएन। 

पहिलो विवाद : मोदीको विदेश यात्रा

आईपीएल अध्यक्ष मोदीसँग सुष्मा। फोटोः द हिन्दु


इन्डियन प्रिमियर लिग (आईपीएल) का प्रथम अध्यक्ष ललितकुमार मोदीमाथि आर्थिक अनियमितताको आरोप लागेको थियो। भारतको राजश्व विभागले आर्थिक अपराध कसुरमा उनीमाथि छानबिन अगाडि बढाएको थियो। यसैबीच खबर आयो कि विदेश मन्त्रालयले ललित मोदीलाई पोर्चुगल जाने अनुमति दियो।

विदेश मन्त्री भएका कारण यसको सिधा आरोप सुष्मा स्वराजमाथि लाग्यो। विदेश मन्त्रालयले स्पष्टीकरण दियो- यो मानवीय आधारमा दिइएको हो किनभने मोदी विरामी थिए।

तर मिडियाको एक हिस्सा र विपक्षी कांग्रेस पार्टी यो दाबी मान्न तयार भएनन्। कांग्रेसले यही विषयलाई मुद्दा बनाएर स्वराजको राजीनामासम्म माग्यो।

भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदी स्वराजको पक्षमा उभिए जसका रण उनलाई ठूलो आपत् परेन।

दोस्रो विवाद : पासपोर्ट

लखनऊको एक दम्पत्तिलाई पासपोर्ट दिएपछि सुष्मा फेरि विवादमा तानिइन्। ट्‍विटरमा ट्रोलहरू बनाएर सुष्मालाई उडाइयो। ट्रोलहरू यति धेरै भए कि कतिपय व्यक्ति त गालीगलौजमा पनि उत्रिए।

यो विवाद लखनऊको एक पासपोर्ट केन्द्रको हो जहाँ अन्तरधार्मिक विवाहपछि त्यहाँ खटिएका अधिकारीले आवेदनकर्तालाई पासपोर्ट प्राप्त गर्न का लागि धर्म परिवर्तन गर्नुपर्ने शर्त राखेका थिए।

सुष्मा स्वराजसामु जब यो उजुरी पुग्यो, तब उनले ती पासपोर्ट अधिकारीको सरुवा गरिदिइन्। तर आलोचकहरू खुसी भएनन्। सुष्मामाथि झन् सोसल मिडियामा कयौँ गालीगलोजको ओइरो लाग्यो।

घटनाका बेला आफू विदेशमा रहेकोले अनविज्ञ रहेको भन्दै सुष्माले आफूविरुद्ध गरिएका कतिपय ट्‍विट आफूलाई मन परेको लेखेकी थिइन्।

तेस्रो विवाद : रेड्डी दाजुभाइसँग निकटता

रेड्डी ब्रदरलाई सुष्माको आशिर्वाद। फोटोः जीन्युज


सुष्मामाथि कर्नाटकका राजनीतिज्ञसमेत रहेका उद्योगपति रेड्डी दाजुभाइसँग निकट सम्बन्ध राखेको आरोप पनि लाग्ने गरेको छ। सन् १९९९ मा कांग्रेसकी तत्कालीन अध्यक्ष सोनिया गान्धी कर्नाटकको बेल्लारीबाट लोकसभा चुनाव लडिरहेकी थिइन्। भाजपाले सोनियाका विरुद्ध सुष्मालाई उतारेको थियो।

कर्नाटकको बेल्लारीमा जन्मेहुर्केका तीन रेड्डी दाजुभाइलाई 'बेल्लारी ब्रदर' नामले चिनिन्थ्यो। त्यससमय उनीहरू व्यापारमा चम्किरहेका थिए। यही क्रममा उनीहरू सुष्माको सम्पर्कमा आए। पछि जब बीएस येदयुरप्पाको नेतृत्वमा कर्नाटकमा भाजपाको सरकार बन्यो तब जनार्धन रेड्डीलाई मन्त्री बनाइयो।

रेड्डी दाजुभाइको व्यापार तीब्र गतिमा बढ्न थाल्यो, उनीहरूलाई निर्माणका ठूलाठूला ठेक्का पनि मिल्न थाले। भनिन्छ कि सुष्मा स्वराजसँग निकटता भएकै कारण राजनीति र व्यापार दुबैमा रेड्डी ब्रदरको ठूलो उन्नयन भयो।

जब सीआईबीले अवैध उत्खनन आरोपमा सन् २०११ मा रेड्डी दाजुभाइलाई गिरफ्तार गर्‍यो तब सुष्मा स्वराजको नाम एकपटक फेरि चर्चामा आयो। यहाँसम्म कि यही विषयमा सुष्माले स्पष्टीकरण नै दिनुपर्‍यो।

त्‍यतिबेला सुष्माले भनेकी थिइन्- सत्य अगाडि आएपछिमात्रै ममाथि न्याय हुनेछ। रेड्डी दाजुभाइसँग मेरो कुनै लामो व्यापारिक सम्बन्ध छैन।

सुष्माले एकपटक रेड्डी दाजुभाइले आयोजना गरेको लक्ष्मी पूजामा सहभागी भएको भने स्वीकारेकी थिइन्।

चौथो विवाद : कपाल मुन्डनवाला बयान

सोनिया र सुष्मा। फोटोः लाइभमिन्ट


सोनिया गान्धीका बारेमा दिएको एक अभिव्यक्तिका कारण एकपटक उनको ठूलो आलोचना भयो।

कुरा सन् २००४ को हो। बाजपेयीको नेतृत्वमा भाजपा २००४ को लोकसभा निर्वाचनमा पराजित भएको थियो र यो पक्कापक्की थियो कि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नेवाला छ। अड्कालबाजी के थियो भने सोनिया गान्धी प्रधानमन्त्री बन्न सक्छिन्।  

सोनिया गान्धीको विदेशी मूललाई मुद्दा बनाएर सुष्मा स्वराजले त्यतिबेला दिएको अभिव्यक्ति विवादित बनेको थियो। सुष्माले भनेकी थिइन्‍- यदि सोनिया गान्धी प्रधानमन्त्री बनिन् भने म आफ्नो कपाल मुन्डन गर्छु र राजनीतिबाट सन्न्यास लिएर वैराग्य जीवन बिताउँछु।

प्रधानमन्त्री बन्न सोनियाले अस्वीकार गरिन् तर सुष्माको यो अभिव्यक्तिलाई लिएर लामो समय आलोचना भइरह्यो।

पाँचौ विवाद : कश्मीर

जम्मु कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती। फोटोः फर्स्टपोस्ट


जम्मु कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी प्रमुख महबूबा मुफ्तीसँग पनि उनको एकपटक भनाभन भएको थियो। सुष्माको अन्तिम ट्‍विट पनि कश्मीरसँगै जोडिएको थियो।

तर यो विवाद सन् २०११ को हो। सुष्माले अहमदाबादमा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको एक अनशनमा सहभागी हुँदै भनेकी थिइन् कि मोदीकी घोर राजनीतिक विरोधी महबूबा मुफ्तीले पनि मोदीका कामको प्रसंसा गर्छिन्।

सुष्माको दाबी थियो कि राष्ट्रिय एकता परिषद् बैठकमा महबूबाले मोदीको खुलेर प्रसंसा गरेकी थिइन्। सुष्माको यो दाबीको खण्डन गर्दै महबूबाले उक्त बैठकका कामकारबाही सार्वजनिक गर्न केन्द्र सरकारसँग माग गरिन्।  

छैठौँ विवाद : राजघाटको नाच

२०११ मै उनी एकपटक फेरि विवादमा घेरिइन् जब महात्मा गान्धीको समाधिमा एक विरोध प्रदर्शनका क्रममा नाच्दै गरेको भिडियो भाइरल भयो।

जब विपक्षीले उनको राजीनामा मागे तब उनले समर्थकहरूको मनोबल बढाउनका लागि देशभक्तिका गीतमा नाचेकी उनले प्रष्टीकरण दिइन्। एनडीटीभीको त्यतिबेलाको रिपोर्टः

सातौँ विवाद : भगवद् गीतामा

ओबामासँग भारतीय प्रधानमन्त्री मोदी। मोदीले उनलाई भगवद् गीता उपहार दिएका थिए। फोटोः टाइम


सुष्मालाई विवादले फेरि एकपटक घेर्‍यो जब उनले भगवद् गीतालाई 'राष्ट्रिय ग्रन्थ' का रुपमा मान्यता दिन माग गरिन्। यहाँ पनि उनी भारतीय राष्ट्रिय कांग्रेस र तृणमूल कांग्रेसको निशानामा परिन्।

भगवद् गीतालाई राष्ट्रिय ग्रन्थका रुपमा घोषणा गर्नुपर्ने माग खासमा विश्व हिन्दु परिषद्का तत्कालीन अध्यक्ष अशोक सिंघलले गरेका थिए। सुष्माले त केबल सिंघलको भनाई दोहोर्‍याएकीमात्र थिइन्।

विवाद तब सुरु भयो जब सुष्मा स्वराजले भनिन् कि भगवद् गीतालाई राष्ट्रिय ग्रन्थको दर्ता त्यतिबेला मिलिसकेको थियो जब प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामालाई भगवद् गीता उपहार दिएका थिए।

र, मंगलबार राति सुष्माले यी विवाद र प्रसंसाहरूलाई परै राखेर अन्तिम सास फेरेकी छन्। भारतले आफ्नी चर्चित नेतृको अन्तिम बिदाई गरिरहेको छ।

सुष्मालाई अन्तिम श्रद्धाञ्जलि दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। फोटोः पीएमओ इन्डिया


स्रोतः बीबीसी हिन्दी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.