कलिलैमा भारतमा बिहे

कलिलैमा भारतमा बिहे

नेपालगन्ज

–२५ माघ २०७५ मा नेपालगन्ज फुल्टेक्राका लक्ष्मी कुम्हारले १६ वर्षीया छोरी सपनाको बिहे तय गरे । निम्तो कार्ड छपाएर १०० वटा त बाँडे । बिहे आउन सात दिन बाँकी थियो । बालविवाहको हल्ला चल्यो । प्रहरीले बिहे रोक्यो । सीमावर्ती भारतीय गाउँ गंगापुरमा सुटुक्कै साइकलमा छोरी लगेर बिहे गरिदिए र भोलिपल्ट छोरीसँगै घर फर्के । उनले भने, ‘लगनकै दिन बिहे गर्न पाएर म धन्य भएँ । बूढीले छोरीज्वाइँलाई आशीर्वाद दिन नपाएको गुनासो गर्छे । गौनापछि छोरी आफ्नो घर जान्छे ।’

–फुल्टेक्राकै १६ वर्षीया अञ्जु ८ कक्षामा फेल भएर घरमै बसिरहेकी थिइन् । परिवारले गत ३ जेठमा भारतीय नागरिकसँग घरबाटै धुमधाम बिहे गराइदिए । ‘डेढ सय त बराती आएका थिए’, उनकी काकी सुष्मा मौर्यले भनिन्, ‘भोज खान पुलिस पनि आएका थिए, तर कसैले उमेर सोधेनन् । बिहे भयो ।’ दुई वर्षपछि गौना गरेर अञ्जुलाई घर पठाउने तयारी छ ।

–डुडुवा गाउँपालिका हल्वलडोलीकी १६ वर्षीया विपनाको भारतको बाबागन्जमा बिहे भयो । बिहेमा आमा मीनासहित आफन्त सरिक भए । विपनाका बाबाको पाँच वर्षअघि मृत्यु भएको थियो । चार वर्षको भाइ छ । सम्पत्तिका नाममा दुई कठ्ठा जग्गा । विपनालाई बिहे गर्न नेपालको कानुनले छेकबार लगायो । बिहेकी साक्षी उनकी दिदी (फुपूकी छोरी) रेखा खटिकले बिहेको रहस्य खोलिन्, ‘मजदुरी गरेर परिवारको खर्च चल्थ्यो । छोरीलाई पाल्न नसक्ने भएपछि बिहे गर्नुपर्‍यो ।’

–जानकी गाउँपालिका–५ बेलभारकी १४ वर्षीया सरिताको गत फागुनमा भारतीय गाउँ बक्सीमा सुटुक्कै बिहे भयो । उनका बुवासहित १२ जना आफन्त दुलाहाको घर गए र बिहे गरेर अर्को दिन घर फर्के । यादव धम्बोझी मावि नेपालगन्जमा कक्षा ८ मा पढ्छिन् । उनका २० वर्ष पुगेकी जेठी दिदी र १८ वर्षकी माइली दिदीको पनि १५ वर्षभन्दा कम उमेरमै बिहे भएको थियो । माइली बिहेपछि घरमै बस्छिन् । उनको गौना हुन बाँकी छ । माइलीपछि साहिलीको गौना गर्ने तयारी छ । ‘बढेकी छोरी कहाँ घरमा राख्न सकिन्छ ? ’ आमा कैलाशाले भनिन्, ‘राम्रो केटा भेट्टायौं, बिहे गरिदियौं ।’

–बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीमा १८ वर्षकी एक मुस्लिम किशोरीको बिहे भएको खबर तीन महिनापछि गाउँभरि फैलियो । न जन्ती आए, न गाउँघरलाई निम्तो बाँडियो । अभिभावकले गुपचुप भारतीय केटासँग बिहे गरिदिए ।

नेपालमा २० वर्षमुनिको बिहेमा प्रतिबन्धपछि भारतीय ज्वाइँ खोज्ने क्रम बढ्यो ।

सपना, अञ्जु, विपना र सरिता प्रतिनिधि पात्र हुन् । बाँकेमा भारतसँग ‘रोटी बेटीको सम्बन्ध’ शताब्दीऔंदेखिको हो तर मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा ‘बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्थाले अभिभावककै संलग्नतामा बालविवाह भारतमा गर्र्ने ‘गलत चलन’ छ । कानुन छलेर छोरी भारतीयलाई जिम्मा लगाए पुग्ने रीति बस्न थालेको छ ।

अधिवक्ता विश्वजित तिवारीका अनुसार २० वर्ष नपुगेर भएको विवाह स्वतः बदर हुन्छ । कसुर प्रमाणित भए बिहे गर्ने र गराउनेलार्ई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । तिवारी भन्छन्, ‘विपन्न मधेसी समुदायले कानुन छल्न भारतीय ज्वाइँ खोजेर उतै लगेर बिहे गर्ने जुक्ति निकालेका हुन् ।’

जिल्लामा वर्षमा कति बालविवाह हुन्छन् भन्ने तथ्यांक छैन । जिल्ला प्रहरी कार्यालयले जिल्लामा चार वर्ष अवधिमा ९ वटा मुद्दा मात्र दायर गरेको छ । तर बालविवाह धेरै भइरहेको ‘गुपचुप’ कार्यले दर्शाउँछ ।

बाल क्लब सञ्जालको पहलमा गत आवमा ३५ वटा बालविवाह रोकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । सबैभन्दा बढी १० वटा नेपालगन्ज उपमहानगरपालिकाकै थिए । जिप्रका बाँकेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी श्यामकुमारी पाइजा मगर रोकिएकामध्ये १५ वटा भारतमा बिहे गर्ने तयारी रहेको बताउँछिन् ।

नेपालगन्ज–१ मा रहेको सेवा केन्द्र कार्यालय नजिकैबाट गत वैशाखमा प्रहरीले काँदु थरकी १८ वर्षीया युवतीको बिहे रोक्यो । घरमा भोज चलिरहेको थियो । जन्ती आउन बाँकी रहेकै बेला दुलहीलाई नियन्त्रणमा लिएर सम्झाएर पठाइयो । एक महिनापछि उनको भारत लगेर बिहे गरियो । मगर भन्छिन्, ‘गुपचुपमा भारतमा बिहे हुन्छ । समस्या परेर हामीकहाँ आउँदा हामी भारतमै अंशबन्डा र बच्चाको अधिकारका लागि लड्न सुझाव दिन्छौं ।’

दुई वर्षअघि बाँके प्रहरीले नरैनापुर गाउँपालिकाको मटेहियामा बालविवाहविरुद्ध अप्रेसन चलाएर ११ वटा बिहे रोकेको थियो । अहिले प्रहरी सक्रियता देखिँदैन । जिल्लामा हुने बालविवाहमध्ये कम्तीमा पनि एक तिहाइ भारतीयसँग हुने गरेको सम्बद्ध बताउँछन् ।

जिल्ला बाल क्लब सञ्जालकी अध्यक्ष मेनुका रावत बाल क्लबको पहलमा रोकेकामध्ये कम्तीमा पनि २५ देखि ३० प्रतिशतको बिहे भारतीय नागरिकसँग गुपचुपमा हुने गरेको अनुभव सुनाउँछिन् । उनले भनिन्, ‘नेपालगन्ज २२ पुरैनीमा एक १४ वर्षका एक युवकको बिहे हुँदै थियो । बराती जान तयारी हुँदै थियो । खबर टोलमा सनसनी फैलियो । प्रहरी आयो । सम्झायो–बुझायो । फर्केर गएसँगै ती युवकले भारतमा गएर बिहे गरे । दुलही नल्याएरै फर्के ।’

जानकी–५ कैलासीका रामदेव मि श्र विपन्नता र रूढिवादी सोचका कारण मधेसी समुदायले कानुन छल्न भारतमा बिहे गरिरहेको बताउँछन् । ‘१६ वर्षमा छोराछोरीको बिहे गरे पनि तीन वर्षपछि गौना र त्यसको एक वर्षपछि थौना हुने भएकाले नेपालको कानुनले भनेझैं २० वर्षमा बिहे भइरहेको छ’, उनले भने, ‘विपन्न मधेसी समुदायले २० वर्षसम्म सन्तानलाई बिहे नगरी राख्नै सक्दैनन् । उनीहरू कानुन छल्न बाध्य छन् ।’

विपन्न समुदायमा ‘छोरीलाई जति पढायो, उति धेरै दाइजो बढायो’ भन्ने सोचाइ व्याप्त छ । मधेसी समुदायमा गौना प्रथा पनि बालविवाहको कारक हो । यो प्रथामा रजस्वला हुनुअघि छोरीको बिहे हुन्छ । बिहेपछि बालिका माइतमै सिन्दूर लगाएर बस्छे । कम्तीमा तीनदेखि सात वर्षपछि गौना (दुलही घर फर्काउने काम) हुन्छ । गौना भएपछि दुलही जान्छिन् र केही दिन बसेर माइत फर्कन्छिन् । त्यसको एकडेढ वर्षपछि थौना हुन्छ अर्थात् दुलहादुलही लिन आउँछन् । त्यसपछि मात्रै केटी नियमित रूपमा केटाको घरमा बस्न थाल्छिन् ।

सिबिन नेपालगन्जका संयोजक सिद्धराज पनेरू भन्छन्, ‘थाहा भएपछि बिहे रोक्ने प्रयास हुन्छ । सम्झाइबुझाई गरेर फर्केको केही समयपछि भारतमा पुगेर बिहे गरिसकेका हुन्छन् । कसले रोक्ने ? कसरी रोक्ने ? ’

नियन्त्रणमा पालिकाको कम प्राथमिकता

दक्षिण एसियामा सबैभन्दा बढी बालविवाह हुन्छ । युनिसेफले सन् २०१६ मा दक्षिण एसियामा बालविवाहबारे गरेको अध्ययन (म्यापिङ अफ चाइल्ड म्यारिज इनिसियटिभ इन साउथ एसिया) ले बालविवाह गर्ने मुलुकमध्ये नेपाल तेस्रो नम्बर (४१ प्रतिशत) मा रहेको देखाएको छ । बंगलादेश (६५ प्रतिशत) पहिलो र भारत (४७ प्रतिशत) बालविवाहले दोस्रो नम्बरमा छन् । दक्षिण एसियामा प्रत्येक दुई बालिकामध्ये एकको बालविवाह हुने प्रतिवेदनमा उल्लेख छ । नेपालमा हुने ४१ प्रतिशत बालविवाहमध्ये १० प्रतिशत बालबालिकाको विवाह १५ वर्षभन्दा कम उमेरमा हुने गरेको छ ।

जनगणना २०६८ अनुसार नेपालमा ४० प्रतिशत बालविवाह हुने गरेको छ । बाँकेमा भने बालविवाह अझै डरलाग्दो छ । जनगणनाको तथ्यांकअनुसार जिल्लामा महिला बालविवाह ८०.२ प्रतिशत छ । जुन राष्ट्रिय तथ्यांकभन्दा दोब्बर हो । पुरुष बालविवाह भने ४९.२६ छ । आठ वर्षअघिको बालविवाह दर घट्नुको सट्टा बढेको छ ।

प्लान इन्टरनेसनल नेपालकोे सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेले सन् २०१९ मा गरेको सर्वेक्षणले पनि बाँकेमा पुरुष–महिला बालविवाहको अवस्था भने ८०.७९ देखाएको छ । पुरुष बालविवाह ६०.९२ देखाएको छ । सर्वेक्षणले सबैभन्दा बढी बालविवाह नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारीमा ८३.१६ प्रतिशत र सबैभन्दा कम डुडुवामा ५०.२२ प्रतिशत रहेको देखाएको छ ।

सन् २०१४ मा बेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । लक्ष्यमा पुग्न बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरिएको छ । बालविवाह रोकथाम बाँकेका स्थानीय तहको प्राथमिकता परेको देखिँदैन ।

जिल्लाका आठ स्थानीय तहले आव ०७६÷०७७ का लागि साढे चार अर्ब बजेट विनियोजन गरेका छन् । तर बाल विवाहविरुद्ध प्राथमिकता छैन । बालविवाहविरुद्ध जानकी र राप्ती सोनारी गाउँपालिकाले बजेट विनियोजन गरेका छैनन् । जानकी गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल भन्छिन्, ‘बालविवाहविरुद्धका लागि बजेट छुट्टाउँ भन्दा गैससको प्रोजेक्ट छ भनियो । डुब्लिकेसन होला भनेर छुट्ट्याएनौं ।’

सबैभन्दा बढी डुडुवा गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘यो रकम १ साउनदेखि जन्मेकी छोरीका लागि पाँच हजार रुपैयाँ गााउँपालिका र पाँच हजार रुपैयाँ अभिभावकले थपेर १० हजार रुपैयाँको मुद्दती खाता खोलिनेछ । जुन रकम २० वर्र्ष उमेर पुगेपछि कम्तीमा पनि एसईईको शिक्षादीक्षामा प्रयोग गरिनेछ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले भने ।

नेपालगन्ज उपमहानगरपालिकाले क्षमता अभिवृद्धिका कार्यक्रमका लागि ८ लाख छुट्ट्याएको छ । नरैनापुर, खजुरा र बैजनाथले दुईदेखि तीन लाख रुपैयाँसम्म विनियोजन गरेका छन् । यो बजेट बाल क्लबको क्षमता अभिवृद्धि र जनचेतनामूक कार्यक्रममा खर्च हुने बताइएको छ ।

जिल्लाका सबै पालिकामा गैरसरकारी संस्था स्याकको बाल विवाह रोकथाम परियोजना छ । ४ करोड २२ लाख १७ हजार रुपैयाँको परियोजना तीन वर्षसम्म चल्नेछ । ‘पालिकामा बालविवाहविरूद्ध नीति, रणनीति निर्णाण गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गरी किशोरकिशोरीमा बालविवाह मुक्त आचरण विकास गर्ने, बाल विवाहविरुद्घ वातावरण सिर्जना गर्दै बालविवाह मुक्त क्षेत्र पालिका घोषणा गर्ने लक्ष्य हो’, परियोजना प्रबन्धक जगदीश थापाले दाबी गरे ।

अधिवक्ता विश्वजित तिवारी १६ वर्षमा भारतमा विवाह गरेर १८ वर्षभित्र छोडपत्र हुँदा बालिकाको कानुनी उपचारको बाटो बन्द हुने बताउँछन् । उनी भन्छन्, ‘भारतमा महिलाको १८ वर्षसम्म परिवारको सहमतिमा बिहे गर्न सकिन्छ । १८ वर्षको उमेरसम्म बिहे गर्नु भनेको नेपाल र भारत दुवै देशमा अपराध गरेको ठहर्छ ।’ एक त बिहे दर्तै हुँदैन । छोडपत्र हुँदा उजुरी गर्न जाँदा दुबै देशको कानुनले संरक्षण गर्न सक्दैन । न अधिकार न अंश ‘घर न घाट’ को हुनुपर्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.