तरुण दलमा भद्रगोल : अध्यक्षले हटाए महासचिव
काठमाडौं : तीन वर्षदेखि चार जनामा सीमित भएको नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा भद्रगोल भएको छ।
तरुणदल अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीचको विवादले उग्ररूप लिएको हो। अध्यक्ष बस्नेतले विज्ञप्ति निकाल्दै महासचिवलाई पदबाट हटाएको जनाएका छन्।
संगठनको हितविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई हटाएको जनाएका छन्। अध्यक्ष बस्नेतले महासचिव शाहीलाई संगठनको साधारण सदस्यसमेत नरहेन गरी कारवाही गरेका छन्।
यस्तै, महासचिव शाहीले पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई पदबाट हटाएको दाबी गरेका छन्। महासचिव शाहीले आफूलाई अध्यक्षले हटाउने कुनै अधिकार नभएको दाबी गरे।
‘उहाँ पनि मजस्तै पार्टीको सर्वसहमतिमा अध्यक्ष हुनु भएको हो। उहाँले मलाई कसरी कारवाही गर्ने ? पार्टीले सर्वसम्मत निर्णय गर्दा मात्रै म हट्छु’, शाहीले अन्नपूर्णसँग भने, ‘यदी उहाँलाई थपघट गर्ने अधिकार भए किन चार सदस्यीय मात्रै समिति रह्यो?’
अध्यक्ष बस्नेतको गलत कामको भण्डफोर गर्दा आफूमाथि षडयन्त्र भएको उनको दाबी छ। ‘उहाँले नराम्रो काम गर्नुभयो। बाढीपीडितको नाममा विदेशबाट करोडौँ उठाउनुभयो। त्यसको हिसाब किताब छैन। मैले कुरा उठाएपछि ममािथि षडयन्त्र भयो’, शाहीले भने, ‘उहाँको गलत गतिविधिको मैले विरोध गर्न नपाउने? यो त कम्युनिष्ट अधिनायकवादजस्तो भएन र?’
अध्यक्ष बस्नेतले बाढीपीडितको नाममा आएको सहयोग हिनामिना गरेको भन्दै अख्तियारमा जाने महासचिव शाहीले बताए। ‘मैले तरुण दलमार्फत भ्रष्टचारविरोधी अभियान चलाउँदा उहाँले असहयोग गर्नुभयो’, उनले भने, ‘उहाँका अनियमितताका कुरा उठाएपछि मलाई केही मान्छेमार्फत ज्यान मार्ने धम्कीसम्म दिनुभयो। केही गर्दा नसकेपछि षडयन्त्रमै उत्रनुपयो।’
प्रतिक्रिया दिनुहोस !