सीमा रक्षा गर्नु सरकारको दायित्व हो : गोकुल बाँस्कोटा
काठमाडौं : सरकारका प्रवक्ता तथा संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सीमा रक्षा गर्नु सरकारको दायित्व भएको बताएका छन्।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो नयाँ नक्सामा राखेको भन्दै चौतर्फी विरोध भइरहेका बेला प्रवक्ता बाँस्कोटाले यस्तो बताएका हुन्।
‘सार्वभौमसत्तासाँग जोडिएका कुराहरुमा हामी बहुत स्पष्ट छौं। सार्वभौमसत्ता वा सीमा रक्षा गर्ने सरकारको दायित्व, कर्तव्य हो’, प्रवक्ता बाँस्कोटाले भने, ‘यो विषयलाई गम्भीरतापूर्वक पहल गर्ने निर्णय पनि गरिसकेका छौं। यस्ता समस्या अन्यत्र पनि बाँकी छँदैछन्। बेलाबेला सिमानामा यस्ता कुराहरू उठ्ने गरेका छन्।’
उनले आफ्नो अधिकार रक्षाको विषयमा सरकारले यसअघि पनि दृष्टिकोण सार्वजनिक गरेको बताए। उनले परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा त्यो कुरा उल्लेख भएको बताए। ‘हाम्रो अधिकारको रक्षा, सुरक्षा गर्ने कुरामा हाम्रो दृष्टिकोण पहिलेदेखि रहिआएको छ। अहिलेको सरकारको दृष्टिकोण पनि यही हो’, उनले भने, ‘ यसमा सरकारको धारणा नै छैन भन्ने अवस्था रहेन। परराष्ट्रले नै बक्तव्य जारी गरिसक्यो।’
प्रतिक्रिया दिनुहोस !