वनको दोहन रोक्न खोज्दा इन्स्पेक्टरको सरुवा
ललितपुर : गोदावरी नगरपालिका ६ मा रहेको दुम्सीडोल ठूलो सामुदायिक वनमा मापदण्डविपरित एक्साभेटरले ढुंगा निकाल्दै गर्दा अघिल्लो साता पहिला दुई जना पक्राउ परे । डिभिजनल वन कार्यालय ललितपुरको अगुवाईमा महानगरीय प्रहरी वृत्त चापागाउँले उनीहरूलाई पक्राउ गरेका थियो ।
पक्राउ गर्ने प्रहरी इन्स्पेक्टरको तत्काल सरुवा गरिएको छ । तर पक्राउ परेका भने त्यही दिन नै छुटे । डिभिजनल वन कार्यालय ललितपुरका प्रमुख नवीन गिरीका अनुसार खोजेको बखत उपस्थित हुने सर्तमा उनीहरू छोडिएको बताए । ‘यस विषयमा अनुसन्धान जारी छ,’ उनले भने ‘एकजना अनुसन्धान अधिकारीले विस्तृत अध्ययन गर्दै हुनुहुन्छ ।’ अवैध रूपमा ढुंगा, बालुवा खानी तथा क्रसर उद्योग सञ्चालन भए पनि राजनीतिक पहुँचको आधारमा आरोपी छुट्ने प्रवृत्ति बढेको स्थानीयको चिन्ता छ । यस घटनाले स्वतन्त्र रूपमा काम गर्न नपाएको प्रहरीले गुनासो गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार अवैध रूपमा चलिरहेका खानी तथा क्रसर उद्योग रोक लगाउन सकेन भनेर प्रहरी आलोचित हुँदै आएको छ । काम गर्न खोज्दा राजनीतिक दबाब आएको राईले बताए । उनले भने, ‘प्रहरीले केही गरेन भन्छन्, तर काम गर्न दिइँदैन ।’ राईले राजनीतिक हस्तक्षेपका कारण प्रहरीलाई काम गर्न समस्या परेको गुनासो गरे । जिल्लामा रहेका खानी तथा क्रसर उद्योगको विषयमा गहन अध्ययन भइरहेको र प्रहरीले राम्रो काम गरेर देखाउने दाबी गरे ।
महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख कृष्णराज ओझाले आफू विदामा बसेको समयमा इन्स्पेक्टरले संलग्नलाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार पक्राउ गरिएको केही दिनमा इन्स्पेक्टरको सरुवा भएर महानगरीय प्रहरी परिसर ललितपुर पुगिसकेका छन् । यस विषयमा प्रहरीले सहयोग मात्र गरेको बताए । उनले भने, ‘प्रहरीको काम शान्ति सुरक्षा दिने हो ।’
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले नियमविपरित काम गरे पक्राउ परेकालाई छुटाउन कुनै पहल गर्न नसक्ने बताए । नियम अनुसारकालाई मात्र सञ्चालन गर्न दिने बताए । ललितपुरमा सबैभन्दा धेरै खानी तथा क्रसर उद्योग गोदावरी नगरपालिकामा छन् । नगरप्रमुख गजेन्द्र महर्जनका अनुसार गोदावरीमा चारवटा वैधानिक खानी र १४ क्रसर उद्योग चलिरहेका छन् । बालुवा खानीहरू कुनै वैधानिक नभएको बताए । अवैधानिक रूपमा चलिरहेका खानीलाई तीन महिना पहिला रोकेको बताए । नगरपालिकाले खानी व्यवस्थापनका लागि ऐन बनाउँदै गरेको बताए ।...
खानीका समस्या सबै बनसँग जोडिएको हुने भएपनि वनका के कति अधिकार हुन्छ अलमल भएको बताए । ‘स्थानीय वन ऐन’ बनाएर काम गर्न चाहेको महर्जनको भनाई छ । ‘संघीय ऐनमा नबाझिने गरी कानुन बनाउँछौं । आउँदो माघमा विशेष नगरसभाबाट पारीत गछौं,’ उनले भने । जिल्ला समन्वय अधिकारी दुर्गादेवी देवकोटाले वैधलाई मात्र चलाउनु,अरुलाई रोक्नु भन्ने निर्देशन गरेको बताइन् । ‘यतिबेला फिल्डमा गएका छैनांै, ठ्याककै के भइरहेको हो थाहा छैन,’ देवकोटाले भनिन् । नगरपालिकाले कतिलाई अनुमती दिएको छ भनेर जानकारी नदिइएको भनाई उनको छ ।
छम्पी, लेले, चापागाउँ, नल्लु, देवीचौर लगायतका क्षेत्रमा उद्योगहरु संचालनमा रहेकाछन् । यतिबेला सबै भन्दा धेरै दोहन देवीचौर र डुकुछापमा भइरहेको स्थानियले बताएकाछन् । बागमती गाउँपालिकाका भालुखोला र ठोस्ने खोलाको दोभानमा संचालित खानीखोला हाइड्रोमा लेदो माटो जमेर समस्या पारेको गुनासो गरेकाछन् ।
ललितपुरमा ३७ वटा खानीतथा क्रसर संचालनमा देखिएपनि धेरैजसोले नवीकरण नगरेको तथा वातावरण परिक्षण नगरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !