कोरोनाविरुद्ध सार्क राष्ट्रको संयुक्त डोमेन
काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रले कोरोना भाइरसबारे संयुक्त जानकारी दिने भएका छन्। उनीहरूले सबै तथ्य एकरुप बनाउन संयुक्त डोमेन तयार गरेका छन्। सार्क राष्ट्रका स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसबारे अनुभव तथा जानकारी दिन संयुक्त डोमेन बनाएको परराष्ट्र मन्त्रालयले बिहीबार जानकारी दिएको हो।
भारतको अगुवाइमा उक्त कार्य भइरहेको छ। भिडियो कन्फरेन्समार्फत संयुक्त डोमेन बनाउने निर्णय गरेको जानकारी दिइएको छ। सार्क सदस्य राष्ट्रहरूले संयुक्त रूपमा कोरोनासँग जुध्ने तयारी गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहल गरेका थिए। त्यही पहलको थालनीअनुरूप संयुक्त डोमेन बनेको हो। यसका साथै, भारतले कोरोनाबारे संयुक्त कोषको घोषणा गरेको छ।
एसएएआरसी–सीओआईएनडटओआरजी (saarc-COIN.org_) नामको डोमेन अप्रिल १३ तारिखसम्म बन्ने बताइएको छ। यसबाट कोभिड–१९ इमर्जेन्सी मेडिकल सेवाबारे अनुभव तथा जानकारी दिने पनि उल्लेख छ। यो एक प्रकारको संयुक्त सहकार्यको पहल हो। यसरी नै सार्कमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त भएका छन्। सार्कका आठै सदस्य नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र भुटानका स्वास्थ्य अधिकारी र परराष्ट्र अधिकारीले संयुक्त रूपमा भिडियो कन्फरेन्स गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !