प्रदेश २ मा कोरोना संक्रमण बढदो : एक महिनामा तीन हजार संक्रमित थपिए

प्रदेश २ मा कोरोना संक्रमण बढदो : एक महिनामा तीन हजार संक्रमित थपिए

सप्तरी : प्रदेश नं २ मा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना संक्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन र सर्लाहीमा दुई जना कोरोना संक्रमित थप भएका हुन् ।
    
एक महिनाको अवधिमा प्रदेश नं २ मा करिब तीन हजार संक्रमित बढेका छन् । प्रदेश नं २ सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार मसान्तसम्म तीन हजार ९११ जना संक्रमित रहेकामा साउन मसान्तसम्ममा संक्रमितको सङ्ख्या छ हजार ८२१ पुगेको छ । पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दाबढी सक्रिय संक्रमितको उपचार भइरहेको छ । 

    
मन्त्रालयका अनुसार संक्रमितको सङ्ख्या बढेर साउन मसान्तभित्र रौतहटमा १३८५, पर्सामा १२२६, धनुषामा १०२२, महोत्तरीमा १००२, सर्लाहीमा ९३४, सप्तरीमा ६६१, बारामा ३२३ र सिरहामा २६३ पुगेको छ । असार मसान्तमा रौतहटमा १२३१, पर्सामा १५९, धनुषामा ५४९, महोत्तरीमा ७३८, सर्लाहीमा ६५६, सप्तरीमा २५५, बारामा ११२ र सिरहामा २०६ संक्रमित रहेको थियो । संक्रमितसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । असार मसान्तभित्र रौतहट, बारा र पर्सामा एक/एक जना गरी तीन जनाको मृत्यु भएकोमा साउनसम्ममा मृतकको सङ्ख्या ४५ पुगेको छ । तीमध्ये ११ महिला र ३४ पुरुष छन् । मृतकमध्ये पर्साका मात्र २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मात्र जनकपुरधाम उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । 

प्रदेश नं. २ मा संस्थागत आइसोलेशनमा तीन हजार ८६९, होम आइसोलेशनमा ९८ र क्वारेन्टिनमा एक हजार ६३१ जना रहेका छन् । संक्रमितमध्ये तीन हजार ६१२ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार उपचारपछि निको भएर घर फर्किकामध्ये सप्तरीका ४४६, सिरहाका २०५, धनुषाका ६८२, महोत्तरीका ३७०, सर्लाहीका ६५२, रौतहटका ७५४, बाराका १८२, पर्साका ३१५ जना छन् । 

असार मसान्तभित्र सप्तरीमा २२१, सिरहामा ११५, धनुषामा ३९४, महोत्तरीमा २७०, सर्लाहीमा ५९०, रौतहटमा ६५३, बारामा ११४ र पर्सामा १७१ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं २ मा हाल आइसियुमा ४१ जना उपचाररत छन् । प्रदेश नं २ को आइसोलेशन भरिभराउ भएपछि संक्रमित घरमै बस्न बाध्य छन् । यो प्रदेशमा ९८ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आइसोलेशनको अभावले सप्तरीमा समेत ३१ जनालाई होम आइसोलेशनमा राखिएको र यसले समुदायमा संक्रमण फैलिने खतरा बढेको बताए । उनले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले शम्भुनाथ नगरपालिकास्थित भगवतपुर, कठौनामा रहेको माविलाई करिब २०० श्ययाको आइसोलेशन केन्द्र बनाउने तयारी भइरहेको जानकारी दिए । राजविराजस्थित आइसोलेशन केन्द्रमा जनशक्ति अभाव भएपछि संक्रमितलाई व्यवस्थापन गर्न तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै तहमा ५० श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।
    
दीर्घरोगी कोरोना संक्रमणको पहिलो सिकार बन्ने गरेको पाइएको छ भने भ्यान्टिलेटर नपाउँदा संक्रमितको उपचारमा पनि समस्या देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले चारवटा भेण्टिलेटर भए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा सञ्चालन हुन नसकेको बताए । 'रोजगारीमा रहने क्रियाशील जनशक्ति युवा नै बढी संक्रमित रहेको जानकारी दिँदै उहाँले पछिल्लो समय ज्येष्ठ नागरिक र दीर्घरोगीमा समेत कोरोना संक्रमण बढेको बताए । उनीहरूसँग रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्युदर बढ्नसक्ने सम्भावना रहेको उनको भनाइ छ । 'संक्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभाविक हो, त्यसमाथि प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक र दीर्घरोगी व्यक्तिमा संक्रमण बढ्दै जानु डरलाग्दो हो', डाक्टर झाले बताए ।
    
भारतबाट आएकाको व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना संक्रमण र मृत्युको ग्राफ उकालो लागेको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का विनोद यादवले बताए । क्वारेन्टिन भद्रगोल बन्नु, पिसिआर परीक्षणमा ढिलाइ हुनु, संक्रमित व्यवस्थानमा ध्यान नदिनु, सीमानाका खुकुलो हुनु, होम क्वारेन्टिनमा बसेकाको निगरानी नहुनु, सचेतना अभियान राम्रोसँग चलाउन नसक्नुजस्ता कारण यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा पुगेको यादवको भनाइ छ । भारतबाट आएका अधिकांशमा कोरोना संक्रमण भेटिए पनि सचेतना भने कम छ ।
    
प्रदेश नं २ मा हाल दैनिक साढे एक हजार जनाको स्वाब सङ्कलन भइरहेको छ भने कोरोना परीक्षण ८०० जनाको मात्र भइरहेको छ । जनकपुर, राजविराज र वीरगञ्ज गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ । सबैभन्दा सानो क्षेत्रफल भए पनि दोस्रो ठूलो जनसङ्ख्या भएको प्रदेश नं २ मा हालसम्म ७६ हजार ५२५ जनाको स्वाब सङ्कलन भएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए । जसमध्ये आठ हजार ४१४ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.