भूकम्पको स्मृतिमा गोरखामा इपिसेन्टर एड्भेञ्चर ट्रेल
गोरखा : २०७२ सालको भूकम्पको केन्द्रविन्दू क्षेत्रमा इपिसेन्टर पार्क निर्माण गरिएको छ । धार्चे गाउँपालिकाले ५ चुङकङडाँडामा भूकम्पको स्मृतिमा इपिसेन्टर एड्भेञ्चर ट्रेल निर्माण गरेको हो ।
भूकम्पको केन्द्रविन्दू आसपासका क्षेत्र समेटेर लाप्राकदेखि गुम्दा हुदै चुङकङसम्म इपिसेण्टर एड्भेञ्चर ट्रेल निर्माण गरिएको हो । साथै गाउँपालिकाले चुङकङमा ‘इपिसेण्टर’ स्तम्भ निर्माण गरेको छ ।
इपिसेण्टर एड्भेञ्चर ट्रेल र स्तम्भको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले इपिसेण्टर एडभेञ्चर ट्रेल निर्माण गरेको गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले जानकारी दिइन् ।
उद्घाटनको क्रममा मन्त्री लम्सालले धार्चे गाउँपालिकाको विकास पर्यटनबाट सम्भव भएको बताउँदै गाउँपालिकाको पर्यटन विकास अभियानमा प्रदेश सरकारले साथ दिने बताए । भौगोलिक रुपमा बिकट भएपनि पर्यटनको प्रचुर संभावना बोकेको धार्चेमा पर्यटन प्रर्वद्धन गर्ने गतिविधि संचालन गर्न, भौतिक संरचना निर्माण गर्न आफ्नो प्रयास निरन्तर रहने उनले बताए ।
शुक्रबार धार्चे पुगेका मन्त्री लम्सालले लाप्राकको गुप्सीपाखामा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको एकीकृत नमुना बस्तीको अवलोकन गरेका थिए । उक्त बस्तीमा केयर नेपालको सहयोगमा स्वाँरा सघनले निर्माण गरेको खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष राज गुरुङले बताए ।
मणिकामदेवी माविमा यस वर्षदेखि कक्षा ११ र १२ मा सुरु हुन लागेको पर्वतारोहण सम्बन्धी पढाई संचालनका लागि विद्यालयसँग पर्वतारोहण संघले गरेको सम्झौताको कार्यक्रममा पनि पर्यटन मन्त्री लम्साल सहभागी थिए । विद्यालयको हाताभित्र निर्माण गरिएको बाल रक क्लाइम्बिङको पनि मन्त्री लम्सालले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !