कांग्रेसमा गुटैगुट

कांग्रेसमा गुटैगुट

काठमाडौं : महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा विमलेन्द्र निधि निवास पुगे। शुक्रबार निधिको पारिवारिक पूजामा सहभागी भए र आफू निधि गुटमा प्रवेश गरेको जनाउ दिए।  

१३ औं महाधिवेशनदेखि शर्मा पार्टी सभापति शेरबहादुर देउवा निकट थिए। देउवाले विश्वास गरेर प्रवक्ताको जिम्मेवारी दिएका शर्माले गुट परिवर्तन गरे। देउवाकै विश्वासपात्र निधि यसअघि नै अलग गुटको अभ्यासमा जुटिसकेका छन्। देउवा गुटबाट महामन्त्रीमा ‘सुरक्षित’ नठानेपछि प्रवक्ता शर्माले गुट फेरेको कांग्रेसी नेताहरू बताउँछन्। महामन्त्रीको उम्मेदवारका लागि आफूले सबै नेतासँग सल्लाह गरेको शर्माको भनाइ छ। ‘गुट र टिम बनाउने कुरा सभापतिमा उठ्नेले हो,’ उनी भन्छन्, ‘महामन्त्रीमा उठ्नेले होइन।’ १४ औं महाधिवेशनको रन्कोसँगै कांग्रेसमा गुट अदली बदली सुरु भएको छ।

देउवालाई यतिबेला १३ औं महाधिवेशनका सारथीहरू जोगाउनुपर्ने आवश्यक्ता रहेको उनी निकट नेताहरू बताउँछन्। गोपालमान श्रेष्ठले पनि सभापतिमा इच्छा देखाएका छन्। तर, सभापति नपाए पनि श्रेष्ठले देउवालाई नै साथ दिने कांग्रेसी नेताहरूको बुझाइ छ।

विगतमा देउवाविरुद्ध एकगठ भएको रामचन्द्र पौडेल गुटमा पनि विभिन्न चिरा देखिएका छन्। गुटलाई कायम राखेर एक जना मात्र सभापतिको उम्मेदवार छान्न यो गुटलाई हम्मे–हम्मे छ। शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र सुजाता कोइरालाले पनि सभापतिमा दाबी गरेका छन्। धेरै आकांक्षी देखिएपछि पौडेल गुटबाट एक जना मात्र सभापति उम्मेदवार बन्ने सम्भावना कम छ। शेखरलाई गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताहरूको समर्थन छ। १३ औं महाधिवेशनमा कृष्ण सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवार बनेका गगन यतिबेला शेखर निकट छन्। शेखरले पनि गगनलाई महामन्त्रीमा सघाउने वचन दिएको नेताहरू बताउँछन्। 

आफ्नो गुटबाट सभापतिमा पौडेल सर्वसम्मत नभए प्रकाशमानले पनि सभापतिमा दाबी गर्ने बताएका छन्। प्रकाशमानलाई बलबहादुर केसीसहितका नेताहरूको साथ दिएका छन्। पौडेल गुटबाट शशांक पनि सभापतिका जबर्जस्त उम्मेदवार हुन्। बीपीपुत्र शशांकलाई सभापतिको उम्मेदवार बनाउन डा. मीनेन्द्र रिजाल, दीपक गिरी, दीपक खड्का लगायतका नेताहरूले जोडबल गरिरहेका छन्। शशांकले शनिबार चितवनमा पत्रकार सम्मेलन गरी आफू सभापतिमा उठ्ने घोषणा गरेका छन्। 

पौडेल गुटबाट सुजाताले पनि सभापतिमा उठ्ने घोषणा गरेकी छिन्। बीपीपुत्र र गणेशमानपुत्र मिलेर आफूलाई बेवास्ता गरेको भन्दै उनले फरक मोर्चा कस्न थालेकी छिन्। ‘म पछि हट्दिन,’ सुजाता भन्छिन्, ‘मैले पहिला पनि छाडेकै हो।’ 

१३ औं महाधिवेशनमा छुट्टै गुट बनाएर सभापतिमा प्रतिस्पर्धा गरेका कृष्ण सिटौला ‘पर्ख र हेर’को अवस्थामा छन्। यद्यपि, सिटौलाले आफू सभापतिको उम्मेदवार बन्ने आफू निकट नेताहरूलाई बताउँदै आएका छन्। सिटौला गुटका सशक्त गगनले गुट परिवर्तन गरेका कारण सिटौला अप्ठ्यारोमा छन्। सिटौला गुटबाट महामन्त्रीमा चुनाव जित्न कठिन हुने विश्लेषणसहित गगनले गुट परिवर्तन गरेको युवा नेताहरू बताउँछन्। 

आफूसँगै गुटका प्रदीप पौडेल र भीमसेनदास प्रधानलाई जसरी पनि ‘सेटल’ गर्नुपर्ने दबाबमा सिटौला छन्। भीमसेनदास प्रकाशमानका विपक्षमा भएकाले सिटौलालाई देउवासँगै ‘समीकरण बनाउन’ सहज हुने अनुमान गर्न थालिएको छ। देउवा गुटका सशक्त निधिले छुट्टै गुटको अभ्यास गरिसकेका छन्। तामझामसहित बानेश्वरमा सम्पर्क कार्यालय खोलेर निधिले महाधिवेशनको तयारी गरिरहेका छन्। युवा नेता एवं प्रवक्ता शर्मा थपिएसँगै निधिको गुट पनि बलियो बनेको विश्लेषण गरिएको छ। अरू नेताहरू पनि थपिँदै जाने निधिको विश्वास छ। निधिलाई १४ औं महाधिवेशनमा सभापति बनाउने भनेर प्रदीप 

गिरीले अघिल्लै महाधिवेशनमा वचन दिएका थिए। गिरीले सभापतिमा निधिलाई सघाउने नेताहरू बताउँछन्। 

२०७५ पुसमा बसेको महासमिति बैठकले पार्टी विधान संशोधन गर्दै कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गरेको थियो। प्रत्यक्ष निर्वाचन हुने भएपछि उपसभापति र महामन्त्री दुवै पदमा पनि नेताहरू उम्मेदवार बन्न दौडधुपमा छन्। नेता महेश आचार्य पनि माहोल हेरेर आफू उम्मेदवार बन्ने बताउँछन्। ‘चुनावका बेला प्रभावशाली गुटमा लाग्नु अनौठो होइन,’ आचार्य भन्छन्, ‘माहोल हेरेर मात्र उम्मेदवारी घोषणा गर्छु।’  

सभापतिमा कल्याण गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन्। ‘पार्टीका युवा, जनजाति, मधेसी र पिछडिएका क्षेत्रका जनताको समर्थन पाउने आशा गरेको छु,’ गुरुङले भने। 

युवा नेता पनि अदल बदलमा 
१४औं महाधिवेशनको मुखमा युवा नेताका गुट अदली बदलीले महाधिवेशनको नजितालाई प्रभावित पार्ने आँकलन गर्न थालिएका छन्। देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता शर्माले गुट परिवर्तन गरिसकेका छन्। गगनले पनि सिटौला गुट छोडेका छन्। ‘मेरो उद्देश्य संस्थापन इतर पक्ष एक हौं भन्ने हो,’ गगनले भने। 

देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ। पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन्। यो गुटको व्यवस्थापनसँगै महामन्त्रीमा देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण छ। यसपटक विधानमा दुई जना महामन्त्रीको व्यवस्था भएका कारण व्यवस्थापनमा सहज हुने नेताहरू बताउँछन्। महामन्त्री पूर्णबहादुर खड्काले वडा र स्थानीय तहको अधिवेशनपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताए। ‘अहिले नै उम्मेदवारी गर्न हतार छैन,’ उनले भने।  

पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरूबीच हानथाप छ। गगन, गुरुराज, डा.मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरू महामन्त्री उम्मेदवारका आकांक्षी छन्। यो गुटबाट सभापतिमा को उम्मेदवार बन्छ भन्ने कुराले महामन्त्रीका

लागि सहज हुने नेताहरूको बुझाइ छ। देउवा गुटका भीष्मराज आङ्दम्बेलेपनि महामन्त्रीमा इच्छा व्यक्त गरेका छन्। आङ्दम्बेले भने, ‘मेरो उम्मेदवारी बार्गेनिङका लागि होइन। युवा, आदिवासी, महिला र पिछडिएका प्रतिनिधिहरूको भोटले मलाई जिताउने विश्वास छ।’ 

अरू नेता पनि उस्तै
विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन्। गिरिजाप्रसाद कोइरालापछि शेखर, त्यसपछि निधि हुँदै ढुंगाना यसपटक देउवा गुटमा प्रवेश गरेका छन्। निधिले यसपटक ढुंगानाको साथ पाउने विश्वास गरेका थिए।

फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छोडेर १३ औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश  गरेका हुन्। विगतमा देउवा छोडेर कोइराला गुटमा प्रवेश गरेका डा. नारायण 

खड्का पुनः देउवा गुटमै फर्केका छन्। मीनेन्द्र रिजाल पनि देउवा छोडेर गिरिजाप्रसाद कोइराला हँुंदै शशांकतिर लागेका छन्। अर्जुन जोशी कोइराला गुट छोडेर देउवातिर फर्केका छन्।

सुुरुवात नै गुटबाट
गुट–गुट मिलेर कांग्रेस पार्टी गठन भएको विश्वास गरिन्छ। गुटकै कारण कांग्रेस दुई पटक विभाजित पनि भएको थियो। नेपाली राष्ट्रिय कांग्रेसको स्थापनापछि बीपी कोइराला र डा. डिल्लीरमण रेग्मीले गुट चलाएका थिए। 

त्यसपछि २००७ सालको क्रान्ति लगत्तै पार्टीमा मातृकाप्रसाद कोइराला र बीपी गुट देखियो। सहोदर दाजुभाइ मातृका र बीपीबीचको गुटबन्दीले अन्ततः पार्टी विभाजन नै भयो। तर, त्यसयता कांगे्रसले गुटबन्दीकै बीच आफ्नो एकता कायम राखेको थियो। 

एकताकै कारण कांग्रेसले २०१५ सालको आम चुनावमा विजय हुन सफल भएको थियो। तर,  ०१७ साल पुस १ मा पार्टी सत्ताच्युत र प्रतिबन्धित भयो। प्रतिबन्धित पार्टी निर्वाशित हुँदै प्रतिबन्धकालमा पनि कांग्रेसभित्र बीपी र सुवर्णशमशेर राणा गुट देखा परे। 

बीपी र सुवर्णबीच प्रजातान्त्रिक संघर्षको सञ्चालन, राष्ट्रिय मेलमिलापको नीति, राजासँग सम्बन्धका विषयमा मतान्तर देखिँदै आएको थियो। फेरि ०४७ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि प्रतिबन्धकालको गुटबन्दी र बैमनस्यको पुनरावृत्ति देखियो। नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचमा मतभेद थियोे।

कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल भन्छन्, ‘त्यतिबेला पनि नेताहरू अंकमाल गर्ने, सँगै फोटो खिचाउने र हात उठाउने चलन थियो।’ उनले भने, ‘गुटका कारण अरू बेला ठूला कुरा गर्ने युवाहरू खुट्टा कमाउँछन्। गुटका कारण पदप्रतिको मोह बढेको हो। जो शक्तिमा हुन्छ त्यो प्रतिगुटको झुण्डनै लाग्छ। यो संस्कार खराब छ।’ 

गुटकै कारण सिंह र भट्टराई पार्टी परित्याग गर्ने अवस्था आयो। यस्तै गिरिजा र वर्तमान सभापति देउवाबीच पनि गुटगत लडाइँकै कारण पार्टी नै विभाजन हुन पुग्यो। 

बीपी कोइरालाको निधनपछि सिर्जित तीन गुट भट्टराई रहुन्जेल यथावत रह्यो। तर, फेरि सुशील कोइरालाको निधनपछि कांग्रेसमा तीन गुट प्रष्ट रूपमा सतहमा आएका छन्। साथै देउवा गुटभित्र पनि अनेक उपगुट सिर्जना भएका छन्। यता पौडेल गुटभित्र पनि उपगुटहरू हाबी छन्। देउवा–पौडेलमाथि चुनौती दिँदै सिटौला आफ्नै रफ्तारमा गुट सञ्चालन गरिरहेका छन्। 

राजनीतिक विश्लेषक कृष्ण खनाल कांग्रेसको राजनीति १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा गएर नरोकिने बताउँछन्। ‘जति गुट बढ्छन् त्यतिनै असन्तुष्टि पार्टीमा देखिन्छ। अभैm पार्टी फुट्ने क्रम बढ्न सक्छ। १४ औंमा आइपुग्दा दोस्रो पुस्ताका नेतालाई कार्यकर्ताले रुचाएको देखिन्छ। यद्यपि युवाले आफू पदाधिकारीमै लड्ने आँट नगरे पनि वैकल्पिक नेतृत्व खोजेको देखिन्छ’, उनले भने।   

सदस्यताकै भारी, कार्यतालिका हेरफेर
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसले क्रियाशील सदस्यताको टुंगो लगाउन सकेको छैन। देशभर एकै दिन (भदौ १८ गते) वडा अधिवेशन गर्ने घोषणा गरेको कांग्रेसले २० जिल्लाको विवाद टुंग्याउन सकेको छैन। १८ गतेदेखि वडा अधिवेशन सुरु भए पनि वडा अधिवेशन नै कहिलेसम्म टुंग्याउने हो भन्ने अन्योल छ। निर्वाचन समितिका अनुसार ५७ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ। सदस्यताको टुंगो नलागेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। 

अब बाँकी जिल्लाका वडा अधिवेशन असोज ५ गते गर्ने घोषणा गरिएको छ। गाउँपालिका/नगरपालिका अधिवेशन एक साता पर सार्दै असोज ९ गते गर्ने, प्रदेशसभा/क्षेत्रीय अधिवेशन असोज ११ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १३ गते गर्ने संशोधित कार्यतालिका सार्वजनिक भएको छ। 

वरिष्ठ नेता पौडेलले देशभर एकैदिन गाउँ/नगर अधिवेशन गर्न सभापति देउवालाई दबाब दिएका छन्। तर, सदस्यताको टुंगो नलागेसम्म एकै दिन गाउँपालिका/नगरपालिका स्तरमा अधिवेशन हुन कठिन हुने कांग्रेसी नेताहरू बताउँछन्। 

कांग्रेसले यसअघि भदौ २७ गते गाउँ/नगर अधिवेशन, असोज १ गते प्रदेशसभा, क्षेत्रीय अधिवेशन र असोज  ५ गते एकै दिन प्रतिनिधिसभा/क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। वडातहदेखि नै अधिवेशनको मिति धकेलिँदै जाँदा मंसिर ९ देखि १३ सम्म घोषणा गरिएको १४ औं महाधिवेशन पनि समयमै सम्पन्न हुनेमा नेताहरू आशंका व्यक्त गर्न थालेका छन्।

महाधिवेशनप्रति आशंका कायमै 
कांग्रेसका १२ युवा नेताको विज्ञप्ति प्रकाशित गर्दैै वडा र गाउँ/नगरपालिका स्तरीय अधिवेशन पर सारेकोमा आपत्ति जनाएका छन्। महाधिवेशनको कार्यतालिका सर्दै जाँदा महाधिवेशन नै तोकिएको समयमा हुँदैन कि भन्ने आशंका व्यक्त गरेका छन्। 

चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, किरण यादवलगायतले संयुक्त वक्तव्य जारी गरी तोकिएको मितिमा १४ औं महाधिवेशन सुनिश्चित गर्न ध्यानाकर्षण गरेका छन्। 

०००

युवा नेता को कता ?
देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता शर्माले गुट परिवर्तन गरिसकेका छन्। गगनले पनि सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ। पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन्। 

देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण छ। 

पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरूबीच हानथाप छ। गगन, गुरुराज, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरू महामन्त्री उम्मेदवारका आकांक्षी छन्। 

विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन्। फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छोडेर १३ औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश  गरेका हुन्। विगतमा देउवा छोडेर कोइराला गुटमा प्रवेश गरेका डा. नारायण खड्का पुनः देउवा गुटमै फर्केका छन्। मीनेन्द्र रिजाल पनि देउवा छोडेर गिरिजाप्रसाद कोइराला हुँदै शशांकतिर लागेका छन्। अर्जुन जोशी कोइराला गुट छोडेर देउवातिर फर्केका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.