‘पैसा आयो, खुसी हरायो’
भक्तपुर : भक्तपुर दरबार क्षेत्र (भक्तपुर दरबार स्क्वाएर) नजिकै रामकृष्ण सुवालको घर छ। ८८ वर्षीय सुवालको दिन दरबार क्षेत्रमा घुमेर नै बित्छ। दिनभर मन्दिरको पेटीमा भेटिन्छन्।
दरबार क्षेत्रमा घुम्न आउने कोही गफ गर्न चाहे विगतका अनुभव सुनाउँछन्। तर, यसरी आफ्ना कुरा सुनाउने र सुन्ने कमै मात्रै भेट्ने गरेको उनको अनुभव छ। ‘सबै व्यस्त मात्रै देख्छु, बोल्ने फुर्सदसमेत कसैलाई हुँदैन रहेछ,’ उनले भने ‘यहाँ घुम्न आउने पनि फोटो खिच्नमा नै व्यस्त हुन्छन्, हतारमा आउँछन्, फर्किएर जान्छन्।’
घरमा पनि आफूसँग परिवारका सदस्यको बोल्ने फुर्सद भएको देख्दैनन् उनी। ‘दिनभर कार्यालयको काममा निस्कन्छन्, साँझमा भेला त हुन्छन्, तर, सबै मोबाइलमै व्यस्त। आ–आफ्ना मोबाइल बोकेर कोठामा पसेकासँग गफ नै हुँदैन,’ सुवालले सुनाए।
उनी भन्छन्, ‘छोराछोरीको कामले घरमा त पैसा आयो र खुसी हरायो।’ दिन कटाउन बाहिर निस्कँदा बोल्ने भेट्दैनन् उनी। रात कटाउने घरमा परिवारसँग सम्वाद हरायो। भन्छन्, ‘आजकल त सञ्चो–बिसञ्चो सोध्ने फुर्सादसमेत कसैलाई छैन।’ सुवालका घरमा छोरा बुहारी र नाति नातिना छन्। दिउँसो छोराबुहारी काममा र नातिनातिना विद्यालय जाँदा घर पनि सुनसान हुन्छ। सुवालले यस्तो अवस्था देख्न थालेको धेरै वर्ष भएको छैन। जब घर घरमा स्मार्ट फोन र इन्टरनेटको पहुँच पुग्यो, सबै यसमा हराउन थाले।
इन्टरनेटले सबैलाई विश्वका कुना–कुना पुर्यायो र विश्वलाई एउटा गाउँ जस्तो बनायो। तर, आफ्नै परिवारबाट टाढा पुर्याएको महसुस युवाले भन्दा वृद्धवृद्धाले गर्दैछन्। ‘पहिले त घर, चुल्होको काम सकेर बेलुका अगेनुको वरिपरि बसेर गफ हुन्थ्यो, भोलि के गर्ने ? आज दिनभर के–के भयो ? सरसल्लाह हुन्थ्यो, सुख, दुःखका गफगाफ हुन्थ्यो,’ भक्तपुर ठिमीकी ७९ वर्षीया मझुमाया राजभण्डारी विगत सम्झन्छिन्।
अहिले परिवारमा नै एकले अर्काको कुरा सुन्ने समय हरायो। सहर बढ्यो, गाउँ घट्यो। खेती गर्ने ठाउँमा घर बने। खेती किसानी गर्नेभन्दा पनि सहरमा बस्ने र कार्यालयको काम गर्नेमा धेरैको ध्यान गयो। यस्तो समय छिटो परिवर्तन भयो। तर, यसै समयमा ज्येष्ठ नागरिकलाई घुलमिल हुन समस्या भयो। समाज यस्तै बन्यो। ‘आफ्नै उमेरका व्यक्ति छिमेकमा देखे मन कति खुसी हुन्छ, गफ मिल्छ, साथी बन्छन्। तर, अहिले यस्तो व्यक्ति पनि कमै भेटिन्छन्, सबै बाहिर निस्कँदैनन्,’ भक्तपुर कौसलटारकी ७४ वर्षीया पार्वता गौतम भन्छिन्। ‘नातिनातिना खेलाएर दिन कटाउँ भनेर पनि नहुने रहेछ, सानैमा विद्यालय पुग्छन्,’ गौतम भन्छिन्, ‘छतमा घुम्यो दिन कटायो, टीभी हेरेर पनि दिन रात कटाउनै मुस्किल।’
परिवारका सदस्य व्यस्त हुँदा ज्येष्ठ नागरिक फुर्सदिला छन्। उनीहरूको गफ सुन्ने, समस्या बुझ्ने साथी भेटिदैनन्।
प्रतिक्रिया दिनुहोस !