‘न्याय’को छायामा मुस्कान
क्रान्ति शाह/वीरगन्ज, अजवी पौड्याल/कठमाडौं
एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई न्याय होइन थप पीडा पो दिने गरी फैसला गरेछ, दुई वर्ष लगाएर फर्किएको मेरो मुस्कान न्यायालयले फेरि खोस्न खोजेजस्तो लागिरहेको छ।
पर्सा जिल्ला अदालतले मुस्कान खातुनलाई एसिड (तेजाब) हान्ने अभियुक्तलाई एक वर्ष र एसिड हान्न अह्राउने अभियुक्तलाई चार वर्ष कैद सजाय तोकेको छ। घटना भएको १८ महिनापछि २०७७ फागुन २६ गते अदालतले दुवै अभियुक्तविरुद्ध सजाय तोकेको हो। जसअनुसार, मुस्कान माथि एसिड हान्ने वीरगन्ज महानगरपालिका —२ छपकैयाका सम्साद मियाँलाई एक वर्ष र एसिड हान्ने अह्राउने मजिद मियाँलाई चार वर्ष कैद सजाय अदालतले तोकेको हो।
पर्सा जिल्ला अदालतका १ नम्बर न्यायाधीश धर्मराज पौडेलको एकल इजलासले उक्त सजायको फैसला गरेको हो। अदालतको फैसला पीडित मुस्कानलाई नै चित्त बुझेको छैन। मुस्कान भन्छिन्, ‘हाम्रो देशको कानुन नै गजबको रहेछ, जसले एसिड हान्न अह्रायो उसलाई चार वर्ष कैद। अनि जसले आफैं एसिड हान्यो उसलाई एक वर्ष मात्र कैद, सुन्दै अचम्म लागेको छ।’ निको हुन लागिसकेको घाउ अदालतको यो फैसलाले झन् बल्झिन थालेको दुःखेसो उनी पोख्छिन्।
प्रहरी र अदालत दुवै मिसिलमा समेत सम्सादले एसिड आफैंले हानेको भनेर स्वीकार गरी लिखित बयान दिइसकेको अवस्थामा पनि उसलाई एक वर्ष मात्रै कैद सजाय हुनु विद्यमान कानुनकै त्रुटि रहेको गुनासो उनी गर्छिन्।
दुवै अपराधीलाई कमसेकम २० वर्षको कैद हुनुपर्ने आफ्नो माग रहेको उनले सुनाउँछिन्। मुस्कान भन्छिन्, ‘अदालतको फैसलाविरुद्ध म छिट्टै उच्च अदालतमा पुनरावेदन गर्दैछु, वकिलसँग सरसल्लाह भइरहेको छ। ‘मजिद र म सम्साद दुवै मिली दुई सय रुपैयाँमा तेजाबसहितको बोतल किन्यौं। तेजाब जगमा खन्याई पानी भर्यौं। पीडितलाई खान दिँदा नमानेपछि उनको अनुहार र शरीरमा तेजाब म आफैंले फालेको हुँ’, अदालतको फैसला मिसिलमा सम्सादको बयान यसरी लेखिएको छ।
‘पीडितलाई मैले एकतर्फी माया गर्दै आएको थिएँ। पीडितले अस्वीकार गरेकाले सम्सादसँग मिलेर तेजाब खुवाउन खोजेका थियौं। उनले नमानेकाले पीडितको अनुहार र शरीरमा तेजाब फाल भनी मैले नै सम्सादलाई भनें। त्यसपछि निजले एसिड फालेको हो’, अदालतको फैसला मिसिलमा मजिदको बयानमा छ।
मुस्कानको घर वीरगन्ज–२ छपकैयामा छ। २०७६ भदौ २० गते बिहान उनी वीरगन्ज—६ स्थित त्रिभुवन हनुमान माविमा पढ्न जाने क्रममा वीरगन्ज–४ बिर्तास्थित गणेशमान चोकमा बाटो छेकेर उनको अनुहार र जिउ माथि एसिड प्रहार गरियो।
टोलकै सम्साद र मजिदले मिलेर एसिड आक्रमण गरी मुस्कानलार्ई घाइते बनाएका थिए। मुस्कानलार्ई नाता पर्ने मजिदले एकतर्फी रूपमा मुस्कानलाई मन पराउँथे। तर मुस्कानले मजिदको एकतर्फी माया अस्वीकार गर्दै आएकी थिइन्।
त्यसपछि भदौ २० गते बाटो कुरेर बसेका मजिद र सम्सादले सुरुमा बाटो छेकेर जगमा एसिड राखेर पानी हो खाउ भन्दै भनेका थिए। तर मुस्कानले खान मानिनन्। त्यसपछि मजिदले भने अनुसार सम्सादले जगमा भएको एसिड मुस्कानको अनुहार र शरीरमा खनाइदिएका थिए।
अनुहार र जिउमा एसिड परेपछि गम्भीर घाइते भएकी मुस्कानलाई त्यही दिन नारायणी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो।
घटनालगत्तै पक्राउ परेका सम्साद र मजिदलाई पर्सा जिल्ला अदालतमा त्यसबेला प्रहरीबाट पेस भएको मिसिलमा दुवै अभियुक्तको उमेर १८ वर्ष पुगेको प्रमाण नभएपछि कारागारमा नभई बाल सुधार गृहमा राख्न आदेश अदालतले दिएपछि दुवैलाई बाल सुधार गृहमा राखिएको थियो।
अदालतको फैसला
कसुर कायम भएका दुवैजना प्रतिवादीहरू बालबालिका देखिएकाले निजहरूको उमेरको आधारमा सजाय निर्धारण गर्नुपर्ने हुन्छ। प्रतिवादी सम्साद मियाँको उमेर वरदात हुँदा १२ वर्ष पुगेको र मजिद मियाको उमेर वरदाता हुँदा १४ वर्ष पुगेको देखिन्छ।
यस्ता प्रतिवादीको हकमा सजायको उद्देश्य, सजाय निर्धारण गर्ने आधार एवं सजाय निर्धारण गर्दा विचार गर्नु्पर्ने हुन्छ। सो कुरालाई मनन् गर्दै कसुरको गम्भीरता र कसुरदारको दोषको मात्राअनुसार कसुर र सजायबीचको समानुपातिकता समेत विचार गरी फैसला गरिएको हो।
अभियुक्तको जन्मदर्ता प्रमाणपत्र नै फर्जी !
वरदात हुँदा बखत प्रतिवादीद्वय सम्साद र मजिदको उमेर खुल्ने जन्मदर्ता प्रमाणपत्र नै फर्जी रहेको जिकिर सुरुदेखि नै मुस्कानले गर्दै आएकी छन्। सजाय कम गराउने नियतले दुवैको उमेर घटाएर फर्जी जन्मदर्ता प्रमाणपत्र बनाइएको मुस्कान बताउँछिन्।
यति मात्र होइन, मुस्कानमाथि एसिड हान्ने सम्साद र मजिदको उमेर प्रहरी र अदालतको मिसिलमा फरक फरक उल्लेख छ। घटनालगत्तै पक्राउ परेपछि प्रहरीले अभियुक्तसँग लिएको बयानमा सम्सादको उमेर १८ वर्ष र मजिदको उमेर १९ वर्ष उल्लेख थियो।
प्रहरीको थुनामा भएका समयमा पनि प्रहरीले नारायणी अस्पतालमा चेकजाँच गराउँदा नारायणी अस्पतालका चिकित्सकले अभियुक्तहरूको सम्सादको उमेर १६ देखि १८ र मजिदको उमेर १८ देखि २० सम्मको उल्लेख गरेको पनि प्रहरीले अदालतमा पेस गरेको मिसिलमा जनाइएको थियो। तर जन्मदर्ता प्रमाणपत्र पेस भएको मिसिलमा भने सम्सादको २०६४ सालमा जन्म भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख छ। मजिदको भने जन्म १ वैशाख २०६२ मा भएको उल्लेख छ।
अदालतले त्यही जन्मदर्ता प्रमाणपत्रको आधारमा वरदाता हुँदाका बखत दुवै जना बालबालिका भएको ठहर गर्दै फैसला गरेको देखिन्छ।
सम्साद १८ महिनापछि पुनः पक्राउ
मुस्कानमाथि एसिड प्रहार गर्नेमध्येका एक अभियुक्त सम्साद १८ महिनापछि फेरि पक्राउ परेका छन्। कोभिडको पहिलो लहर सुरु भएका बेला अदालतको आदेशमा बालसुधार गृहबाट एक महिनाका लागि मात्र अभिभावकको जिम्मामा घर पठाइएका सम्सादलाई प्रहरीले गत बुधबार (असोज १३ मा) पक्राउ गरेको हो।
त्यो पनि पीडित मुस्कान आफैंले प्रहरीमा गएर गुहारेपछि मात्रै प्रहरीले सम्सादलाई गत बुधबार पक्राउ गरेको हो। सर्वोच्च अदालतमा २०७६ चैत ७ गते बसेको न्यायाधीशहरूको बैठकले बाल सुधारगृहमा रहेका बालबालिकालार्ई कोरोना संक्रमणको बेला उनीहरूको कैद सजाय स्थगन गरी अभिभावकको जिम्मा लगाउन सकिने निर्णय गरेको थियो।
सर्वोच्चको उक्त निर्णयमा कोरोना भाइरसको संक्रमणका बेला बाल सुधार गृहमा रहेका बालबालिकालार्ई खोजेको समयमा उपस्थित गराउन मिल्ने गरी अभिभावकको जिम्मा लगाएर पठाउन सकिने उल्लेख थियो।
त्यही निर्णयबमोजिम पर्सा जिल्ला अदालतको आदेशमा २०७७ वैशाख १४ गते फेरि उपस्थित हुने गरी सम्साद २०७६ वैशाख १५ मा बाल सुधार गृहबाट रिहा भएका थिए। मुस्कानलार्ई एसिड छ्याप्ने अर्का अभियुक्त मजिद आलमका अभिभावकले पनि रिहाको माग गर्दै अदालतमा त्यसबेला निवेदन दिए। तर पनि अदालतले मजिदको उमेर १८ वर्ष पुगेकाले उनलाई छोड्न नमिल्ने भन्दै उनको निवेदन खारेज गरिदिएको थियो।
उनी हाल बालसुधार गृहमै छन्। सम्सादलाई एक महिनामै (२०७७ वैशाख १४ मा) पुनः बाल सुधार गृहमा हाजिर हुनुपर्ने सर्तमा अदालतले ऊ बेला अभिभावकको जिम्मा लगाएर घर पठाएको भए पनि उनी घरमै बस्दै आएका थिए।
न त अदालतले उनलाई पक्रन कुनै चासो देखाएको थियो न प्रहरीले नै। आफूलाई एसिड हान्ने अभियुक्त गाउँघरमा खुलेआम हिँडिरहेको देखेपछि पीडित मुस्कानले गत बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलेलाई खबर गरेकि थिइन्। अनि मात्र प्रहरीले बुधबार नै वीरगन्ज—२ छपकैयाको इदगाह चोकबाट नियन्त्रणमा लिएर पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक पाण्डेले भने, ‘गत फागुनमा अदालतले गरेको सजाय फैसलाबारे प्रहरीलाई खबर थिएन, मुस्कान आफैंले आएर भने पछि हामी आफैंले अदालतमा गएर बुझ्यौं, अनि त्यही दिन फैसलाबारे पत्र अदालतबाट आयो, अनि सम्सादलाई पक्रेर ल्यायौं।’
सम्सादलाई अदालतको फैसलाअनुसार बाँकी पाँच महिना १६ दिनको कैद भुक्तानका लागि बालसुधार गृहमै पठाइदिने पाण्डेले बताए।
पीडित मुस्कानका बुवा रसुल अन्सारी भन्छन्, ‘सजायको फैसला भएको सात महिनासम्म फैसला कार्यान्वयन हुँदैन, अपराधी गाउँघरमै खुलेखाम घुम्छ। पीडित आफैंले पक्रन प्रहरीलाई गुहार्नु पर्छ, अदालतको लापरबाही भनिनसक्नु छ।’
पर्सा जिल्ला अदालतका से्रस्तेदार अरुण कोइरालाले भने फैसला तयार पार्न र फैसलाबारे पुनरावलोकनका लागि अभियुक्त पक्षलाई समय दिनुपर्ने भएकाले फैसला कार्यान्वयनमा ढिलो भएको हुन सक्ने बताए।
वाहवाही कमाएको एसिडसम्बन्धी अध्यादेश निष्क्रिय
अघिल्लो सरकारले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्रीवितरण, प्रयोग तथा त्यस्तो पदार्थको बिसर्जन गर्ने कार्य’ लार्ई नियमन गर्न मिति २०७७ असोज १२ गते तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश जारी गरेको थियो। अध्यादेश अनुसार गत चैत १६ गते नियमावली पनि बनायो। निकै प्रशंसा र वाहवाही कमाएको अध्यादेश हाल पूर्णतया निष्क्रिय छ।
व्यवस्थापिका संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार अध्यादेश संसद्मा पेस हुन सकेन। संसद्बाट पास हुन नसकेपछि नयाँ व्यवस्थाअनुसार कानुन बन्न सकेन। अध्यादेश पनि काम नलाग्ने बन्यो। पाण्डेका अनुसार अहिलेको सरकारले संसद् चलाउने र आवश्यक कानुन निर्माणको लागि प्रक्रिया सुरु गरिरहेको जानकारी दिए।
फैसलामा कानुनी त्रुटि देखिन्छ
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी मुस्कान खातुन मुद्दाको फैसलामा कानुनी त्रुटि हुन सक्ने सम्भावना व्यक्त गरेका छन्। उनी भन्छन्, फैसलाको पूर्ण पाठ हेरेको छैन तैपनि मुस्कानको अनुहारको चोट हेर्दा अवस्था हेरिकन ५ देखि ८ वर्षसम्म कैद हुनुपर्ने हो। अदालतले कुन कुन आधार र प्रमाणलार्ई हेरेर फैसला गरेको छ यही मुख्य कुरा हो।
फैसलामा कानुनी त्रुटि रहेछ भने उच्च अदालतमा पुनरावेदन गरेर मुद्दा फेरि हेर्नका लागि प्रक्रियामा जाने उनी बताउँछन्। पीडितको दाबी अनुसार फैसला छैन। झट्ट सुन्दा तथ्यको भ्रममा परी अदालतले हलुका ढंगले लियो कि भन्ने लाग्छ। रेग्मी थप्छन्, फौजदारी कसुरमा कहिलेकाहीं अपराध गर्नेभन्दा उक्साउने बढी दोषी देखिने गरेको बताउँदै नाबालकलार्ई गर्न लगाएको कसुरमा उक्साउने नै मुख्य दोषी देखिन्छ।
०००
एसिड प्रहार गर्नेविरुद्ध कानुनमा सजायको व्यवस्था के छ ?
एसिड प्रहार गर्नेहरूविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १४ को दफा १९३ (कुटपिट वा अंगभंगसम्बन्धी कसुर ) मा भनिएको छ, तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्न हुँदैन।
जसमा उपदफा २ बमोजिम कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ देखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र अन्य अंग कुरूप पार्ने वा शरीरमा पीडा पुर्याएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाखसम्म जरिवाना हुनेछ। उपदफा ३ बमोजिम जरिबानावापत प्राप्त हुने पूरै रकम पीडितलार्ई क्षतिपूर्तिबापत दिनुपर्ने माग गरिएको छ।
ऐनमा सजाय
- कसुरजन्य कार्य गर्दा बालबालिकाको उमेर १० वर्षभन्दा कम भए निज उपर कुनै प्रकारको मुद्दा नचलाइने र निजलार्ई कुनै किसिमको सजाय हुने छैन।
- १० वर्ष वा सोभन्दा माथि र १४ वर्षभन्दा कम उमेरको बालबालिकाले जरिवाना हुने कसुरजन्य कार्य गरेको भए निजलार्ई सम्झाइबुझाइ छाडिनेछ। कैद हुने कसुरजन्य कार्य गरेको भए कसुरको प्रकृति हेरी ६ महिनासम्म कैद सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म बालसुधार गृहमा राखिनेछ।
- १४ वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलार्ई कानुनबमोजिम उमेर पुगेको व्यक्तिलार्ई हुने सजायको आधा सजाय हुनेछ।
- १६ वर्ष वा सोभन्दा माथि र १८ वर्ष वा सोभन्दा कम उमेरको बालबालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलार्ई कानुनबमोजिम उमेर पुगेको व्यक्तिलार्ई हुने सजायको दुईतिहाई सजाय हुनेछ।
बालबालिकासम्बन्धी ऐनअनुसार, अदालतले सम्सादको हकमा वरदाता हुँदा उसको उमेर १२ वर्ष मात्रै भएकाले दोस्रो बुँदालाई टेकेर एक वर्षसम्म बाल सुधार गृहमा राख्ने सजाय तोकेको देखिन्छ। मजिदको हकमा भने वरदाता हँुदा उसको उमेर १४ वर्ष पुगेको ठहर गर्दै अदालतले कानुनबमोजिम उमेर पुगेको व्यक्तिलार्ई हुने सजाय (८ वर्ष कैद) को आधा (४ वर्ष कैद) तोकेको देखिन्छ।
०००
मुस्कान भन्छिन्, ‘दुवै अपराधीले मेरो जिन्दगी र सुन्दरता बर्बाद पारेका हुन्, एउटालाई चार वर्ष कैद तोकिएको छ त्यो पनि कम नै छ तर जसले म माथि एसिड हान्यो उसलाई त झन् एक वर्ष मात्रै कैद रे ! यो फैसलाले एसिडले ऊ बेला दिएको जलनभन्दा अहिले झन् धेरै पोलिरहेको छ।’ मुस्कान भन्छिन्, ‘हाम्रो देशको कानुन नै गजबको रहेछ, जसले एसिड हान्न अह्रायो उसलाई चार वर्ष कैद। अनि जसले आफैं एसिड हान्यो उसलाई एक वर्ष मात्र कैद, सुन्दै अचम्म लागेको छ।’
फैसलाको पूर्ण पाठ हेरेको छैन तैपनि मुस्कानको अनुहारको चोट हेर्दा अवस्था हेरिकन ५ देखि ८ वर्षसम्म कैद हुनुपर्ने हो।
सजायको फैसला भएको सात महिनासम्म फैसला कार्यान्वयन हुँदैन, अपराधी गाउँघरमै खुलेखाम घुम्छ। पीडित आफैंले पक्रन प्रहरीलाई गुहार्नु पर्छ, अदालतको लापरबाही भनिनसक्नु छ। वरदात हुँदा बखत प्रतिवादीद्वय सम्साद र मजिदको उमेर खुल्ने जन्मदर्ता प्रमाणपत्र नै फर्जी रहेको जिकिर सुरुदेखि नै मुस्कानले गर्दै आएकी छन्।
पीडितलाई मैले एकतर्फी माया गर्दै आएको थिएँ। पीडितले अस्वीकार गरेकाले सम्सादसँग मिलेर तेजाब खुवाउन खोजेका थियौं। उनले नमानेकाले पीडितको अनुहार र शरीरमा तेजाब फाल भनी मैले नै सम्सादलाई भनें। त्यसपछि उसले एसिड फालेको हो।
प्रतिक्रिया दिनुहोस !