बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

अजबी पौड्याल/काठमाडौं, शिवराज भट्ट/धनगढी, ललितबहादुर बुढा/सुर्खेत, हरिबहादुर लम्जेल/धनकुटा, तोयानाथ भट्टराई/इलाम, हिमाल दाहाल/इटहरी, भीमकुमार बाँस्कोटा/फिदिम, महादेव अवस्थी/महेन्द्रनगर, परमानन्द पाण्डे/टीकापुर, भरत खड्का/उदयपुर 

बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन्। ५० घरमा पानी पसेको छ। 

इटहरीमा बाढीपछिको अवस्था । तस्बिर : हिमाल दाहाल 

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन्। इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन्। 

नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाएर सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार भइरहेको बताए। 

एकै गाउँपालिकामा २१ को मृत्यु
पहिरो तथा खोलाले बगाउँदा पाँचथरको मिक्लाजुङ गाउँपालिकाका २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए। त्यस्तै उदयपुरमा छुट्टाछुट्टै खोलाले बगाउँदा एक सरकारी कर्मचारीसहित २ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उदयपुरगढी गाउँपालिका–८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठ र त्रियुगा नगरपालिका–५ लालपतास्थित बिलाउनेका ४० वर्षीय टुकशहादुर खड्काको ज्यान गएको छ।   

उनका अनुसार मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन्। वडा नम्बर १ मा २ र वडा नम्बर २ मा २ जनाको ज्यान गएको छ। वडा नम्बर ४ मा खोलाले बगाएर १ जना बेपत्ता छन्। यस्तै वडा नम्बर ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए। यस्तै, फिदिम–४ मा २  जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्मायकमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ।

इलाममा १३ को मृत्यु
इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। खोलाको भेलले बगाएर १ र रूखले किचेर थप १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। २ जना बेपत्ता र ४ जना घाइते भएको प्रहरीले जनाएको छ। 

अधिकांश चुरे क्षेत्र ओगटेको माङ्सेबुङ गाउँपालिकामा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। माङ्सेबुङ गाउँपालिका–६ का ५३ वर्षीय हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्याेदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षीय विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ। माङ्सेबुङ–६ की ८२ वर्षीया रनश्वरी राई र त्यहीँकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पहिरोमा परी फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको छ। फाकफोकथुम–१ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई, ८६ वर्षीय नैनसिंह कटवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षीय निश्चित कटवालको मृत्यु भएको छ। देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माई नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय बेतेनी जंगलमा रूखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा परेर माङसेबुङ–६ चिसापानीका जमन राई र भक्तबहादुर राई, फाकफोकथुम–१ ठिंगेपुरका नरबहादुर सेर्मा र खगेन्द्र सेर्मा घाइते भएको प्रहरीले जनाएको छ। 

मानवीय क्षतिसँगै माङ्सेबुङ गाउँपालिकामा रहेका पक्की पुल र बाटो घाटोमा ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए। 

दसैंको आशीर्वाद लिन हिँडेका फेरि फर्किएनन् 
धनकुटा चौबीसे गाउँपालिका–१ गडेरेका भीमबहादुर श्रेष्ठको घर पहिरोले पुरिँदा दसैंमा टीका थाप्न आएका आफन्तले पनि ज्यान गुमाएका छन्। ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। 

६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षका उनका नाति विनोद श्रेष्ठ, ५ वर्षकी नातिनी निर्जला श्रेष्ठको निधन भएको छ। दसैंमा टीका थाप्न दमकबाट आएका श्रेष्ठका दाजुका छोरा सञ्जीव श्रेष्ठको परिवारले पनि पहिरोमा ज्यान गुमाएको छ। सञ्जीवका दुई छोरा सन्जेल र दिप्सन श्रेष्ठको पनि घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायाले बताए। 

दसैंमा टीका थाप्न र आशीर्वाद लिन हिँडेका उनीहरूको मृत्युको खबर सुन्दा विश्वास नै नलागेको सन्दीपका ससुरा चन्द्रबहादुर तामाङले टेलिफोनमा बताए।  दसैंमा टीका थाप्न भनेर माइत आएकी भीमबहादुरकी छोरी लक्ष्मी श्रेष्ठको पनि पहिरोमा परी ज्यान गएको छ। 

हुम्लामा एकै परिवारका ६ को ज्यान गयो 
हुम्लाको खार्पुनाथ गाउँपालिका ठूलो–५ खर्पेलका धनबिरे शाहीको घर पहिरोले पुरिँदा ६ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार ७० वर्षीय शाही, उनका ज्वाइँ ५५ वर्षीय कलबहादुर शाही, कलबहादुरकी श्रीमती ४० वर्षीया आशा शाही र छोराहरू १३ वर्षीय अलिन्द शाही, पाँच वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पहिरोमा पुरिएर मृत्यु भएको हो। सुतिरहेका सबैको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए।

त्यस्तै कालीकोटमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ। महावै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, जुम्लामा बाढीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा एक जना बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा हिमा गाउँपालिका–६ बाघबजारकी ३३ वर्षीया रन्ना शाही छिन्। 

वृद्धको शव फेला, एक बेपत्ता
इटहरीको आर्मी क्याम्प छेउ ७१ वर्षीय चन्द्रमणि काफ्लेको शव भेटिएको छ। मंगलबार बिराटचोक जान भनी हिँडेका उनलाई राति आएको बाढीले बगाएर ल्याएको अनुमान गरिएको छ।

मंगलबार साँझ मोटरसाइकलसहित भेलले बगाएका यामबहादुर प्रधानलाई तीन घण्टापछि सकुसल उद्धार गरिएको छ।

बाढीले इटहरी ४, ८, ९ वडाका केही घरहरूसमेत भत्काएको छ। टेंग्रा खोला, खेती खोला, पानीपिया खोला, सुकुमारी खोलामा आएको बाढीले दर्जनौं घरहरूको एक तलासम्म डुबाएको छ। कैयौं उद्योग तथा पसलका सामान, मेसिनमा पानी पसेर करोडौंको क्षति भएको छ। बाढीले केही स्थानमा बाटोसमेत बगाएको छ।

सुदूरपश्चिममा २६ को ज्यान गयो  
सुदूरपश्चिममा बाढी पहिरोमा परी २६ जनाको ज्यान गएको छ। सबैभन्दा बढी डोटीमा ११ जनाले ज्यान गुमाएका छन्। बझाङमा ८, बैतडीमा ४, डडेल्धुरामा २ र कैलालीमा २ जनाको ज्यान गएको छ।

डोटीको जोरायल गाउँपालिकामा ६ जनाको मृत्युु भएको छ। घरमा च्यापिएर एकै परिवारका ३ र आफन्त १ गरी ४ जनाको मृत्युु भएको छ। जोरायल गाउँपालिका–३ नवलपुरका जोगी सार्की, उनकी श्रीमती झुपरी सार्की, वडा नम्बर ४ सईगडाका शेरबहादुर विक, उनका छोरा मोहन विक, छोरी पवित्रा विक, सोही वडा घर भएर मामा घर आएका १६ वर्षका रविन विकको पहिरोमा परी मृत्यु भएको हो। 

यस्तै डोटीकै शिखर नगरपालिका–११ बारबाटाकी मन्धरा बलायरको पहिरोसँगै आएको ढुंगा टाउकोमा लागेर मृत्यु भएको छ। डोटीमै ११ वर्षका आशिष कुन्जेडा, र सागर कुन्जेडाको पनि पहिरोमा परी मृत्यु भएको छ। 

डडेल्धुराको गन्याधुराका विष्णु अवस्थी र नरपता शाहीको पहिरोमा ज्यान गएको छ। बैतडीमा परुदेवी महरा, भानु पार्की, पवित्रा पार्की र देवन पार्कीको पहिरोले पुरिएर ज्यान गएको छ। यस्तै बझाङका ७३ वर्षका धनराज जोशी र कैलालीका ८६ वर्षीय करबिरे ढोलीको पनि पहिरोमा मृत्यु भएको छ। 

इलामको सूर्योदय नगरपालिका—३ मा घरसहित परिवार बगाएको पहिरो ।  तस्बिर : तोयानाथ भट्टराई

बैतडीमा सेतीको पानीको बहाव घटेको छ। त्यहाँ ६० जना फसेका थिए। नेपाली सेनाको हेलिकप्टरले खराब मौसमका कारण मंगलबार त्यहाँबाट सर्वसाधारणको उद्धार गर्न सकेन।

बझाङमा तीनको शव निकालियो 
बझाङको थलारा गाउँपालिकामा पहिरोमा हराइरहेका तीन जनाको शव फेला परेको डीएसपी रुपक खड्काले बताए। थलारा–४ डिख्लाका २३ जना पहिरोमा परेर मंगलबार बिहानदेखि बेपत्ता थिए। 

बझाङकै खप्तडछान्ना गाउँपालिका–४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा रोकाया र उनकी श्रीमती जयसराको ज्यान गएको छ। यस्तै खप्तडछान्ना गाउँपालिका–५ मा पहिरोले घर पुर्दा बिरु गिरी र उनकी श्रीमती चन्द्रा गिरीको ज्यान गएको छ। बझाङकै घट्टे खोलाले बगाएर १० वर्षका कालु कठायतको ज्यान लिएको छ। 

२२ घण्टापछि राजमार्ग सुचारु
लेउती खोलाले बगाएको कोसी राजमार्ग २२ घण्टापछि सञ्चालनमा आएको छ। लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका–६ फेदिमा करिब ५० मिटर सडक बगाएको थियो। दिउँसो साढे एक बजेदेखि राजमार्ग अस्थायी रूपमा सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए। 

महाकालीको बहाव घट्यो
महाकाली नदीमा सोमबार ९२ वर्षयताकै ठूलो बाढी आएको थियो। बुधबार बिहानदेखि बहाव कम हुन थालेको छ। बनबासास्थित शारदा ब्यारेज निमार्णमा ५ लाख ७७ हजार क्युसेक मापन गरिएको थियो। बुधबार दिउँसो बहाव घटेर २ लाख ३९ हजार क्युसेक पुगेको छ।

‘नदीमा पानीको बहाव घटिसक्यो, बस्तीबाट पनि पानी निकास भइसकेको छ’, वडाध्यक्ष कृष्ण देउवाले भने, ‘विस्थापितका लागि विद्यालयमा खाने बस्ने व्यवस्था मिलाएका छौं।’ 

कञ्चनपुरमा पुनर्वास, बेलौरी, लालझडी भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा गरी ७ सय परिवार बिस्थापित भएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार २ हजार ६ सय १० जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जिल्लामा धनजनको क्षति भए पनि मानवीय क्षति नभएको बताए।

ढुंगा अभावले भत्कियो भाइरल रोड
महाकाली नदीमा निर्माणाधीन ४ लेन पुलको पहुँच मार्ग (भाइरल रोड) बाढीले भत्काएको छ। अस्फाल्ट प्लान्ट एरिया पूरै डुब्दा निर्माण सामग्री र यातायातका साधनमा ठूलो क्षति पुगेको छ।

पुलको दुवैतर्फ ५ हजार ४ सय मिटर बाँध निर्माण गर्ने योजना थियो। जसका लागि २ सय ६० किलोग्रामभन्दा बढी तौलका १ लाख ४१ हजार घनमिटर ढुंगा आवश्यक छ। महाकाली पुल योजना कार्यालयले स्थानीय तहहरूसँग पटक–पटक ढुंगा उपलब्ध गराउन आग्रह गरे पनि त्यो उपलब्ध नहुँदा सडक भत्किएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.