न्यायाधीश आफ्नो अडानमा टसमस भएनन्, बार रणनीति बनाउँदै
काठमाडौं : सर्वोच्च अदालतमा लगातार चार दिनदेखि इजलास प्रभावित बन्दै आएको छ। सर्वोच्चका न्यायाधीशहरु नै लगातार इजलास बहिष्कार गर्दै आएपछि शुक्रबारको इजलास पनि प्रभावित भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास बाहेक अन्य इजलास ठप्प छन् । जसकारण लामो समयदेखि न्यायको पर्खाइमा रहेका सेवाग्राही मर्कामा परेका छन् ।
प्रधानन्यायाधीश जबराले शुक्रबारका लागि आठवटा इजलास तोकेका छन् । सर्वोच्चका अनुसार १७२ मुद्दाको पेसी समेत तोकिएको छ ।प्रधानन्यायाधीश जबराले शुक्रबारका लागि एकल इजलास भने तोकेका छैनन् ।
जबराले अन्य दिन एकल इजलास तोकेपनि शुक्रबार भने न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोकेका छन् । न्यायाधीशहरूले शुक्रबार साढे ११ बजेतिर आन्तरिक छलफल जुट्दैछन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायी आन्दोलनमा छन् । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशकै कारण न्यायीक क्षेत्रमा विचलन छाएको भन्दै आन्दोलनमा जाने घोषणा गरेको छ । बारका महासचिव लीलामणी पौडेलले प्रधानन्यायाधीशले यथाशीघ्र निकास नदिए कालोपट्टी बाँध्नेदेखि बेन्च बहिष्कारसम्मका कार्यक्रम ल्याउने बताए।
वरीष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !