मधुमेह उपचारमा पहुँच अभाव
काठमाडौं : वर्तमान समयमा घर–घरमा बालबालिकादेखि ज्येष्ठ नागरिक मधुमेहको समस्या देखिन थालेको छ। तर, यसको उपचारमा पहुँच अभाव देखिएको छ। वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईका अनुसार मुटु र मिर्गौलालगायतका रोगलाई जति प्राथमिकतमा राखिएको राखिएको छ त्यति प्राथमिकता मधुमेहलाई दिइएको छैन।
मुटु रोगको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर सञ्चालनमा छन्। मधुमेहको उपचारमा पनि विशिष्टिकृत अस्पताल वा सेन्टरको स्थापना हुनुपर्ने विज्ञहरूको सुझाव छ।
त्यस्तै, मिर्गौला प्रत्यारोपणको सेवामा दक्ष चिकित्सकहरू उत्पादन भइसकेका छन्। तर, मधुमेहको उपचारमा दक्ष चिकित्सक न्यून छन्। मधुमेह भएको धेरै समयपछि मात्र जटिलता देखिन्छ। अनि मात्र रोगको पहिचान हुन सक्छ। अर्थात् जटिलता वा समस्या जटिल भइसकेपछि मात्रै मधुमेहका लक्षण देखिन सक्छ। ‘दक्ष चिकित्सक र उपचार केन्द्र नहुँदा बिरामीको उपचारमा पहुँच पुग्न सकेको छैन।’ मधुमेह रोग विशेषज्ञ डा. भट्टराई भन्छिन्, ‘मधुमेह रोग बढ्दो छ। त्यसलाई दृष्टिगत गरी सरकारी तवरबाट दक्ष चिकित्सकीय जनशक्ति उत्पादन गर्ने, रोकथामलाई बढी महत्त्व दिने र उपचारमा पहुँच पुर्याउने काम पर्याप्त छैन। नीतिगत तहले यसमा धेरै काम गर्नुपर्ने छ।’
सरकारले सुगरजन्य पदार्थको आयातमा पनि बढी कर लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ। ‘बालबालिकाहरूको वजन बढाउने खाद्य पदार्थहरू भित्रिरहेको छ। यी खाद्यपदार्थको विज्ञापन पनि बढी भइरहेको छ।
यसमा ‘सुगर ट्याक्स लगाउनुपर्छ,’ डा. भट्टराईले भनिन्, ‘विद्यालय हाताभित्रै मधुमेह गराउन सक्ने खाद्य पदार्थको बिक्री वितरण भइरहेको छ। यसले भविष्यमा बालबालिकालाई मधुमेह हुने जोखिम छ।’
५० प्रतिशतलाई थाहै छैन
डा. भट्टराईका अनुसार अहिले पनि मधुमेहीमध्ये ५० प्रतिशतभन्दा बढीलाई यो रोगबारे थाहै छैन। त्यसकारण आधा व्यक्ति मात्र उपचारको पहुँचमा पुग्ने गरेका छन्।
लक्षण सबैलाई नहुने भएकाले धेरै मानिसलाई मधुमेह भइरहेको हुन सक्छ। रगतमा चिनिको मात्रा बढे पनि मधुमेहको लक्षण नदेखिन सक्छ। थाहा पाउँदासम्म दीर्घकालीन असरहरू परिसकेको हुन्छ। शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्न सक्दा रोगबाट जोगिन सकिन्छ।
परिवारका सदस्यको जीवनशैली, एकआपसको सम्बन्ध, खानपिन, आर्थिक एवं मानसिक पक्षमासमेत मधुमेहको समस्या जोडिने विज्ञहरू बताउँछन्।
मधुमेह हुँदैमा जीवन समाप्त हुँदैन। विज्ञको परामर्शमा रोगलाई नियन्त्रण गरेर जीवन सहज बनाउन सकिन्छ। मधुमेह रोग विशेषज्ञ डा. भट्टराईका अनुसार मधुमेह निको हुने भ्रममा कतिपय बिरामी थेरापिमा समेत जाने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !