एमाले उपाध्यक्षमा घिमिरेको उम्मेदवारी घोषणा
काठमाडौं: एमालेको दसौं महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। यसैक्रममा सोमबार प्रदेश १ अध्यक्ष देवराज घिमिरेले केन्द्रीय उपाधक्ष्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
अन्नपूर्ण पोस्ट्सँग कुराकानी गर्दै घिमिरेले समकालीन नेताहरू र कार्यकर्तासँगको सल्लाहमा उपाध्यक्षमा दाबी प्रस्तुत गरेको बताए। ‘२७ वर्षदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य छु। विगतमा समकालीन साथीहरूलाई पदाधिकारीमा सहयोग गरेँ,’ उनले भने, ‘अब मलाई सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु।’
एमालेमा निष्ठावान्, सादगी र इमान्दार नेताको छवी बनाएका घिमिरे अध्यक्ष केपीशर्मा ओली निकट छन्। चौथो महाधिवेशनबाट प्रतिनिधी र पाँचौं महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्य छन्। माओवादीसँग पार्टी एकीकरण भएर नेकपा बनेपछि उनले प्रदेश नं १ अध्यक्षको जिम्मेवारी पाएका हुन्।
यसअघि लामो समयसम्म मोची अञ्चल इन्चार्ज, केन्द्रीय स्वास्थ्य विभाग प्रमुख, प्राध्यापक संघ, शिक्षक संगठन हेर्ने प्रमुख, इन्जिनियरिङ विभाग प्रमुख, युवा संघ इन्चार्जलगायत जिम्मेवारी निर्वाह गरिसकेका छन्। घिमिरे मेची अञ्चलको इन्चार्ज भएको बेला २०५१ सालमा मेचीका सबै निर्वाचन क्षेत्रबाट एमालेले चुनाव जितेको थियो।
‘पार्टीले हालसम्म दिएका सबै जिम्मेवारीलाई सफलतापूर्वक निभाएको छु। उमेर, पार्टीमा गरेको लगानी, निष्ठा, इमान्दारिता र क्षमताको हिसाबले अब पदाधिकारीमा बसेर काम गर्नुपर्छ भनेर उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेको हुँ,’ उनले भने।
एमालेले दसौं महाधिवेसनलाई सहमतिको महाधिवेसन बनाउने भनिरहेको समयमा आफ्नो उम्मेदवारीले सहमतिको वातावरण बनाउन सहज हुने उनको भनाइ छ। महाधिवेसन मंसिर १० देखि चितवनमा हुँदैछ। एमालेको विधानमा चार उपाधक्ष्य रहने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !