यक्ष प्रश्नको कठघरामा एमाले

यक्ष प्रश्नको कठघरामा एमाले

नेपाली कम्युनिस्ट आन्दोलनको ठूलो हिस्सा ओगट्न सफल भइरहेको पार्टी नेकपा एमाले दसौं महाधिवेशनमा प्रवेश गरिसकेको छ। महाधिवेशन प्रतिनिधि छनोट गर्ने र महाधिवेशन स्थलमा तयार गर्नुपर्ने आवश्यक व्यवस्थापनको पाटो पनि करिब सम्पन्न हुन लागेको छ। केही आकांक्षी नेतृत्वहरूले अनौपचारिक रूपमा आफ्नो उम्मेदवारी समेत घोषणा गर्न थालिसकेका छन्।

राजनीतिक दलहरूले यतिबेलाको समयलाई महाधिवेशनको समय बनाएका छन्। देश नै राजनीतिक महाधिवेशनमय बनेको छ। तर देशको सबैभन्दा ठूलो दल र कम्युनिस्ट पार्टी एमालेको महाधिवेशनलाई समग्र नेपाली समाज र शक्ति केन्द्रहरूले विशेष चासोका साथ नियालिरहेका छन्। आगामी एमाले र नेपालको भविष्य एक ढंगले जोडिएर बहस भइरहेको छ। त्यसैले ठूलो उकालीओराली, उतारचढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशन निरन्तरताको औपचारिक महाधिवेशन मात्र पक्कै हुने छैन। थप बृहत् एकता गर्दै पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको निर्विवाद मूलप्रवाह बनाउने कार्य गर्दै विशेष ऐतिहासिक रूपमा सम्पन्न गर्नुपर्छ।

दसौं महाधिवेशन : एकताको महाधिवेशन

नेपालमा राजनीतिक दलहरूलाई व्यवस्थित बनाउन कानुनी रूपमै अधिवेशनहरूको समयावधि निर्धारण गरिएको छ। दलहरूको नियमित महाधिवेशन, अधिवेशन वा राष्ट्रिय सम्मेलन कानुनमा तोकिएको प्रबन्ध अनुरूप निर्धारित समयमै गर्नुपर्छ। यस्तो कानुनी प्रबन्धले विशेष परिस्थितिको केही समय बाहेक आफ्नै दलको नेतृत्वले समेत निरन्तरता पाउन सक्दैन। राजनीतिक विचार, दल र नेतृत्व नै राज्यका सञ्चालक हुने भएकाले उनीहरूलाई व्यवस्थित गर्न गरिएको सो प्रबन्धले अन्ततः राज्य र जनतालाई लाभ गर्दछ।

राज्यले कानुनी मापनका आधारमा दललाई अध्यावधिक गर्न खोज्ने कुरा एउटा महत्त्वपूर्ण विषय भयो। दलले भने राजनीतिक, वैचारिक र सांगठनिक रूपले आफूलाई नियमित विकास गरिराख्न जरुरी हुन्छ। अन्यथा उसले निरन्तर विजय प्राप्त गर्न सक्दैन। त्यसैले कानुनी दायराहरू र तोकिएको निर्धारित विधिहरूभन्दा धेरै विशद प्रक्रियाहरूबाट राजनीतिक दल अगाडि बढिरहेका हुन्छन्, जुन कुरा तत्कालीन परिस्थितिहरूसँग सम्बन्धित भइरहेको हुन्छ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने सवालले यतिबेला निकै महत्त्व पाएको छ। किनकि टुटफुट र एकताको आधारमा यो महाधिवेशन उभिएको छ। महाधिवेशनमा मूलतः चार प्रकारका नेतृत्वको सहभागिता छ। तर महाधिवेशनले सबै नेतृत्वलाई औपचारिक रूपमा विजयी गराउनु पर्नेछ। राजनीतिमा महत्त्वाकांक्षी मान्छे नै लाग्ने गर्छन्। विचार, पार्टी र देशको नेतृत्व गर्ने सबै राजनीतिकर्मीको आकांक्षा हुन्छ। यो साधारण विषय हो। आकांक्षाविहीन व्यक्तिले राजनीतिक नेतृत्व गर्न पनि सक्दैनन्। तर आकांक्षालाई निरपेक्ष रूपमा पनि लिन सकिँदैन। १०औं महाधिवेशन विगतको एमालेको महाधिवेशन होइन। वर्तमानमा उभिएको एमाले नेतृत्व तथा कार्यकर्ता पंक्ति सहभागिताको हिसाबले पनि यो पार्टी विगतको एमाले होइन।

अध्यक्ष ओलीको नेतृत्वमा निर्माण भएको संगठनको अधिक ठूलो हिस्सा आजको एमालेमा छ। सँगै रामबहादुर थापा ‘बादल’ नेतृत्वमा पूर्वमाओवादी समूह, एमालेमा नै फरक संगठनात्मक अभ्यास गर्दै आएको समूह र अन्य राजनीतिक संगठनमा रहेका नेतृत्व वा समूह पनि ओलीको नेतृत्वमा पार्टी निर्माण गर्न समाहित हुने क्रम जारी छ। यहाँनेर एउटा महत्त्वपूर्ण सवाल छ, अन्य राजनीतिक संगठनमा आबद्ध भएर काम गरिरहेका नेता तथा कार्यकर्ता अध्यक्ष ओली वा विगतको एमालेसँग प्रतिस्पर्धा गर्न समाहित भएका होइनन्। अध्यक्ष ओलीले अगाडि सारेको राष्ट्रवाद र समृद्धिको विचार वा कार्यक्रमसँग जोडिएका हुन्। त्यसैले महाधिवेशनले मूलतः राष्ट्रवाद र समृद्धिको कार्यक्रमलाई कार्यान्वयन गर्न विचार र एकताबद्ध नेतृत्वको निर्माण गर्नुपर्छ। पार्टीले वडा र स्थानीय तहगत कमिटीहरूमा अध्यक्ष कमरेड ओलीको विचारको आलोकमा सर्वसम्मत रूपमा कमिटीहरू निर्माण गर्ने कार्य सम्पन्न गरेको छ। यति मात्रै होइन, प्रतिनिधि छनोट गर्ने कार्य पनि सर्वसम्मत गरेर समृद्धिको विचार मन्थन र संगठनात्मक रूपमा एकता महाधिवेशन सम्पन्न गर्न 
अधिकार दिएको छ।

आगामी एमाले र नेपालको भविष्य एक ढंगले जोडिएर बहस भइरहेको छ। त्यसैले ठूलो उकालीओराली, उतारचढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशन निरन्तरताको औपचारिक महाधिवेशन मात्र पक्कै हुने छैन।

महाधिवेशनमा पार्टी नेतृत्वमा दाबी गर्न सक्ने र निर्वाचित हुन पाउने लोकतान्त्रिक एवं नैसर्गिक अधिकार सहभागी सबै प्रतिनिधिलाई बराबर रहन्छ। प्रतिनिधिले अधिकारको प्रयोग पार्टी वा आन्दोलनलाई थप बलियो बनाउन साथै राष्ट्र र जनतालाई केन्द्रमा राखेर गर्नुपर्छ। मत विभाजन गरेर मात्रै नेतृत्व निर्माण गर्नुपर्छ भन्ने निरपेक्ष धारणा यतिबेला एमालेमा लागू गर्नु हुँदैन। त्यसो गर्न खोजियो भने एकताका आधारहरू र नयाँ सन्दर्भमा पार्टीको विकास गर्ने प्रश्न कमजोर बन्न पुग्छ। अन्ततः त्यसले लोकतन्त्रको नाममा पार्टी आन्दोलनलाई नै कमजोर बनाउँछ। त्यसैले महाधिवेशनमार्फत अध्यक्ष ओलीको नेतृत्वमा सबै पक्ष र नेतृत्वको सहभागितामा सहमति वा जनवादी प्रक्रियाको माध्यमबाट एकताबद्ध नेतृत्व चयन गर्नुपर्छ। त्यसो गर्दा नै पार्टीमा वैचारिक तथा भावनात्मक एकता पैदा हुन जाने र आगामी चुनौतीहरूलाई चिर्दै राज्यसत्तामा पुग्ने अवस्था सिर्जना हुन पुग्छ।

मूलप्रवाह निर्माणको प्रश्न
झन्डै दर्जनौं कम्युनिस्ट ब्रान्ड बोकेका पार्टीहरूको बीचमा थप एउटा पार्टी एमाले बनाउने कुरा त्यति धेरै महत्त्वपूर्ण विषय होइन। धेरै कम्युनिस्ट नामका पार्टीहरूको अस्तित्वका कारण आमजनतामा भ्रम पैदा भइरहने र कम्युनिस्ट आन्दोलन प्रभावकारी बन्न नसकेको अवस्था छ। स्थापना कालदेखि नै टुटफुट र एकताको चरणबाट गुजँ्रदै आउँदा पनि एमालेले आमजनतामा आफूलाई निरन्तर मूलप्रवाहको रूपमा उभ्याउन सफल भएको छ। तर मूलप्रवाहसँग सम्बन्धित प्रश्नको छलफल भने टुंगिसकेको छैन। त्यसैले १०औं महाधिवेशनले एउटा नयाँ संकल्प गर्नुपर्छ कि एमाले पार्टीलाई हामीले निर्विवाद रूपमा नेपाली कम्युनिस्ट वा वामपन्थी आन्दोलनको मूलप्रवाहको रूपमा स्थापित गर्नेछौं। घोषणा गर्दाकै आधारमा वा प्रतिबद्धता जनाउँदाकै आधारमा पार्टीलाई निर्विवाद मूलप्रवाहको रूपमा निर्माण गर्न सक्छौं ? अवश्य सक्दैनौं। यो हाम्रा लागि निकै चुनौतीपूर्ण प्रश्न हो। तर १०औं महाधिवेशनमा उभिएर हामीले यसको यात्रा तय गर्न सक्छौं।

रुढिवाद, उग्रवाम र दक्षिणपन्थी रुझान राख्ने तर कम्युनिस्ट ब्रान्ड बोक्ने कम्युनिस्ट पार्टीहरूले अबको सन्दर्भमा राजनीतिक नेतृत्व गर्न सक्दैनन्। त्यसका लागि गतिशील विचार, कार्यक्रम, नेतृत्व र संगठनको आवश्यकता छ, जुन प्रगतिशील तथा वैज्ञानिक विधिमा सञ्चालन हुनुपर्छ। माक्र्सवादलाई नेपाली सापेक्षतामा र वर्तमान सन्दर्भमा उचित ढंगले प्रयोग गर्ने कुरा मात्रै सुहाउँदो र दिगो हुन सक्छ। अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादमा आधारित समृद्ध नेपाल सुखी नेपालीको सवाललाई यतिबेला दह्रोसँग पक्डिनुभएको छ। 

तीन वर्षको सरकार सञ्चालन अवधिमा धेरै पक्षको असहयोगका बाबजुद पनि उहाँले वास्तविक राष्ट्रवाद र समृद्धिको मूल्य मान्यतालाई छाड्नु भएन। वर्तमान सन्दर्भमा हामी २०७२ को संविधानमार्फत संवैधानिक मूल्य मान्यता र संरचनाअनुसार आधुनिक नेपालमा प्रवेश गरेका छौं। स्वयं संविधानले समाजवाद उन्मुख यात्रा तय गरेको छ। संविधानमा अवश्य पनि केही न केही कमजोरी छन्। ती कमजोरीलाई हामीले आमजनताको सहभागितामा उचित विधि र पद्धतिका माध्यमबाट हल गर्दै जान सक्छौं। तर समृद्ध नेपाल सुखी नेपालीको कार्यक्रमलाई लागू गर्न वर्तमान संविधान अवरोधक छैन, बरु यसले मार्ग प्रशस्त गरेको छ।

१०औं महाधिवेशनमा हामीले मुलुकमा खेतीपातीको रूपमा कम्युनिस्ट पसल थाप्नेहरूलाई एउटै फ्रेममा कसरी ल्याउन सकिन्छ ? कतै हामी जनताका आधारभूत सवालहरूलाई निरन्तर सम्बोधन गर्ने विषयमा त चुकिरहेका छैनौं ? यी विषयमा छलफल गरौं। दुई ठूला कम्युनिस्ट पार्टीहरूलाई मिलाएर विचार र संगठन दुवै हिसाबले विशाल नेकपा निर्माणको प्रयत्न अध्यक्ष ओलीले गरेकै हो। त्यसको दुःखद् विघटन भइसकेको छ। तर फेरि पनि संगठनात्मक रूपमा अन्य आन्दोलनबाट विकास भएका राजनीतिक नेता तथा कार्यकर्तालाई पनि उचित अवसर र सम्मानपूर्वक स्थान दिने विषयमा अध्यक्ष ओलीले तुलनात्मक रूपमा ठूलो छाती बनाएका छन्।

स्थायी राजनीतिबिना मुलुकमा समृद्धि सम्भव छैन। त्यसैले धेरैले कम्युनिस्ट नामको पसल खोलेर राजनीति गरिरहेका कारणलाई पनि हामीले सम्बोधन गर्ने आँट गर्नुपर्छ। जसले गर्दा जनतामा भ्रमको खेती गरिरहने साना पसलहरूको अन्त्य हुने र देशले राजनीतिक रूपमा स्थिरता प्राप्त गर्ने वातावरण निर्माण हुन सक्छ। अध्यक्ष ओलीले अगाडि सारेको राष्ट्र समृद्धिको प्रश्नलाई कार्यान्वयन गर्न सम्पूर्ण अर्थराजनीतिक कार्यदिशाको निर्माण गर्न महाधिवेशनलाई उचित स्थान र विन्दुको रूपमा प्रयोग गरौं। जसले गर्दा नेकपा एमाले नेपाली कम्युनिस्ट आन्दोलनको अनवरत मूलप्रवाह बन्न सक्नेछ।

लेखक नेपाल कम्युनिस्ट पार्टी एमाले स्याङ्जाका अध्यक्ष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.