देउवा–ओली सघन वार्तामा, एमालेको मागप्रति दुई कदम पछाडि हट्न कांग्रेस तयार
काठमाडौं : सत्तारूढ नेपाली कांग्रेस एमालेको मागप्रति दुई कदम पछाडि हट्न तयार भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शुक्रबार बालकोट
पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि दुई कदम पछाडि हट्न तयारको सन्देश दिएका छन्।
कांग्रेस सभापतिसमेत रहेका देउवा पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका थिए। कार्कीले कांग्रेस दुई कदम पछाडि हट्न तयार भएको बताए। सरकारका प्रवक्ता उनले प्रधानमन्त्रीले सबैको सहमतिमा एमसीसी पारित गर्न प्रस्ताव गरेको बताए। एमालेले भने पुरानै अडान कायम राखेको पनि उनले बताए।
‘प्रधानमन्त्रीले सबैको सहमतिमा एमसीसीलाई संसद्बाट अनुमोदन पारित गरौं। तपाईंहरूको सहयोग चाहिन्छ भन्नुभयो’, उनले भने, ‘उहाँले पुरानै कुरा हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण दिनुस्। हामीले धेरै ठूलो संघर्ष गरेर सहकार्य गरेका छौं। हामी लोकतन्त्रका सहयात्री हौं भन्नुभयो।’ उनले सत्ता गठबन्धन टुटिनसकेको बताए। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छलफलबाट कुनै निकास ननिस्किएको बताए। उनले भने, ‘यस्तै किसिमको छलफल हुँदै आएको धेरै भयो। निकास अभैm निस्किएको छैन। प्रतिपक्ष आफ्नै अडानमा छ। छलफल गर्नुछ। गठबन्धन दलबीच पनि ठोस सहमति भएको छैन।’
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीको विषय एमाले अनिर्णीत नबस्ने स्पष्ट पारे। उनले भने, अनिर्णीत हुँदैन, निर्णय गर्छ नै।’ उनले छलफलको वातावरण नै भएको एमाले निर्णय गर्न नसकेको उनको तर्क छ। उनले भने, ‘प्रधानमन्त्रीले एमसीसीलाई पारित गर्न नेकपा एमालेको सहयोग खोजेका हौं। देशका लागि तपाईंहरूको सहकार्यको खाँचो छ।
लोकतन्त्रका लागि लडेका शक्तिहरू एकजुट गर्नुपर्ने समय छ भन्नुभयो।’
नेकपा एमालेले सदनमा छलफल गर्ने वातावरण पाउनुपर्ने कुरा राखेको ज्ञवालीले बताए। ‘बहुदलीय व्यवस्थामा दलबाट निर्वाचित हामीले छलफल गर्न पाइरहेका छैनौं। लोकतन्त्र प्राप्तिको निर्णायक भूमिकामा रहेका पार्टीबीच सहकार्य हुनुपर्यो। त्यसमा नेकपा एमाले प्रमुख पार्टी हो’, उनले भने।
उनले कांग्रेससँग सहमति भने भइनसकेको बताए। तर गठबन्धनप्रति कांग्रेसमा अविश्वास बढेको उनले भनाइ छ। ‘सहमति भइसकेको छैन। गठबन्धनमा अविश्वास बढेको हुँदा प्रधानमन्त्री एमालेको साथ खोजी राख्नु भएको छ’, उनले भने। उनले पुराना अडान यथावत् रहेको बताए। ज्ञवालीले भने, ‘१४ सांसदको कारबाही सूचना टाँस गर्नुपर्ने नत्र सभामुखले राजीनामा दिनुपर्ने पार्टीको स्पष्ट अडान छ।’ उनले सत्ता समीकरणको विषयमा भने कुराकानी नभएको दाबी गरे। ‘हाम्रो हिडेन एजेन्डा केही छैन, सत्ता साझेदारीको विषयमा कुरा भएको छैन’, उनले भने। दुई दिनयता उनीहरूबीच निरन्तर वार्ता संवाद भइरहेको छ। बिहीबार पनि पटकपटक ओली–देउवा भेटवार्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस !